अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोमा साँझ करिब ६ बजे निकै हुलमुल छ । दुई दर्जन जति युवाहरु ट्राफिक भवनबाहिर अस्तव्यस्त बसेका छन् । भवनबाट ट्राफिकहरु पसिरहँदा र निस्किरहँदा सबैको आँखा भवनको ढोकातिर पुगिरहेको छ ।

ट्राफिक प्रहरीले बिहानदेखि साँझसम्म बिना अनुमति गुडेका दुई दर्जन सवारीसाधनलाई ‘होल्ड’मा राखेको हो ।

कारण, त्यहाँ देखिएको हुल ट्राफिकले ‘कब्जा’मा लिएको लाइसेन्स र ब्लुबुक लिनका लागि प्रतिक्षारत रहेछन् । ट्राफिक प्रहरीले बिहानदेखि साँझसम्म बिना अनुमति गुडेका दुई दर्जन सवारीसाधनलाई ‘होल्ड’मा राखेको हो । होल्डमा राखिएका सवारीसाधन लिन आएकाहरुको हुल भवनबाहिर मजाले गफिरहेका थिए ।

‘बिहान घरबाट ढाँटेर निस्किएँ, उहाँहरुले समाउनुभयो ।’ हरिसिद्धिका एक युवाले भने, ‘समाएको भनेर घरमा भनिन, साथीलाई दिएको छु, लिएर आउँछु भनेर बाइक लिन आएको हुँ ।’

बल्ल होल्ड गरिएका सवारी साधन छोड्ने पालो आयो । एकजना ट्राफिकले भवनभित्रबाट चिच्याए, ‘सबैले साबुनले हात धोएर यता लाइन बस्नुस्, सामाजिक दूरी पालना गर्नुहोला ।’ यति सन्देश पाएपछि आदेश पर्खेर बसेका हुल हात धुन ट्याकीतिर पुगे । त्यहाँ साबुनको सानो टुकडा र हात धोएको पानी बाटोमै पोखिएका थिए । ‘साबुन सकिएछ, हात धोएको पानी आफ्नै खुट्टामा पर्ने ।’ एक युवाले भने, ‘सुविधा दिएको छ, यसलाई व्यवस्थित पारे हुन्थ्यो ।’

ती युवाले यसो भनिरहँदा ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर भोलामान अधिकारी बाहिर निस्किए । आफ्ना मातहतका केही ट्राफिकहरुसँग केहीबेर भलाकुसारी गरे । एउटा चिटिक्क परेको प्रहरीको गाडी आएपछि इन्चार्ज अधिकारी त्यतातिर लागे । केहीबेर गफिए । त्यसपछि भवनको दायाँ (सडकसँगैको पोलमा जोडिएको) रहेको सानो ट्याँकीमा हात धोए, मुख धोए अनि भवनभित्र प्रवेश गरेर मुख पुछ्दै लाइन बसेकाहरुलाई निगरानी गरिरहे ।

स्मरण रहोस्, सातदोबाटोको ट्राफिक भवन नयाँ नै हो । चिटिक्क नयाँ भवनमा नयाँ ‘हाकिम’ हरु फेरिए । ट्राफिक कार्यालयको भवनको मुखैमा करिब एकसय सवारीसाधन थन्किएका छन् । तर सवारीसाधन व्यवस्थित बनाउनेतिर कसैको ध्यान नै गएन । ‘यताउताको सवारी ड्युटी हेरेर फुर्सद छैन,’ कार्यालयकै एक ट्राफिकले खुसुक्क भने, ‘बाहिर थन्किएका सवारी साधन कसले हेरोस् ?’

ट्राफिक कार्यालयको भवनको मुखैमा करिब एकसय सवारीसाधन थन्किएका छन् । पक्राउ परेका, चोरीमा फेला परेका, यताउता भेटिएका र दुर्घटनामा परेर वेवास्ता गरिएका मोटरसाइकलहरु घामपानीमै कुहिरहेका छन् ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।