Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । पार्टीको हितविपरीत मधेस प्रदेशमा मन्त्री बनेकी सांसदलाई राप्रपाले स्पष्टीकरण सोधेको छ । सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बन्न गएकी पार्टीकी एक्ली सांसद कञ्चन बिच्छा साहलाई राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विच्छालाई अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाको हस्ताक्षरमा २४ घण्टे स्पष्टीकरण सोधिएको बताए । पार्टी र पार्टीका नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी एमाले नेतृत्वको सरकारमा समावेश हुनु पार्टीको नीति, सिद्धान्त र हित विपरीत भएको राप्रपाको ठहर छ ।
‘...यस सम्बन्धमा तपाईंलाई राप्रपाको विधान बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुशासन समितिको निर्णयअनुसार अनुरोध गरिन्छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
यसअघि सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले यो कार्य अनुशासनको गम्भीर उल्लङ्घन भएको टिप्पणी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । तर, उनले हालसम्म राजीनामा दिएकी छैनन् ।
उसो त मधेसमा नयाँ सरकार गठन हुँदा प्रदेश प्रमुखले जालझेल गरेको आरोप छ । सोही आरोपमा सङ्घीय सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेको छ । उनले नयाँ मुख्यमन्त्री नियुक्त गरेको विषयमा सर्वोच्चमा रिट समेत दायर भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij