काठमाडौँ, साउन २ गते । जनतालाई गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ आपूर्तिमा संलग्न हुँदै आएको दुग्ध विकास संस्थानले आफ्नो स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना ४२औँ वाषिर्कोत्सव मनाउने क्रममा संस्थानले व्यावसायिक, सामाजिक उत्तरदायित्व बहन गर्दै बानेश्वरस्थित निःसहाय सेवा सदनका वृद्धवृद्धाहरूको सहयोगार्थ स्वास्थ्य उपचारको लागि नगद तथा अन्य राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।
वि. सं. २०२१ सालमा स्थापना भएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले आफ्नो लामो सेवा अवधिमा हाल आएर मुलुकभरका करिब ७५ हजार दुग्ध उत्पादक किसान र विभिन्न ३३ जिल्लाका ८८८ दुग्ध सहकारीहरूबाट वाषिर्क छ करोड लिटर दूध सङ्कलन गर्दै त्यसबाट दूध तथा विभिन्न दुग्धजन्य वस्तुको उत्पादन गर्दै बिक्री-वितरण गर्दै आएको छ ।
हाल नेपालमा भएको डेरी प्लान्टहरूमध्येको आधुनिक प्लान्टबाट गुणस्तरीय उत्पादन गर्न सक्ने दक्षताका कारण सो संस्थानले ११ वटा चिज उत्पादन युनिट, ४५ वटा दुग्ध चिस्यान केन्द्रहरू परिचालित गर्दै ग्रामीण क्षेत्रको उत्पादन सहरी क्षेत्रमा वितरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको बताइएको छ ।
ग्रामीण अर्थतन्त्रसँग सहरी अर्थतन्त्रलाई जोड्ने पुलको रूपमा दुग्ध विकास संस्थानले प्रमुख भूमिका निर्वाह गर्दै आएको छ । संस्थानका उत्पादनहरू गुणस्तरीय भएकै कारण उपभोक्ताले दूध तथा दुग्धजन्य वस्तुको खरिदमा प्रथम रोजाइको रूपमा रहेको जनाइएको छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









