समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

‘अन्धाधुन्ध सेल्फ मेडिकेसन गरेमा ठूल्ठूला रोगहरु लाग्न सक्छन’ 

स्वास्थ सम्बाद

dharma_khanalकरीव छ दशकअघि इलाम जिल्लाको संखेजुङ्ग गाविसमा जन्मेर लामो समय फार्मेसी पेशामा संलग्न प्रा.डा धर्म प्रसाद खनालले नेपालको फार्मेसी शिक्षामा अतुलनीय योगदान गर्नु भएको छ । वहाँ विगत २८ बर्षदेखि बिभिन्न कलेजहरुमा फार्मेसी विषयमा अध्यापन गराउदै अनुसन्धानको क्षेत्रमा समेत लाग्दै आउनु भएको छ । हाल पूर्वाञ्चल विश्वविद्यालय फार्मेसी विषय समिति अध्यक्ष, काठमाडौ विश्वविद्यालयको फार्मेसी विषय समिति सदस्य रहदै थुपै्र संघ–संस्थासंग आवद्व हुनुहुन्छ ।

लोमस फर्मास्युटिकलमा वहाकै नेतृत्वमा आइएसओ ९००० र आइएसओ १४००० को सर्टिफिकेट समेत पाएको थियो । हाल वहाँ फार्मेसी सम्वन्धि अध्ययन गराइने बिभिन्न कलेजहरुमा स्रोत व्यक्तित्वको रुपमा रहदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा व्यवस्थापन समिति सदस्य एवं फार्मेसी बिभागको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

फार्मेसी सम्वन्धि बिभीन्न महत्वपूर्ण जर्नलहरु प्रकाशनमा समेत भूमिका खेल्नुभएका वहाँले केही समय अघिमात्र ‘हिस्ट्री अफ फार्मेसी’ नामको एउटा पुस्तक प्रकाशन गर्नुभएको छ । जुन पुस्तक फार्मेसी बिषयमा चासो दिने र अध्ययन गर्ने सबैका लागि उपयोगी बनिरहेको छ । प्रस्तुत छ विश्व फार्मासिष्ट दिवसका अवसर पारेर अनलाइन पत्रिकाका लागि जनार्जन पौडेलले गरेको कुराकानीको सम्पादित अंश:

 

 

तपाइँ विगत लामो समयदेखि यस पेशामा संलग्न हुनुहुन्छ, विद्यार्थीहरुलाइ अध्यापन पनि गराउदै हुनुहुन्छ, नया विद्यार्थीहरुलाई फार्मेसी बिषय अध्ययन गर्नका लागि के भन्न चाहनुहुन्छ ?
हिजोआज उसै पनि सबैको रोजाइ नै प्राविधीक विषय बन्दै गइरहेको छ । त्यसमा पनि स्वास्थ्य क्षेत्रका पारामेडिकल कोर्सहरुमध्येको फार्मेसी एकदमै उपयोगी हो जसको अध्ययन पश्चात कोहि पनि बेरोजगार बस्नु पर्दैन । डिप्लोमा फार्मेसी मात्र गर्न सकेको खन्डमा पनि एउटा सानो औषधी पसल चलाएर पनि व्यक्तिले सजिलै जीवन गुजारा गर्न सक्दछ । त्यो भन्दा माथिको तहमा अर्थात ग्राजुएट गर्न सक्दा खेरी त झन बिभीन्न अवसरहरु आउदछन । अहिलेको अवस्था हेर्ने हो भने नेपाल लगायत बिश्वका थुपै्र देशहरुमा यसको पर्याप्त स्कोप रहेको छ । एसएलसी पास गरे पश्चात नै डि फार्मेसी बाट फार्मेसीको प्रमाणपत्रतहको ३ बर्षे कोर्स अध्ययन गर्न सकिन्छ भने प्लस टु साइन्स गरेका विद्यार्थीहरु सिधै व्याचलर इन फार्मेसी कार्यक्रममा भर्ना हुन पाउँदछन ।

dharma-khanalफार्मेसी बिषयमा हालसम्म उत्पादित जनशक्ति के कति छन ?
हाल देशभरमा २१६९ जना ग्य्राजुएट छन भने डिप्लोमा गरेकाहरु ४५०० जना जति भइसकेका छन । डिप्लोमा फार्मेसी पढाउने कलेजहरुको संख्या ३५ वटा रहेका छन जसबाट बार्षिक १२०० भन्दा बढि जनशक्ति उत्पादन भइरहेका छन भने यसैगरि बि फार्मेर्सी पढाउने कलेजहरु २१ वटा छन जसबाट बार्षिक ८०० जना भन्दा बढि जनशक्ति उन्त्पादन भइरहेका छन् । उत्पादित जनशक्ति मध्ये केहि औषधी उद्योगमा,केहि बिभीन्न सरकारी निकायहरुमा केहि एकेडेमीक क्षेत्रमा र केहि चााहि मार्केटिङ्गमा कार्यरत छन । हाल औषधी व्यवस्था बिभागले लाइसेन्स दिएका फार्मेसी व्यवसायिहरुको संख्या भने १५००० को हाराहारीमा रहेको छ ।

देशभर कति औषधि पसल र उद्योगहरु सन्चालनमा ल्याइएका छन ?
नेपालमा हालसम्म ५० वटा औषधी उद्योगहरु स्थापना भइसकेका छन भने १७ हजार भन्दा बढि औाषधी पसलहरु सन्चालनमा ल्याइएका छन ।

यति धेरै फार्मेसीस्ट मुलुकले उत्पादन गरिसक्दा पनि अधिकांश औषधी पसलहरु फार्मेसी विषय अध्ययन नगरेकाले सामान्य मानिसले नै सञ्चालन गरिरहेका छन ति मध्ये कतिलाइ औषधी सम्वन्धि सामान्य ज्ञान पनि हुन्न, यस बारेमा के भन्न चाहनुहुनछ ?
यो एक प्रकारले स्वास्थ्य क्षेत्रको विडम्वना बनिरहेको छ । यसलाई व्यावसायिका नातेदारहरु भन्ने गरेको छु मैले । एउटाको नाममा औषधी पसल दर्ता हुन्छ औषधी बेच्ने अरु नै फार्मेसी नपढेका तिनका नातेदार र आफन्त हुन्छन ।

फार्मेसी पढेकाहरुले मासिक रुपमा लाइसेन्स बेचेर अरुलाई व्यवसाय सञ्चालन समेत गर्न दिने गरेका घटनाहरु आइरहेका छन नि ?
हो, यो मैले पनि सुनेको कुरा हो । वास्तवमा यो एकदमै गलत प्रथा हो । जवसम्म यो प्रथालाई रोक्न र औषधी व्यवसाय फार्मेसी पढेका व्यक्ति स्वयमले सञ्चालन गदैनन तवसम्म समस्या ज्यूकात्यू रहन्छ । यसमा विशेष म के भन्न चाहन्छु भने यसका लागि सरकारको कडा निगरानीको साथै व्यापक जनचेतनाको खाँचो छ । बिरामीको जीवन र मृत्युको निर्धारण गर्ने यस्ता संवेदनशिल कुरालाइ राज्यको तर्फबाट र सरोकारवाला कुनै पनि निकायको तर्फबाट हेल्चेग्रयाइ गरिनु राम्रो कुरा पक्कै पनि होइन ।

हिजोआज डाक्टरको सल्लाह बिना नै सेल्फ मेडिकेसन गर्नेहरुको संख्या बढेको छ ? यसबारे के भन्नुहुन्छ ?
बास्तवमा यो विल्कुलै गलत कुरा हो । सेल्फ मेडिकेसन राम्रो कुरा होइन मुख्यतया डाक्टरको सल्लाह बिना सेल्फ मेडिकेसन गर्नु हुदैन । यदि त्यस्तो अवस्था आइनै पर्यो भने पनि फार्मासिस्टको सल्लाह लिनु उपयुक्त हुन्छ । औषधी सेवनबाट हुने प्रतिअसरको ख्यालै नगरि अन्धाधुन्ध सेल्फ मेडिकेसन गरेमा भविश्यमा ठूल्ठूला रोग जस्तै मृगौला खराव हुने लगायतका रोगहरु लाग्न सक्छन । औषधीको सेवन गर्ने तरिका र डोज मिलेन भन्ने त्यसले अवश्य पनि साइड इफेक्ट त गरिहाल्दछ । विशेष हामिकहाँ चाहि अलिकति टाउको दुख्यो कि पेन किलरहरु किनेर खाइहाल्ने चलन बढ्दो छ । वास्तवमा यसरि आफुखुशी औषधी सेवन गर्नु हुन्न । यसका साथै महिलाहरुमा पनि महिनावारी हुँदा दुखाइ कम गर्न अन्धाधुन्ध औषधी प्रयोग गरेको पाइएको छ । कृपया ख्याल गर्नु होला धेरै पेनकिलरहरुको किड्नी फे्ल हुन सक्दछ ।

डाक्टरले लेखिदिएको औषधी त फार्मेसी पढेका र नपढेका जसले बिक्री गरेर पठाए पनि एउटै कुरा होइन र ?
अवश्य पनि होइन फार्मेसी पढेकाले जसरी प्रष्ट नपढेकाले औषधीको बारेमा राम्ररी बुझाउनै सक्दैन । विशेष कन्टेन्ट अनुसार औषधीको मात्रा फरक फरक हुन्छ । कुन औषधीको के कस्ता प्रति असर हुन्छन फार्मेसी नपढेको व्यक्तिलाई कसरी थाहा हुन्छ ? जस्तो कि ब्रुफिन खालि पेटमा खान हुदैन तर ब्रुफिन खानुस दिनको यति पल्ट खानुस भनेर मात्र औषधी पसलेले बिरामीलाई दियो भने त्यसबाट पक्कै प्रति असर पर्दछ । खाली पेटमा ब्रुफिन खादा अल्सरसम्म हुनसक्ने सम्भावना रहन्छ । उदाहरणको लागि दिनको ३ पटक औषधी सेवन गर्नु भनेर सल्लाह दिनु र ८/८ घन्टाको फरकमा सेवन गर्नु भन्नुमा धेरै फरक छ ।

नेपालको औषधी उद्योगहरुले हाम्रो देशको मागलाई कतिको धानिरहेका छन त ?
हाम्रो देशमा खपत हुने ४५ प्रतिशत औषधीहरु स्वदेशी उद्योगहरुले नै उत्पादन गरिरहेका छन बाकी ५५ प्रतिशत मात्र निर्यात भइरहेको छ ति मध्ये पनि अधिकांश भारतबाट आयात हुन्छ बाकी २ प्रतिशत जति मात्र बंगलादेश लगायत अन्य राष्ट्रबाट आयात गरिने गरिएको छ । हामिले फार्मेसीको क्षेत्रमा यतिका धेरै जनशक्ति उत्पादन गरिसकेका छौ उचित वातावरण भएमा बाकी ५५ प्रतिशत औषधी पनि नेपालमै उत्पादन गर्ने सम्भावना रहेको छ ।

नेपालमा अस्पताल फार्मेसीको बिकास कहिलेबाट भयो र हाल यसको स्थिति कस्तो रहेको छ ?
वास्तवमा अस्पतालहरुले अनिवार्य रुपमा आफैले फार्मेसी सन्चालनमा ल्याउनु पर्दछ जसले गर्दा एकातिर बिरामीले सुपथ मुल्यमा गुणस्तरिय औषधी पाउने गर्दछन भने अर्कोतिर बिरामीालाइ पनि राम्रो काउन्सीलीङ्ग हुन्छ । नेपाल सरकारको हालको निती पनि यहि नै रहेको छ । तैपनि केहि प्राइभेट अस्पतालहरुले नाफालाइ मात्र मध्यनजर गरेर फार्मेसी प्राइभेटलाइ भाडामा दिने गरेको पाइएको छ । नेपालमा पहिलो पटक शान्त भवन अर्थात हालको पाटन अस्पतालले १९५६ मा विदेशी फर्मासिस्टहरु ल्याएर आफैले फार्मेसी सन्चालन गरेको हो । त्यसपछि दोश्रोमा कान्तीबाल अस्पतालले १९६८ मा नेपाली फर्मासीस्टहरु नै राखेर आफै फार्मेसी सन्चालनमा ल्यायो ।

हाल नेपाल फार्मेसी काउन्सीलले के गर्दैछ ?
नेपाल फार्मेसी काउन्सिलले विशेष फार्मेसी अध्यापनको निगमन गर्ने र लाइसेन्सको परीक्षा लिइ लाइसेन्स दिने कार्यहरु गरिरहेको छ । फार्मेसीको यो भन्दा पनि ठूलो निकाय भनेको औषधी व्यवस्था बिभाग हो जसले औषधीहरु सम्वन्धि आवश्यक सबै कार्य गर्दछ । औषधी व्यवस्था बिभागबाटै उपभोक्ता नठगिउन मूल्यमा एकरुपमा आओस भनेर ९६ वटा औषधीको मुल्य समेत निर्धारण गरिसकेको छ । नेपालका लागि औषधी व्यवस्था बिभाग नै एउटा अधिकार प्राप्त निगमन निकाय हो जसले चाहेमा धेरै परिवर्तन गर्न सक्दछ । तर यसले पनि अपेक्षित रुपमा काम गर्न सकिरहेको छैन । यसको बीरगन्ज नेपालगन्ज र बिराटनगरमा क्षेत्रिय कार्यालयहरु छन तापनि आवश्यक मात्रामा अनुगमन गर्न सकेको छैन किन भएन अनुगमन समय समयमा भन्यो भने उनिहरुसंग रेडिमेड जवाफ छ पर्याप्त जनशक्ति नै छैन त के गर्ने ?

नेपालले हाल प्रदान गर्दै आएको फार्मेसी शिक्षामा सुधार्नुपर्ने मुख्य कुरा के के छन ?
हाल नेपालको फार्मेसी शिक्षा एकदमै राम्रो छ । तर ४ बर्षे बि फार्मको कोर्सलाइ बाहिर गएर काम गर्न र थप पढ्न अप्ठेरो पर्ने भएकाले ५ बर्षे बनाउन जरुरी छ जसका लागि पहल भइरहेको छ ।

फार्मासिस्ट विना नै फार्मेसी सञ्चालन गर्नेहरुलाइ के कस्तो कारवाही हुन्छ ? यसलाइ रोक्न के गर्नुपर्ला ?
यसरी बिनालाइसेन्स औषधि बिक्री गरेको पाइएमा ५ हजार रुपैया जरिवाना र छ महिनासम्म कैद समेत हुने व्यवस्था रहेको छ । विशेष समस्या भनेको लाइसेन्स एउटाको कारोबार गर्ने अर्कै हुन्छ फाटफुट अनुगमन हुदा तिनीहरुलाई कारवाहीको दायरामा ल्याउन नसकेको हो । यसका साथै उपभोक्ता पनि आफै सचेत भएर यस्ता खालका व्यवसाय गर्नेहरुको रिपोर्ट गोप्य रुपमा संवन्धित निकायमा पुराइदिनुपर्यो अनिमात्र समस्या समाधान हुन्छ । अन्यथा फार्मेसी पढेका व्यक्तिहरु बेरोजगार हुदै जाने अनि अन्य व्यावासायिक व्यक्तिहरु तिनकै नाम भजाएर रातारात मालामाल हुने स्थित कायमै रहन्छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु