समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

फेवाबाट सराङकोटसम्म केबलकार 

पोखरा, मंसिर २९ । पर्यटकीय नगरी पोखरामा आगामी करिब डेढ वर्षमा नयाँ पर्यटकीय गन्तव्य सञ्चालनमा आउने भएको छ ।

पोखराको फेवाताल र सराङकोटलाई जोड्ने गरी केबलकार आगमी डेढ वर्षमा “अन्नपूर्ण केबलकार प्रा. लि “ले केबलकार निर्माण गरे संगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य हुने भएको अन्नपूर्ण केबलकार प्रा.लिका अध्यक्ष कालु गुरुङले बताए । annapurna-cable-car1

फेवाताल किनारा सेतीबगरदेखि सराङकोटको उचाइसम्म निर्माण हुने उक्त केबलकारको बुधबार एक समरोहबीच प्रा.लि का अध्यक्ष गुरुङले शिलान्यास गर्दै केबलकारमा यात्रा गर्दा  हिमाल, ताल, हरियो वन जङ्गल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने बताए ।

केबलकारमा गुरुङ सहितका नेपाली व्यवसायीहरुको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । करिब १ अर्बको लगानीमा डेढ वर्षको अवधिमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले जनाए।

२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर हुने रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले बताए । उनले भने “हामीले पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा सञ्चालन गर्नेछौँ, यदि यात्रुको माग भएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सक्छौँ ।”

एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन् भने १७ डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सकिने ढकालले दाबी गरे । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेतीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिने छ ।annapurna-cable-car

अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ । उनले भने“ केबलमा ३५ वटा डब्बा राख्न सकिन्छ, सबै डिब्बाबाट १ हजार जनालाई सेवा दिन सकिन्छ ।”

केबलकार मार्फत सेतीबगरबाट सराङकोटमा करिब ७ देखि ९ मिनेटमा पुग्न सकिने भएको छ । सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रा.लि ले जग्गा खरिद गरिसकेको छ भने बन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराई सकेको प्रा.लि ले जनाएको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ ।

कम्पनीको शेयर जनतालाई दिने लक्ष्य राखेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार ५१ प्रतिशत संस्थापक सदस्यले राखेर ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ । केबलकार निर्माणको जिम्मा चितवनको समूहले पाएको छ ।

नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग गरिने भएको गुरुङले जनाए। केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाउने लक्ष्य राखिएको बताएका उनले जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने दाबी गरे ।

इन्जिनियर ढकालले भने, “केबलकार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिएका छौँ, केबलकार निर्माण गर्न ५ वर्षअघि नै हामीले सर्भे गरेका थियौँ ।”

केबलकार निर्माणपछि ६० जनाले रोजगारी पाउने भएका छन् । केबलकार निर्माणमा सनराइज र राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्दैछन्।

पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुलीले पर्यटनको प्रवद्र्धन पोखरामा कम भई रहेको अवस्थामा केबलकार संचालमना आएसँगै पर्यटकहरुको लागि नयाँ गन्तव्य हुने बताए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु