समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

भेडेटारमा हङकङको ‘बिग बुद्ध’ यसरी उभ्याइँदैछ 

भेडेटारमा निर्माण गर्न लागिएको बिग बुद्धको नमुना

शान्ति तामाङ –

धरान, कात्तिक २३ । धरानको भेडेटारमा एक सय ७५ फिट अग्लो बुद्ध मूर्ति निर्माण हुने भएको छ। हङकङको लान्ताउ टापुमा रहेको ‘थाउजन बिग बुद्ध’ को नमूना अनुसार हङकङमा बस्ने नेपालीको पहलमा भेडेटारमा ‘बिग बुद्ध’ निर्माण गर्न लागिएको हो।

धरानको भेडेटार पूर्वी नेपालको पर्यटन गन्तव्य मानिन्छ, जुन सुनसरीको धरान उपमहानगरपालिका–२० छोटीमोरङको डाँडामा अवस्थित छ। एक अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको ‘बिग बुद्ध’ को सभामुख ओनसरी घर्तीले मंगलबार सिलन्यास गर्दैछिन्।

‘बिग बुद्ध’ परियोजनाका एक अगुवा प्रदीप थापा मगरका अनुसार दान र सहयोगबाटै एक अर्ब रुपैयाँ उठाएर परियोजना सफल बनाउने लक्ष राखिएको छ। परियोजनाका लागि थाइल्यान्डका राजगुरु लगायत देश–विदेशमा रहेका बौद्ध धर्ममा आस्था राख्ने दाताहरुबाट रकम संकलन गरिने भएको छ।

१० वर्षे परियोजना अन्तर्गत धरानलाई पर्यटकीय सहरका रुपमा विकास गर्ने उद्देश्य अन्र्तगत यो योजना ल्याइएको हो। परियोजना सञ्चालनका लागि हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष प्रदीप थापाकै अध्यक्षतामा सूर्योदय बुद्ध विहार धरान दर्ता भएको छ। यो परियोजना सम्पन्न गर्न सके पूर्वको धरान आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने थापाले बताए।

हङकङको लान्ताउ टापुमा निर्मित ‘बिग बुद्ध’ र हङकङकै सातटनमा रहेको १० हजार बुद्धको प्रतिमा जस्तै धरानको भेडेटारमा बिग बुद्ध र १० हजार बुद्ध बनाउन लागिएको थापाले जानकारी दिए। परियोजनाका लागि १० विगाह क्षेत्रफल जमिन धरान उपमहानगरपालिका र वन विभागले उपलब्ध गराएको छ।

हालसम्म परियोजनाको कानुनी प्रक्रिया, डिजाइन, आर्किटेक्ट र माटो सम्याउन डोजर र स्काभेटर प्रयोगको दस्तुर गरी ६० लाख रुपैयाँ खर्च भइसकेको थापाले जनाए। परियोजना स्वरुप बिग बुद्ध वरिपरि साना १० हजार बुद्ध मूर्तिहरु रहने र ती मूर्ति देशविदेशका दातालाई दान स्वरुप उनीहरुकै नाममा राख्न दिने योजना रहेको बिग बुद्ध परियोजनामा सक्रिय भिक्षु मेधांकर (भिक्षु मगर) ले बताए।

मंगलबार सभामुख घर्ती र थाइल्यान्डका राजगुरुले संयुक्त रुपमा बिग बुद्घको सिलन्यास गर्दैछन्। शिल्यान्यासमा स्वास्थ्यमन्त्री गगन थापा, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, नेपालका लागि बर्माका राजदूत, हङकङबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य धन थापासहित थाइल्यान्ड र नेपालका बौद्ध गुरुहरु सहभागी हुनेछन्।

get_img-2

हङकङको लान्ताउ टापुमा रहेको बिग बुद्ध

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु