Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिरीबाबुका ५ वर्षः चर्चामा साइकल लेन, बनेन ऐन

चिरीबाबुका ५ वर्षः चर्चामा साइकल लेन, बनेन ऐन

  • ललितपुर/ ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत ललितपुर महानगरले २०७६ मंसिर महिनामा नै साइकल लेन निर्माणको सुरुवात गरेको थियो । २०७६ मंसिर १४ गतेबाट औपचारिक रूपमा सुरु भएको साइकल लेन निर्माणको लागि रमित कन्स्ट्रक्सन प्रालिले २५ लाख रुपैयाँको ठेक्का पाएको थियो । सोही रकमबाट पहिलो चरणमा कुपण्डोल—पुल्चोक—जावलाखेल—लगनखेल—मंगलबजार—पुल्चोकसम्म लेन निर्माण गरियो । 

    onlinepatrika
    Arghakhachi


    साइकल लेनका लागि महानगरले आर्थिक वर्ष २०७५/२०७६ र २०७६/२०७७ मा लगातार ५०/५० लाख बजेट छुट्याएको थियो ।
    त्यस्तै रिङरोड क्षेत्रमा साइकल लेन बनाउन र पहिला बनेको साइकल लेनमा रङ्गरोगन गर्नका लागि महानगरले पुनः २०७८ माघ २५ गते २ करोड ४३ लाख ६१ हजार आठ सय ४२ रुपैयाँको टेण्डर आव्हान गर्यो । जसमध्ये ललितपुरको रिङरोड क्षेत्रमा साइकल लेन निर्माणका लागि  महानगरले एक करोड ९४ लाख २८ हजार एक सय ३४ रुपैयाँको टेण्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रङ्ग लगाउनका लागि भनेर ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँको टेण्डर आह्वान गरेको छ ।

    AGNI GROUP


    साइकल लेनको सुरुवात गर्दा साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्नका लागि लेन बनाउन लागिएको नगरप्रमुख चिरिबाबु महर्जनले बताएका थिए । साइकलको प्रयोगलाई प्रोत्साहित गर्नसके वातावरण जोगाउन सकिने, साइकलमैत्री सडकमा प्रदूषण कम हुने, सहर सफा हुनेमा चिरीबाबु विश्वस्थ थिए । नगरप्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताएका थिए । 

    महानगरले साइकल लेनको सुरुवात गरेको दुई वर्ष बितिसक्दा पनि सडक विभागले अहिलेसम्म पनि साइकल लेनलाई स्वीकार गर्न सकेको छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहरलालाई व्यवस्थित र सुन्दर बनाउनका लागि साइकल लेन बनाएको जिकिर गरिरहँंदा सडक विभागले  भने महानगरले साइकल लेन बनाएर सडकलाई थप साँंघुरो बनाएको आपत्ति जनाएको छ ।

    महानगरपालिकाले काठमाडौं र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेन बनाएको सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दश किलोमिटर छ ।

    ललितपुर महानगरले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि महानगरपालिकाले सडक विभागको अनुमति बिना नै आफूखुसी मुख्य सडकमा साइकल लेन निर्माण गरेको भन्दै सडक विभागले साइकल लेनका लागि अनुमति दिएको छैन । 

    साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन भन्ने भनाइ सडक विभागको छ । 

    अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने (सेयरिङ) लेन र डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको) लेन गरी दुई किसिमले साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताए । प्राथमिकताका आधारमा चार दशमलव ५७ किलोमिटर पर्छ । ललितपुर महानगर पहिलो साइकल मैत्री शहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।

    २०७६ मंसिर १४ गतेबाट साइकल लेनको औपचारिक सुरुवात गरिएको भएपनि हालसम्म साइकल लेन सम्बन्धी ऐन निर्माण हुन सकेको छैन । नगरप्रमुख महर्जनले हरेक कार्यक्रममा भाषण गर्दा स्मार्ट सिटी र साइकल लेनको चर्चाका लागि समय खर्चिन्छन् । तर पनि महर्जनले भाषणमा जोड दिएअनुसार उपलब्धि भने हासिल हुन सकेको अवस्था छैन । महानगरले बनाएको सइकल लेन मोटरसाइकल पार्किङका लागि छुट्याइएको स्थान जस्तो बनेको छ । महानगरले साइकल यात्रीलाई प्रोत्साहन गर्ने योजना बनाउँदा र साइकल लेनमा जोड दिइरहँदा त्यसअनुसार साइकल यात्रीहरूको वृद्धि हुन सकेको छैन । चलाउनेहरूले पनि साइकल लेनमै सीमित रहेर चलाएको अवस्था देखिँदैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij