रमेश गिरी

भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको घरमा एक कोरोना संक्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने ८ बजेमात्रै थाहा पाए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको नेतृत्वको टोली बिहान भेलुखेल पुग्दा बस्तीमा कुनै त्रास थिएन, मान्छे ओहोरदोहोर गरिरहेका थिए, बालबालिका खुला ठाउँमा निर्वाध खेलिरहेका थिए । बस्तीमा बिहानको चहलपहल बाक्लो थियो । जब बिहान प्रहरीले बस्ती सिल गर्ने तयारी गर्दै स्थानीयवासीलाई घर बाहिर ननिस्कन आग्रह गरे तब बल्ल स्थानीयवासीमा एकाएक त्रास फैलियो । स्थानीयको त्रास देखेर प्रहरीले मनोपरामर्श दिन थाले ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ललितपुर र भक्तपुरका एक/एकजनामा कोरोना संक्रमितको पुष्टि गरेपछि मंगलबार नै दुवै जिल्ला हल्लीखल्ली भयो । दुवै जिल्लाको चारैतीरबाट कहाँको मान्छे होला भन्ने खोजी र त्रास एकैपटक फैलियो । स्थानीय बासिन्दा हो कि, बाहिरबाट आएको मान्छे हो कि, आफ्नै गाउँमा पो प¥यो कि भन्ने त्रास सिंगो ललितपुरको बासिन्दामा रह्यो ।

साँझसम्म सम्बन्धित निकायमा कुनै जानकारी टिपोट नहुँदा आरडिटी र पिसीआर परीक्षण गराएका टोलटोलका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दामा त्रास फैलियो । ‘को हो त संक्रमित ?’ भन्ने पहिचान नहुँदा त्रासका बीच बित्यो सिंगो रात । त्यो अवधिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीदेखि पत्रकारसम्मलाई ‘ललितपुरको कहाँको मान्छे संक्रमित’ भनेर तारन्तार फोन आउँथ्यो । तर, सबैको एउटै जवाफ आउँथ्यो अझै पत्ता लागेको छैन ।यता ललितपुरका भनिएका एकजना संक्रमित टेकुको आइसोलेसनमा रहेको समाचार बाहिरियो । पढ्नुस् अनलाइन पत्रिकाले प्रकाशित गरेको समाचार ।

BREAKING : ‘ललितपुरका संक्रमित डाक्टर, जो ललितपुर बस्दैनन् !’

उता भक्तपुरमा भने सुरक्षा निकायले संक्रमितका बारेमा राति मात्रै पत्ता लगायो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनपछि भक्तपुरका सुरक्षा निकायले समेत संक्रमितको पहिचान र ठेगाना पत्ता लगाउन नसक्दा सुरक्षाकर्मीसमेत राति अबेरसम्म रणभुल्लमा परेका थिए । जब मध्यराति १ः३० बजे भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई आइसोलेटेड एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगियो तब मात्रै सुरक्षा निकाय ढुक्क भयो ।

लकडाउनले नछोएको यो बस्तीमा दिनभर मानिस हिँड्ने, बजार खोल्न कुनै रोकतोक कसैले गरेको थिएन । फलस्वरुप संक्रमित भनिएका व्यक्ति आफ्नो समाज र बस्तीमा सहजरूपमा हुलमिल भएको पाइएकाले अरुको टे«सिङ र परीक्षण गर्न कठिनाइ भएको सुरक्षाकर्मीको भनाइ छ । यसअघि चाँगुनारायण दुवाकोट बस्ने एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र सुनसरीबाट मध्यपुरथिमि शंघधर चोकमा साथीको कोठामा बसेकी २५ वर्षीया महिलामा संक्रमणको पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।