काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिए ।
प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरे ।
उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भएका छन् । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए ।


