Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । भारतका विभिन्न सहरमा आयोजना हुन लागेको ‘योङ सेफ ओलिम्पियाड’ मा एक नेपाली युवा प्रतिस्पर्धीका रुपमा सहभागी हुने भएका छन् ।
इन्टरनेशनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड’ मा क्युलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्टका छात्र सुज्ञान थापाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सो प्रतिस्पर्धा यही माघ १५ देखि २१ गतेसम्म भारतको दिल्ली, बेंगलौर, पुने, गोवा तथा हाइदरवादमा आयोजना हुनेछ ।प्रतिस्पर्धामा फ्रान्स स्विजर्लण्ड्, मेक्सिको, क्यानडा, बेलाएत्, स्पेन्, सिङापुर तथा भारत लगाएत संसारभरिका ५८ वटा राष्ट्र सहभागी हुनेछन् ।
ललितपुरको लगनखेलस्थित ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले कार्यक्रममा शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ ।
सन् २०२० मा सो कलेजका छात्रा शबी राजबाहकले बेस्ट हाइजेनिक अवार्ड र राइजिङ स्टार अवार्ड हात पार्न सफल भइन् भने सन् २०२१ मा कलेजका छात्र अभया लिम्बुले ६० रास्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै बेष्ट किचन कट्स अवार्ड हासिल गरे ।
यस्तै, सन २०२२ मा यस कलेजका छात्र अजय पुनले बेष्ट हाइजिइन प्राक्टिक्स पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने प्रशिक्षक सूर्य महतले सबै भन्दा राम्रो मेन्टरको उपाधी पाएका कलेजले जनाएको छ ।
यस पटक नेपालको प्रतिनिधित्व गर्दै कलेजका छात्र सुज्ञान थापाले प्रतिस्पर्धा गर्दैछन् भने मेन्टरको भूमिकामा सेफ सूर्य महतनै प्रस्तुत हुँदैछन् ।
१८–२४ उमेर समूहका होटल व्यवस्थापनका विद्यार्थीले भाग लिनेछन् । प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ वटा समूहमा विभाजित गरिएको छ । विभाजन अनुसार नेपाल प्रथम समूहमा पर्दछ। उक्त्त प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’ लाई प्रचार र प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उदघाटन २९ जनवरीमा हुनेछ भने नेपालले ३० जनवरीमा प्रतिष्पर्धा गर्नेछ। विजेताहरु मध्य प्रथम, द्वितीय र तृतीयले क्रमशः स्वर्ण, रजत र कांस्य पदकका साथै ५,००० ३,००० र २,००० अमेरिकी डलर नगद पनि प्राप्त गर्नेछन् ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij