Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेविसंघले जेनजी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेको छ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै देउवा दम्पत्तीमाथि सुनियोजित रूपमा आक्रमण भएकाले भन्दै कारबाहीको माग गरेको हो।
नेविसंघले भनेका छ, ‘नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवा माथि सुनियोजित ढङ्गले भएको साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याई विद्यमान कानुनी व्यवस्था अनुसार कडा कारबाही गर्न माग गर्दछौँ।’
आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि पनि कारबाही गर्न माग गरेको छ। घटनाक्रममा क्षतविक्षत भएका प्रहरी कार्यालयहरूबाटै आम नागरिकको ज्यान र सम्पत्तिको सुरक्षामा खटिएका नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको मनोबल कमजोर हुन नदिई त्यसलाई उच्च बनाउने दायित्व राज्य र सरकारको नैतिक जिम्मेवारी भएको नेविसंघले जनाएको छ।
घटनाक्रममा फौजदारी कसुरजन्य गतिविधिमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न पनि माग गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij