Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भन्सार छली काठमाडौँ ल्याइएका ६६ लाख मूल्य बराबरको सामानसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रबार राती काठमाडौँको बल्खुबाट ६६ लाखको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीको टोलीले पुष २३ गते बिहान ०३ः४५ बजेको समयमा उपत्यका बाहिरबाट काठमाडौँ आइपुगेको अवस्थामा कामनपा १४ बल्खु नजिकैबाट भन्सार छली गरिएका सामानसहित एक व्यक्ति पक्राउ गर्दै भारतीय नम्बर प्लेटको सवारीसाधन समेत बरामद गरेको हो । प्रहरीले PB10C X7597 नम्बरको भारतीय नम्बर प्लेटको ट्रकसमेत नियन्त्रणमा लिएको छ ।
कालीमाटी प्रहरीलाई प्राप्त सूचनाका आधारमा ट्रकको खानतलासी गर्दा बाहिर प्याजको बोराले छोपेर भित्र कोट पाइन्टका कपडा, शेरबानी लगायतका सामानहरू बरामद गरेको हो । ती सामानहरूको भन्सार महसुल नतिरिएको र भन्सार छली गरी ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुट पाइण्टको कपडा ५ हजार ६८३ मिटर, सर्टको कपडा २ हजार ७ सय मिटर, शेरवानीको कपडा २ हजार १८१ मिटर र लेहेङ्गाको कपडा १ हजार ६५० मिटर बरामद गरेको छ । भन्सार छली गरी कपडा ल्याउनमा संलग्न ट्रक चालक भारत पञ्जाब लुदियानाका ५६ वर्षीय सुकदेव सिंह र उनले चलाइरहेको PB10C X7597 नम्बरको भारतीय ट्रकसमेत नियन्त्रणमा लिइएको छ । बरामद भएका कपडाहरूको मूल्य अन्दाजी ६६ लाख ६५ हजार ५५८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
भन्सार छली गरी सामान आयतमा संलग्न सुकदेव सिंहलाई बरामद दशीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij