समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

डाक्टरलाई बाहिर काम गर्न बन्देज 

काठमाडौँ,पुस २४ । चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पताल बाहिर सेवा दिन रोक लगाइने भएको छ । यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो । चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवास्तर खस्किएको निष्कर्ष निकाल्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
२०५३ देखि २०६१ सम्म चिकित्सक र कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था थियो, पछि सञ्चालक समितिले ‘क्यान्सर विशेषज्ञ दुर्लभ रहेका र बिरामी लुकेका कारण खोज्नुपर्ने’ भन्दै बाहिर सेवा गर्न खुला गरेको थियो । त्यसपछि अधिकांश चिकित्सकले आफैं संलग्न भएर निजी अस्पताल खोल्ने, क्यान्सर अस्पतालमा कम समय दिने र क्यान्सरका बिरामी ‘चोरेर’ निजीमा लैजाने गर्दै आएका छन् ।
सरकारीमा चलिरहेका सेवा विभिन्न बहानामा बन्द गराएर निजीमा लानुका साथै अस्पतालमा कम समय दिएर सेवा खस्किएपछि पुनः यस्तो निर्णय गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष डा.प्रकाशराज न्यौपानेले बताए ।
बाहिरी अस्पतालमा सेवा दिन नपाइने नियमसँगै समितिले चिकित्सकलाई प्रोत्साहित गर्न विस्तारित ओपिडी (इएचएस) सेवा लागू गर्ने र अस्पतालबाट जनशक्ति उत्पादन समेत थाल्ने गरी क्यान्सर इन्स्टिच्युट बनाउने निर्णय पनि गरेको छ । विस्तारित ओपिडी लागू भएपछि चिकित्सकले अतिरिक्त समय सेवा दिँदा थप सुविधा पाउँछन् ।

बिरामीबाट उठाइने शुल्कको प्रमुख हिस्सा चिकित्सकले र बाँकी प्रयोगशाला, रेडियोलोजी, नर्सिङ लगायतका स्वास्थ्यकर्मी र अस्पतालले पाउने छन् । यसो गर्दा बिरामीले पनि निजी अस्पतालको तुलनामा सस्तो शुल्कमा सेवा पाउने विश्वास सञ्चालक समितिको छ ।

क्यान्सर इन्स्टिच्युटको रुपमा विकास गरेपछि चिकित्सकले शिक्षण सेवा दिए बापत पनि अतिरिक्त शुल्क पाउनेछन्। ‘स्वास्थ्यमन्त्रीले वचन दिइसक्नु भएको छ, प्रतिष्ठान सम्बन्धी ऐन बनाएर तत्काल संसद्मा लान्छु भन्नुभएको छ,’ डा. न्यौपानेले भने। स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरको केन्द्रीय इन्स्टिच्युटका रुपमा भरतपुरमार्फत देशभरका अस्पतालमा क्यान्सर विशेषज्ञ पुर्‍याउने गरी ऐन बनाउने तयारी थालेका छन्।

अध्यक्ष डा. न्यौपानेका अनुसार अस्पतालको विस्तारित ओपिडी सेवा सञ्चालनसम्बन्धी नियम बनाउन समिति बनाइ सकिएको छ। ‘माघसम्ममा समितिले प्रतिवेदन दिनुपर्छ, तयारी गरेर फागुनदेखि नै नन प्राक्टिस लागू हुन्छ,’ न्यौपानेले भने। यो नियम लागू भएपछि चिकित्सकले अस्पतालभित्र आवश्यक परेको जुनसुकै बेलामा सेवा दिनुपर्छ, यस बापत अतिरिक्त पारिश्रमिक पाउँछन् तर अस्पताल बाहिर गएर भने सेवा दिन पाउँदैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु