शनिवार, 31 जूलाई 2010 16:57
Written by अनलाईन पत्रिका
काठमाडौँ, साउन १५ । नेपाली काङग्रेसले पार्टीको आन्तरिक निर्वाचनका कारण आफ्नो दलले प्रधानमन्त्री पदमा उम्मेदवारी दिए पनि अन्य दलहरूसँग वार्तालाई तीव्र तुल्याउन सकेको छैन । पार्टीका अधिकांश केन्द्रीय नेताहरू यतिवेला पार्टीको आन्तरिक निर्वाचनका लागि जिल्ला पुग्नुभएको छ । नेपाली काङ्ग्रेसको गाउँ, वडा र क्षेत्रीय अधिवेशन साउन ९ गतेबाट सुरु भएको छ ।
२७ गते जिल्ला नेतृत्व चयन गर्ने कार्यक्रम छ । महामन्त्री विमलेन्द्र निधिले सबै दलसँग नेपाली काङ्ग्रेसले एकचरणको वार्ता सम्पन्न गरेकाले अहिलेलाई पार्टीको आन्तरिक निर्वाचनमा नै नेताहरू व्यस्त रहनुपरेको बताउनुभयो । "सरकार निर्माण हाम्रो प्राथमिकताको विषय हो, हामीले प्रधानमन्त्रीका हाम्रा उम्मेदवारलाई विजयी गराएर हाम्रै नेतृत्वमा सरकार बनाउने तयारी पनि सँगसँगै अघि बढाइरहेको छौँ", महामन्त्री निधिले भन्नुभयो । "मधेसी मोर्चा र नेकपा एमालेको समर्थन नभई नेपाली काङ्ग्रेसका उम्मेदवारले विजयी हुने अवस्था छैन," महामन्त्री निधिले थप्नुभयो-"मधेसी मोर्चाको मागका विषयमा एमालेले के निर्णय गर्छ हामी त्यो पर्खेर बसेका छौँ ।"
महामन्त्री निधिले नेकपा एमालेको समर्थनविना साउन १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा पनि केही निर्णय हुन नसक्ने अवस्था रहेको बताउनुभयो । केही दिनअघिसम्म दलरूसँगको वार्तामा सक्रिय महामन्त्री निधि पनि यो वेला धनुषा जिल्लामा पार्टीको आन्तरिक निर्वाचनमा नै व्यस्त हुनुहुन्छ । झापा जिल्लामा आन्तरिक निर्वाचनमै व्यस्त अर्का नेता कृष्णप्रसाद सिटौलाले आफू यसबेला पार्टीकै राजनीतिमा सक्रिय रहेको जानकारी दिनुभयो ।
यता, सो पार्टीका उपसभापति संसदीय दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले बिहीबार आˆनै पार्टीका नेता तथा कार्यकर्तासँग मात्रै भेटघाट गर्नुभयो । उहाँले अन्य दलका कसैसँग पनि भेटघाट गर्नुभएन ।
Add comment