समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​माइती नेपालद्वारा एक वर्षमा १३६ को उद्धार 

चितवन, पुस २७ । जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एक  सय ३६ जनाको उद्धार भएको छ ।

माइती नेपाल मार्फत गएको एक वर्षमा यसरी चितवनबाट एक सय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए ।

ती मध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एक सय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको हो । केहीलाई भारतबाट समेत फर्काउन सफल भएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिए।

जिल्लामा अहिले माइती नेपालले सक्रीय कार्यक्रम नै सञ्चालन गरेर अभियान चलाएको छ । विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा चेक गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा यसरी चेली फेला पर्ने गरेका छन् ।

दवाडीका अनुसार जिल्लामा गएको एक वर्षमा मुद्दा दर्ता भने न्यून छ । जम्मा ६ जना विरुद्ध मात्रै मुद्दा दर्ता भएको जनाइएको छ । उद्धार गरिएका खुलेर नबोल्ने, कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुने लगायत समस्या रहेको दवाडीको भनाइ छ । जिल्लामा गएको एक वर्षमा जबर्जस्ती करणी, घरेलु हिंसा लगायतका ४१ घटना भएको र एक सय तीन जना हराएकामा ७८ जना फेला परेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत दवाडीको भनाइ छ ।

यस्तै, मकवानपुरमा ११ चेलीको उद्धार गरेकोमा पाँच वटा घटनामा मुद्दा दर्ता भएको जनाइएको छ । ७४ जना हराएकामा २९ जना फेला परेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । उता पर्सामा १६ जनाको उद्धार भएकामा पाँच घटना विरुद्ध मुद्दा दर्ता भएको र ८३ जना हराएकामा ३२ जना फेला परेको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनले जनाएको छ ।

चितवनबाट उद्धार गरिएकामा गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगायत जिल्लाका चेली बढी छन् । उनीहरुलाई चितवन हुँदै भारत लैजान चितवनलाई ट्रान्जिट बनाउने गरेको पाइएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु