Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न १७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालनसम्बन्धी सम्झौता भएको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच यस्तो सम्झौता भएको हो ।
गैर नवीकरणीय उर्जा घटाई नवीकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताए। सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।
सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij