
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।
जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुई वटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युतगृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ ।
विद्युतगृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशययमा पानीको तह समुद्र सतहबाट एक हजार ५३०.९३ मिटर पुगेको छ ।
केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार, पानीको तह एक हजार ५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएका छन् । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरी सहित अविरल वर्षा भइरहेकाले दुई वटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले बताए ।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दा समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij