Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को परीक्षामा जफत गरिएका परीक्षार्थीका मोबाइलहरू नष्ट गरिनु गैरकानुनी रहेको बताएका छन् ।
आज मंगलबार बसेको मन्दिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले सो कार्य गैरकानुनी रहेको बताएका हुन् ।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘कसैको सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी हो। विभिन्न मिडियाहरूमा शिक्षा मन्त्रालयको निर्देशनमा भएको भन्ने पनि आएको रहेछ, तर त्यस्तो होइन। बरु प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट त्यस्तो निर्णय भएको भन्ने बुझिन आएको छ,’ उनले भने, ‘जुन निर्देशनबाट त्यस्तो भयो त्यो पूर्णतस् गैरकानुनी छ ।’
विद्यार्थीको न्यायका लागि सम्बन्धित मन्त्रालयले नै आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । कसैले कानुनी प्रक्रियाको सहायतामा अदालत गएर क्षतिपूर्ति भराउने भन्ने निर्देशन पायो भने मात्रै क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा हिजो सोमबारदेखि विद्यार्थी सङ्गठनहरूले प्रदर्शनको सुरू गरेका छन् ।
उनीहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट घडीको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथि भएको अन्यायको अन्त्य गर्न र पीडितलाई न्याय दिन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेको थियो ।
प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij