काठमाडौं । दूरदराजका दुर्गम गाउँमा होइन, देशको राजधानी काठमाडौंमै कोरोना संक्रमितले आइसोलेसन बेड पाउन मुस्किल भएको छ । दिनदिनै संक्रमित बढ्दै गएपछि बिरामीले घरमै बस्नुपर्ने अवस्था आएको छ ।

बिहीबार मात्रै उपत्यकामा दुई सय संक्रमित थपिएका छन् । काठमाडौंमा एक सय ७४, ललितपुरमा १८ र भक्तपुरमा आठजनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या काठमाडौंमा एक हजार नौ सय ६२, ललितपुरमा तीन सय २१ र भक्तपुरमा एक सय ४१ पुगेको छ । संक्रमणबाट उपत्यकामा ११ जनाको ज्यान गइसकेको छ । तीमध्ये सातजना काठमाडौं महानगरका बासिन्दा हुन् ।

उपत्यकामा देखिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं महानगरकै छन् । स्वास्थ्य मन्त्रालयका अनुसार महानगरभित्र एक हजार चार सयभन्दा बढी संक्रमित पुगेका छन् । तर, महानगरले त्यसअनुसार तयारी भने केही गरेको छैन । देशकै धनी महानगरले दुर्गमका गाउँपालिकाले स्कुलका टहरा र चौरमा पाल टाँगेर क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन गरेजति तयारी पनि गरेको छैन ।

संक्रमित बढ्दै गएपछि महानगरले सबै सेवा बन्द गरेर रोकथाम, नियन्त्रण र कन्ट्याक्ट ट्रेसिङका लागि विभागीय कर्मचारीलाई खटाएको छ । तर, पहिचान गर्न नसकेपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी र जनप्रतिनिधि नै आत्तिन थालेका छन् । महानगरमा सोमबार एक सय १३, मंगलबार एक सय २७, बुधबार एक सय ३४ र बिहीबार एक सय ७४ संक्रमित थपिएका छन् । महानगरका ३२ वटै वडामा संक्रमण देखिएको छ ।

कतिपय संक्रमितको अत्तोपत्तो लगाउन नसकिएको महानगरका कोभिड फोकल पर्सन वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले बताए । ‘काठमाडौं महानगरपालिका संघीय राजधानी हो, देशैभरिका मान्छेहरू यहाँ छन् । को कहाँ बस्छ, छुट्याउनै मुस्किल पर्छ, त्यसैले केही कठिनाइ भइरहेको छ,’ उनले भने । कोरोना नियन्त्रणका लागि स्वास्थ्य महाशाखाअन्तर्गतका ७० स्वास्थ्यकर्मी, नगर प्रहरी, जनप्रतिनिधि र अन्य विभागीय कर्मचारी पनि खटिएका छन् । तैपनि, संक्रमित पत्ता लगाउन गाह्रो भएको जनप्रतिनिधिहरूको गुनासो छ । काठमाडौं–१२ का वडाध्यक्ष विकास डंगोलले भने, ‘कहाँ कति थपिए भनेर पत्ता लाउनै मुस्किल भयो, पत्ता लागे पनि उपचार गराउन झन् गाह्रो भयो ।’

कोरोना उपचार हुने देशकै प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल डंगोलकै वडामा पर्छ । तर, त्यही वरिपरिका संक्रमितले पनि शुक्रराज अस्पतालको सेवा पाउन नसकेको गुनासो गर्छन् । ‘एकजना संक्रमित देखिएपछि कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा भर्ना ग¥यौँ । पछि उनकै परिवारमा बच्चालाई श्वास–प्रश्वासमा समस्या भएको खबर आयो, बच्चा र उनको परिवारलाई अस्पताल भर्ना गर्न लाख कोसिस गरेँ, कतै ठाउँ पाइएन,’ वडाध्यक्ष डंगोलले भने, ‘कोभिड अस्पताल भएकै वडाको अध्यक्ष भएर पनि मैले उपचार गराउन गुहार माग्नु परिरहेको छ ।’

संक्रमितको संख्या बढ्दै गएकाले अब महानगरले आफ्नै पूर्वाधार र पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको डंगोलले बताए । ‘अस्पताल बनाउने योजना छ, तर अहिल्यै बन्ने सम्भावना छैन,’ उनले भने, ‘कोभिडकै लागि अस्थायी अस्पताल बनाउनुपर्ने विषय अबको कार्यपालिका बैठकमा कुरा उठाउँछु ।’

काठमाडौं– १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि त्यस्तै गुनासो छ । अब वडामै अस्पताल सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘संक्रमण बढ्दो छ, तर बिरामीले उपचार पाएका छैनन्,’ रिजालले भने, ‘वडा क्षेत्रभित्र सञ्चालित जनमैत्री अस्पताल वर्षौँदेखि बन्द छ, केही नभए महानगरबाट त्यही अस्पताललाई भए पनि तत्कालै सञ्चालनमा ल्याउनुपर्छ ।’ कोभिड अस्पताल सञ्चालनको विषयमा मेयर, उपमेयरसहित स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन र अन्य सरोकारवालालाई समेत सहयोगका लागि आग्रह गरेको उनले बताए ।नयाँ पत्रिका दैनिकबाट

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।