Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन गरिने भएको छ । उपनिर्वाचनमा बदर मत न्यून गर्न र मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने उद्देश्यसहित निर्वाचन कार्यालयले प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।
तनहुँ क्षेत्र नं १ अन्तर्गतका ४२ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । एउटा वडामा दुई जनाका दरले स्वयंसेविका परिचालन गरिनेछन् । स्वयंसेविकालाई वैशाख १ देखि ७ गतेसम्म सबै वडामा खटाइने छ ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जना प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij