काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए ।

विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध हुनुभएको थियो ।

सिंहदरबारमा आज शपथग्रहणपछि पत्रकारसँग कुराका क्रममा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति बिडारीले महामारी रोग फैलिरहेको र संसद् बैठक पनि नभएका बेलामा संसदीय समिति नै संसद्को काम गर्ने मुख्य थलो रहेको उल्लेख गर्दै सरकार, संवैधानिक अङ्ग र कानूनानुसार स्थापित संस्थालाई सदनप्रति उत्तरदायी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर मुलुकको कानून देश र जनताको हितका निम्ति मात्रै बन्छन्, राष्ट्रिय महत्वका विषय संरक्षित हुन्छन् र सरकारले बोलेका कुरा लागू गरिन्छ भन्ने कुराको अनुभूति दिलाउने विषय मुख्य चुनौती रहेकाले त्यसतर्फ समिति केन्द्रित हुने बताउनुभयो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।