समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

प्रहरीले भन्यो, ‘चाेरले पैसाका लागि चोर्छ । पैसा झिकेर पर्स फाल्दिन्छ ।’ 

सहरको कथा

kalapanaकल्पना भट्टराई

कोटेश्वरमा १५ मिनेट जति पर्खिएपछि एउटा गाडी बल्लतल्ल चढे‌ं । खुट्टा टेक्ने ठाउँ थिएन । बाङ्गोटिङ्गो परेरै उभिएर पेप्सीकोला पुगें । ओर्लिएर भाडा दिउँ भन्दा पर्स थिएन । पर्स राखेको ब्यागको चेन खुला थियो । पर्स हरायो भनेर खलासी‌लाई प्यासेन्जर चेक गर्देउ भनें । उसले आफै‌ गर्नोस भन्यो । मेरो हातभरी झोला अनि कुँडुलो भीड, कसरी चेक गर्नु ! त्यसमाथि केटा मान्छेलाई झन् कसरी चेक गर्नु ! यात्रुहरु ढिलो भयो भनेर उफ्रिन थाले । तर सबै यात्रुलाई चेक नगरी गाडी बढ्न दिदिंन भनेर अड्डी कसें । र, १०० नम्बरमा प्रहरीलाई फोन गरें । फाेन उठाउनेले मान्छे पठाइदिन्छु भन्यो तर पचास मिटर परतिर भएको प्रहरी आएन ।

गाडी जानै नदिएपछि दश मिनेट जति पछि खलासीले प्रहरी बोलाएर ल्यायाे । दुई जना आए । उनीहरुले महिलाकाे चेकिङ्गको लागि चाहि‌ गाडी काँडाघारी चाैकी लानु पर्छ भने । कसैले भन्यो पाकेटमारले बाटैमा फाल्दिन्छ नि पर्स ! कोटेश्वरबाट पेप्सीसम्म ५,६ जना ओर्लेका थिए जो मेरो वरपरका थिएनन् र मलाई विश्वास थियो पार्टनर गाडीभित्रै छ । २,३ जना चाहिं खलासीलाई जान नदेउ भन्दाभन्दै पेप्सीबाट गए ।

तैपनि काँडाघारी नै जानु पर्ने भनेपछि गइयो । महिला प्रहरीले यात्रु महिलाको र पुरुष प्रहरीले पुरुष यात्रुको चेकजाँच गरे । अहँ पर्स भेटिएन ।
अन्ततः गाडी फर्कियो । प्रहरीले भन्यो रिपोर्ट लेखाएर जानुस्ः …..र मैले लेखाएँ;

“लेडिज पर्स, फलानो रङ्गकाे । पर्सभित्रः २०० अमेरिकन डलर । छ हजार जति नेपाली रुपै‌याँ । भारु एक सय रुपैयाँ । साढे दुई तोलाको चाँदीको लेडिज ब्रासलेट पिंक कलरको पत्थर भएको । चार वटा बैंकको एटिएम कार्ड । बुद्ध एयरको माइलेज कार्ड । क्युएफएक्स सिनेमाको माइलेज कार्ड ।
पासपोर्ट साइजका निक्कै फोटाहरु ।” केही नेपाली रुपै‌याँका डबल र एउटा एनटिसीको सीम, केही कागजात र प्रेस कार्ड चाहिं लेखाउन भुलेछु ।
अनि सोधे‌ प्रहरीलाई अगाडिको प्रक्रिया बारे । जवाफ आयोः चाेरले पैसाका लागि चोर्छ । पैसा झिकेर पर्स फाल्दिन्छ । त्यो फालेको पर्स कसैले प्रहरी चाैकीमा ल्याइदिएछ भने तपाई‌लाई फोन गरुँला ।
यत्तिको बीचमा
१. धेरै प्यासेन्जरको नमिठो बचन सुन्न पर्यो किनकी मैले गाडी राेकीदिदां उनीहरु घर जान ढिला भएको थियो । जुन शायद अस्वाभाविक थिएन कि !
२.प्रहरीको खेलाँची टाइपको रेस्पोन्स । थर्काएर बाेल्ने । रित पुर्याइदिउँ भनेर गरेकाे ड्युटी । हेमन्त मल्ल र उपेन्द्र अर्यालको नाम लिंदा चाहिं हच्के जस्तो गर्ने । धेरै चोटी सम्झे ‘प्रहरी मेरो साथी’ नारा । मुस्कान सहितकाे सेवा ।
अन्तमा लखतरान परेको मष्तिष्कले सम्झाइदियो बिहान पढेको राशीफलः “आज खर्च बढ्ने” । त्याे पढ्दै गर्दा सोचेको थिएँ ‘किनमेल गर्नु छ त्यही भन्या होला ।’ तर हैन रहेछ ।

मनले मलाई सम्झायो; “यति जिन्दगी बाँचिसक्दा पैसाले साट्न नसक्ने केही चीज गुमेका छन् । यो त सामान्य कुरा हो जो कहिलेकसो साक्षात्कार गर्न आउँछन् । त्यसैले तनाव लिनु पर्दैन ।”

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु