समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

जाने होइन त ‘भर्जिन गन्तव्य’ – लोमान्थाङ ? 

lomanthang-virgin

मुस्ताङ, कात्तिक ४ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति ।

उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् ।

lo-manthang-3

एकै लहरमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन् । दसैं र तिहारको बिदा मनाउन नेपाली धमाधम लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको आकर्षण व्यापक बनेको लोमान्थाङका होटल व्यवसायी छिरिङ सान्मो गुरुङले बताउनुभयो । लोमान्थाङमा १० वटा सुविधासम्पन्न होटल छन् ।

ती होटलमा एकैरात एकसय ५० जनासम्म बास बस्न सक्छन् । “तर होटल भरिभराउ भएपछि घरमा लगेर पनि सुताउने गरेका छौँ”, गुरुङले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले नेपाली पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली लोमान्थाङ भ्रमणमा पुग्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा वार्षिक चार हजारको हाराहारीमा बाह्य पर्यटक पुग्ने गरेको एक्यापको तथ्याङ्क छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले आन्तरिक पर्यटकको ‘फ्लो’ (प्रवाह) बढेको बताउनुभयो । “अफसिजन सुरु हुन लागेको छ, चिसो पनि बढेको छ”, उहाँले भन्नुभयो, “तैपनि नेपालीहरु जाने क्रम रोकिएको छैन ।”

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु