Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij