Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको छ ।
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको संरक्षण, किसानको हित र संस्थानको सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिइएको बताएकी छन् । डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारले उपभोग र प्रवर्द्धनमा सहयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई वितरण गरिएको प्याकेटमा डीडीसीको दूध, दही, पेँडा, केशर दूध, बटर, चिजलगायतका उत्पादन थिए ।
लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको बताइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सरकारी स्वामित्वको डीडीसीका उत्पादनको प्रवर्द्धन तथा प्रचारसहित स्वदेशी वस्तुको उपभोग वृद्धिको सन्देश दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij