Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल समक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेश गरेका छन् । प्रतिवेदन अनुसार आ.ब. २०८१-८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।
कोष ऋणात्मक रहेता पनि विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।महालेख नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा २९ बमोजिम आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, ऐ. ऐनको दफा ३३ को उपदफा ११ बमोजिम आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थ मन्त्री श्री रामेश्वरप्रसाद खनाल समक्ष र केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण तयार गरिएको हो ।
नेपालको संविधान, प्रचलित ऐन र अन्य कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्ने र आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व कानूनको आधारमा एकीकृत वित्तिय विवरण र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी अनुसार उल्लेखित एकीकृत विबरण तथा प्रतिवेदन कानूनद्वारा निर्धारित समयावधि भित्रै अर्थ मन्त्रीज्यू समक्ष र महालेखापरीक्षकको कार्यालयमा पेश गरिएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij