काठमाडौं । उज्यालो स्टेजमा तीन वर्षकी अतिथि गौतम केसीले जब माइक समातेर गाउन थालिन्, उपस्थित सबै दर्शक चकित परे । अतिथिले राष्ट्रगानलाई लय र स्वर मिलाएर आइतबार नेपाल पर्यटन बोर्डमा गाइरहँदा नेपाल संगीतनाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ समेत मन्त्रमुग्ध बनेका थिए ।
अतिथिले दोस्रो गीत ‘जस्तो बसायो उस्तै बस्छ मानिसको बानी, बानी भित्र बसेको हुन्छ सुख र दुःखको खानी' गाउँदा हल दर्शकको थपडीले गुन्जियो । उनको उमेरका अन्य बच्चाले राम्ररी बोल्नसम्म सक्दैनन्, तर अतिथिले स्टेजमा लगातार तीनवटा गीत प्रत्यक्ष संगीतमा गाउँदा उपस्थित दर्शक भावुक बनेका थिए । दर्शकका आँखामा खुशीको आँसुसमेत देखियो । गीत सक्नासाथ अम्बर गुरुङले अतिथिलाई काखमा उचालेका थिए। गुरुङले अतिथि विश्वकै कान्छी गायिका बन्नसक्ने आधार बलियो भएको गर्वसाथ भने।
‘मेरो संगीत क्षेत्रमा ६० वर्षको लामो यात्रामा सबैभन्दा आश्चर्य र गर्व लागेको क्षण यही हो,' गुरुङले भने, ‘नयाँ पुस्ता र पुरानो पुस्ताको मिलनको दिन पनि आजै साबित भएको छ।' अतिथिले ईश्वरप्रद्धत तरिकाबाट गीत गाएको उनको धारणा छ । कार्यक्रममा अम्बरले अतिथिको गीति एल्बम ‘अतिथि' पनि विमोचन गरिदिए । दुई वर्षको सानै उमेरदेखि गीत गाउन थालेकी अतिथिले तीन वर्षकै उमेरमा गीति एल्बम निकालेपछि संसारकै कान्छी गायिकाको उपाधि पाउने सम्भावना बढेको हो ।
अक्षर राम्ररी चिन्न नसक्ने अतिथिले गीतका शब्दहरू स्मरण गरेर गाउने गरेकी छिन् । उनको यही कला देखेपछि अन्तर्राष्ट्रिय स्तरमा यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्बिट पब्लिसरले पहल गरेको छ । अर्बिट पब्लिसरको सक्रियतामा तयार पारिएको ‘अतिथि' एल्बममा नौवटा गीत समावेश छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि अतिथिका सबै कागजपत्र र प्रक्रिया अगाडि बढाइसकेको अतिथिका बुबा उद्धव केसीले जानकारी दिए।
विश्वको रेकर्ड हेर्दा हालसम्म रोमानियाकी चार वर्षीया बालिका क्लियोपेट्राले गीत गाएको फेला परेको छ । ठूलो संख्यामा दर्शकहरु सामु लाइभ दुई घण्टा गीत गाउने, बढी कमाउने कम उमेरकी कलाकार र सानो उमेरमा एमटिभी अवार्ड पाउने अनि रोमानियामा नम्बर १ हिट गीत बन्न सफल सानो उमेरकी गायिकाको कीर्तिमान उनको नाममा छ ।
जन्मेको ६ महिनामै दोहोरो कुरा गर्न थालेकी अतिथि आठ महिनामै दौडेको देखेर आफू चकित भएको उनका बुवा केसीले भने । ‘अतिथि सानैदेखि असाधारण प्रतिभा भएको बालिका हुन्,' केसीले भने, ‘प्रतिभावान छोरीको बुबा हुन पाउँदा मलाई गर्व लागेको छ । एल्बममा जुगल डंगोल र रामकृष्ण दुवालले संगीत दिएका छन् भने शब्द घनश्याम खड्का, अर्जुन पराजुली र विनोद रोक्काको रहेको छ । रुबी रौनियार, काठमाडौं

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









