
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले चितवन रत्ननगर नगरपालिका-१० घर भई काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरेको हो । काठमाडौंको बबरमहलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ । महतो र पीडित महिलाबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको एसपी पशुपतिकुमार रायले जनाएका छन् । चिनजान हुँदा भेटघाटको क्रममा खिचिएका तस्बिर र भिडिओलाई सम्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अहिले ती पीडित महिलाले विवाह गरिसकेकी छन् । महतोले सम्पादन गरेको तस्बिर र भिडिओलाई हालका श्रीमानलाई पठाएर चरित्र हत्या गरेको भन्दै पीडित साइबर ब्युरो पुगेकी थिइन् । यसमा संलग्न भएको खुलेपछि प्रहरीले महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij