समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्य बन्दै 

मोरङ,२५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

टाडी गाविस २ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि ७ किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि १ किलोमिटर उत्तर हुँदै नैसेलुङडाँडामा पुग्न सकिन्छ । टाडीको रतनपुरमा अवस्थित यो डाँडामा पुग्ने जो कोही पनि यहाँको प्राकृतिक सौन्दर्यतामा रमाउन सक्छ ।

नैसेलुङडाँडाबाट तराईका समथल भू–भागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक देखिनुका साथै, टाडीको सबैभन्दा ठूलो साखरे बगरको दृश्यावलोकन, मिक्लाजुङडाँडा र चुरे पहाड देख्न सकिन्छ । नैसेलुङडाँडाबाट टाडीको अर्को पर्यटकीय स्थल चुलीपोखरीको डाँडा समेत देख्न सकिने स्थानीय चन्द्र फागोको भनाइ छ ।

नैसेलुङडाँडा पर्यटन विकास समितिले यहाँ रु १४ लाखको लागतमा आगामी असोजदेखि भ्यू टावर निर्माण गर्ने भएको छ । भौतिक संरचना निर्माण कार्य सुरु भइसकेको पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो । पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण कार्य पनि सुरु गरिएको मादेनको भनाइ छ ।

२०७४ वैशाखमा फ्रि–वाइफाइ सहितको भ्यूटावर निर्माण सम्पन्न हुने मादेनको दाबी छ । दुई बिगाहा क्षेत्रफलमा फैलिएको नैसेलुङडाँडा पर्यटकीय क्षेत्रको विकासका लागि टाडी गाविसको २०७३/२०७४ को गाउँ परिषद्ले रु २ लाख बजेट स्वीकृत गरेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु