काठमाडौंं अनलाइन पत्रिका ।

कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फिल्मको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु गरेको उनले बताए ।

उनका अनुसार, २० जनाको टिमसहित शनिवारदेखि काठमाडौंमा फिल्मको इनडोर छायांकन भइरहेको छ । ‘कलाकारदेखि प्राविधिकसम्मको कोरोना परीक्षण गराएर छायांकनमा निस्किएका हौं । सुटिङ सेटमा सामाजिक दुरी कायम गरिएको छ । सेटमा आउने कास्ट एन्ड क्रियूलाई सेनिटाइज गरेपछि मात्र प्रवेश गर्न दिएका छौं । सेटलाई सुरक्षित बनाएका हौं,’ उनले भने ।

दशैंमा केही दिन विश्राम लिएर तिहारसम्म फिल्मको सम्पूर्ण छायांकन पूरा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि पोखरामा फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । अब फिल्मको सम्पूर्ण छायांकन काठमाडौंभित्रै हुने निर्माता थापाले बताए । उनी फिल्म तयार भएको ६ महिनाभित्र हलमा प्रदर्शन गर्ने योजनामा छन् । अभिनेत्री झरना थापा फिल्मकी निर्देशक हुन् ।

सञ्जय लामाले खिचिरहेको फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका छ । निषेधाज्ञामा निर्माण टिमले गायक दुर्गेश थापालाई पनि अनुबन्ध गरेको थियो । फिल्ममा उनको अभिनयसँगै एक गीतमा आवाज रहनेछ । यो फिल्म यही दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण न फिल्म प्रदर्शनमा आउन सक्यो न त छायांकन नै पूरा हुन सक्यो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।