समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

कलंकी : नाक र मुख थुनेर हिँड्न बाध्य ! 

kalankiकाठमाडौं, पुस १८ । कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् । त्यस क्षेत्र हुँदै हिँड्ने पैदल यात्रु र वरपर व्यापार व्यवसाय गर्नेहरू त झन् नाक, मुख थुनेर हिँड्न र बस्न बाध्य छन् । कलङ्की चोकबाट स्वयम्भू जाने सडकको बायाँतिरका अग्ला घरबाट ढल रसाएर सडकभरि भएको एक महिना भइसक्दासमेत सम्बन्धित निकायको ध्यान गएको छैन ।

कलङ्की–रत्नपार्कका टेम्पो चालक रामहरि भण्डारीले ढलको दुर्गन्धले कलङ्की क्षेत्रमा ओहोरदोहोर गर्नै समस्या भएको गुनासो गरे । “टेम्पो पार्किङ गर्ने ठाउँमा ढल फुटेर पोखरी भएपछि टेम्पो पार्किङका लागि समस्या त भएको छ नै, त्योभन्दा ठूलो समस्या यात्रु ओराल्न र चढाउन भएको छ”, उनले भने , “त्यसै त कलङ्कीमा सडक निर्माणको कामले ट्राफिक जाम र धुलोले सताएको छ, यसैमाथि ढल फुटेर सडकमा टेम्पो गुडाउनु पनि समस्या भएको छ । ”

कपडा व्यापारी दीपक गौतमले चक्रपथ निर्माणका क्रममा विगतदेखि धुलोले अस्तव्यस्त कलङ्की चोकमा अहिले ढलले गर्दा पसल खोल्नसमेत समस्या भएको अनुभव सुनाए । सडकमै सिट्ठी फुकेर र हात हल्लाएर ड्युटी पूरा गर्नुपर्ने बाध्यताका ट्राफिक प्रहरी जवान जुद्धबहादुर थापाले प्रश्न गर्दै भने , “यो दुर्गन्धमा दिनभरि बस्दा कम्ती गाह्रो छैन, हामीलाई त ‘ड्युटी’ गर्नुपर्ने हुँदा के धुलोधुवाँ के ढल, जस्तो वातावरण भए पनि बस्नै प¥यो । ’’

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु