Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं/ काठमाडौंको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी ठगी धन्दा गर्ने नौ जना पक्राउ परेका छन् । विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट आइतबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन् ।
यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन् ।
महाशाखाका अनुसार जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गरी जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा ३ सय देखि ५ सय सम्म फारम चार्ज र एक हजारदेखि ६ हजार सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको छ ।
फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा भनेअनुसारको काममा नलगाउने र जागिरमा लगाईहाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको छ ।
यस्तै, एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भइरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्न आम सर्वसाधारणलाई महाशाखाले अनुरोध समेत गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij