Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेशम लामाले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको राजनीतिक र प्रचारात्मक प्रहारलाई नेपालको राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रतामाथिको हमला भएको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठकमा लामाले भने, ‘ओलीमाथि वार गर्नेहरू विदेशी स्वार्थका एजेन्ट हुन् । उनीहरू नेपालको स्वतन्त्र निर्णय क्षमतालाई कमजोर पार्न खोजिरहेका छन् । तर, ओलीलाई न त डर छ, न त झुक्ने स्वभाव । ओली ढल्दैनन्, किनभने उनीसँग सत्य र राष्ट्र दुवैको साथ छ।’
उनले अहिले एमालेलाई विभाजन गर्न र ओलीको चरित्र हत्या गर्न ठूला शक्तिहरू एकैसाथ लागेको आरोप लगाए । लामाले भने, ‘देशीविदेशी स्वार्थी तत्वहरू मिलेर एमाले र ओलीमाथि आक्रमण गर्दैछन् । तर, ती सबै प्रयासहरू धुलोमा मिल्नेछन्। ओली जस्तै राष्ट्रवादी शासक यो देशले फेरि पाउँदैन ।’
ओलीविरुद्ध षड्यन्त्र गर्नेहरू देश र जनताका शत्रु भएको उनको टिप्पणी छ ।
इतिहास साक्षी रहेको भन्दै लामाले थपे, ‘चुचे नक्साको संरक्षणदेखि समृद्ध नेपालको यात्रासम्म, ओलीले हरेक कठिन क्षणमा राष्ट्र र जनताको हितमा लडेका छन् । उनी मात्र नेता होइनन्, राष्ट्रका नायक हुन् ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij