Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको बालाजु कुमारी स्थानस्थित सडकमा हिँडिरहेकी महिलाको हातबाट झोला खोसेर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भइ हाल टोखा बस्ने २५ वर्षीय सागर दर्जी र तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमिर महर्जन रहेका छन्।
रातोकालो पल्सर मोटरसाइकलमा सवार उनीहरुले बाटोमा गायत्री ढकाललाई पैदल हिँडिरहेको अवस्थामा धक्का दिइ उनको हातमा बोकेको झोला भित्र रहेको नगद, मोबाइल तथा अन्य महत्वपूर्ण कागजात समेत लुटपाट गरी लगेका थिए। घटना अनुसन्धानको सिलसिलमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं मनमैजु र बानियाँटारबाट लुटपाट गरी लगेको मोबाइल लगायत खुकुरी तथा लागुऔषध गाँजाको धुलो ५५१ ग्रामसहित सागर दर्जी र अमिर महर्जनलाई पक्राउ गरेको हो।
ती दुई युवाको साथबाट खुकुरी थान १, मोबाइल थान २, लागुऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त बालाजु पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij