समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

हजुरआमाको नजरमा छोरी मान्छेको जीवन 

article

सृजना खड्का

हजुरआमा भन्नुहुन्थ्यो, ‘छोरी मान्छे भन्या बन्साको झाम्टा हुन् ।’ मलाई अझै याद छ, उहाँले धेरै चोटी यो वाक्य दोहो¥याउनु भएको थियो । त्यो बेलामा म सानै थिए, त्यो वाक्यको अर्थ मलाई राम्रोसंग थाहा थिएन । धेरैपटक के भन्नुभएको होला भनेर अलमल्लमा परेको थिए । बल्ल अहिले आएर बिस्तारै यसको अर्थ ठम्याउने भएकी छु । बन्साको झाम्टो भनेको त जुनसुकै बनजंगलमा पाइने सानोतिनो घाँस पो रहेछ । जसको कुनै मुल्य छैन, सबैले कुल्चिएर हिड्छन् रे त्यो बन्साको झाम्टो । के म त्यही बन्साको झाम्टो नै हो त हजुरआमा ?

हामी तीन जना छोरीपछि भाई जन्मिदा मेरी हजुरआमा खुशीले गद्गद् हुुनुभएको थियो । गाँउभरी सुनाउदै हिड्नु भएको थियो । भन्नुहुन्थ्यो ‘हाम्रो लागि यो सुन्तलाको विरुवा हो यसको राम्रोसंग हेरचाह र संरक्षण गर्नुपर्छ, धेरै समय प्रतिक्षा गरे पछिको प्राप्ती हो मेरो नाती, भग्वानको उपहार हो मेरो नाती ।’ खै किन त्यस्तो भन्नुभएको होला मेरी हजुरआमाले भनेर अचम्ममा पर्थे म ।

अहिले आएर थाहा पाए, हाम्रो जस्तो पितृसतात्मक समाजमा मेरी हजुरआमा त त्यसको एक उदाहरणमात्र हुनु हुदो रहेछ । उहाँ जस्ता पुराना पिडीमा मात्र नभई अहिलेका कतिपय नयाँ पिडिको सोच पनि ठ्याक्कै मिल्दो जुल्दो भेटाउछु म । मुखले यि कुराहरु व्यक्त नगरे पनि उनीहरुको व्यवहारमा प्रष्ट झल्केको देख्छु त्यो विभेद ।

पेशाले म एक समाचार संकलक साथै पत्रकारीतामा स्नातकोत्तर गरिरहेकी विद्यार्थी । पत्रकारीता मेरो बाध्यता होइन रहर हो । बिना काममा म यो पेसामा लागेको होइन यो मेरो समाजप्रतिको जिम्मेवारी हो, मेरो उत्तरदायित्व हो । यो पेशामा आवद्ध हुन र स्थापित हुनको लागि धेरै मिहिनेत गरिरहेकी छु । समुदायमा म बन्साको झाम्टो होइन भनेर प्रमाणित गर्नु छ । मेरा सय प्रतिशत आफन्तहरु मध्यमा ९० प्रतिशतलाई म यो पेशामा लागेको चित्त बुझेको छैन । भन्छन् ‘पत्रकारीता भनेको छोरी मान्छेले गर्ने खालको पेशा होइन ।’ जवाफमा म केही फर्काउदिन किनभने एकदिन उनीहरुको सामू यहि क्षेत्रमा धेरै गरेर देखाउने प्रतिवद्धता भित्रभित्रै आफैसंग गरेकी छु । समयसंगै उनीहरुलाई उनीहरुको प्रश्नको जवाफ मिल्ने छ ।

मेरो गाँउ रामेछाप त्यही पढे र बढे पनि । एसएलसी पछि पढाइको शिलशिलामा भक्तपुरमा आएर बसे । गाँउमा मलाई पढाउने एकजना शिक्षकले हालसालै मेरो बाबासंग कानेखुसी गर्दै भन्नुभएछ ‘त्यस्तो राम्रो पढ्ने छोरीलाई साह्रै नराम्रो विषय पढाउनु भएछ । यो पत्रकारिता पेशा भनेको छोरी मान्छेको लागि हुदैन ।’ बाबाले यो कुरा मलाई सुनाउँदा म छाँगाबाट झरेको जस्ती भएकी थिए । यो कुरा अरु कसैले भनेको भए सायद त्यसलाई सहजै लिन्थे होला । तर एउटा जिम्मेवार र समाज परिवर्तनको बाटोमा लागेको शिक्षकको यस्तो संकुचित सोच देखेर म चकित परे ।

गाँउमा जाँदा पनि कुनै कार्यक्रममा सक्रिय भएर सहभागिता जनाउन खोज्दा ‘पोथी बासेका’ भन्थे । छोरी मान्छेलाई घरमा नै सिमित राख्न पाए आफू सफल भएको ठान्छन् धेरै पुरुष । महिला अगाडी बढ्यो भने आफू पछि परिन्छ भनेर खुट्टा तान्ने पुरुषहरु धेरै भेटेको छु । तर खुट्टा तान्यो भन्दैमा हिड्नै छोड्नेमा म पर्दिन । म महिला, मैले केही गर्न सक्दिन भन्यो भने सधै पछाडी परिन्छ जस्तो लाग्छ मलाई । महिला र पुरुष बराबर हौं । तर,काम गरेर देखाउनुपर्छ । समाज रुपान्तरणको बाटोमा हामी पनि हातमा हात मिलाएर अगाडी बढ्न सक्छौ ।

हैन अचम्म लाग्छ फरक के छ नारी र पुरुषमा ? भिन्नता के छ तिमी र म मा ?

भिन्नता र विभेद त समाजले गर्ने व्यवहामा छ, समाजले हेर्ने दृष्टिकोणमा छ । तिमीलाई विद्यालय गएर पढ्न र लेख्न सिकायो मलाई घाँस काट्न, तिमीलाई नेतृत्व बहन गर्न सिकायो मलाई घर धन्दा । तिमीलाई कठोर बन्न सिकायो मलाई रुन, तिमीलाई विवाह गरेर श्रिमती भित्र्याउन सिकायो मलाई बाहिरिन ।

विवाहकै प्रसङ्गलाई जोड्नुपर्दा प्लस टु सक्काए पछि मेरो लागि विवाहको प्रस्ताव आएको थियो । एकजना चिनेको अंकलले भन्नुभयो ‘नानी हामी तिमीलाई माग्न आको,यो केटो लायकको छ तिमीलाई मज्जाले पाल्छ’ । मलाई उहाँको कुराले हाँसो उठ्यो । जवाफमा मैले हाँस्दै भने,अंकल म छिमेकीले अ‍ैचोपैचोमा लैजाने सरसामान हो र माग्दैमा पाउने । अनि पाल्ने भनेका कस्तो अंकल । श्रीमानले पाल्ने होइन, उ त जीवनसाथी हो । पालिने भनेको त जनावर, गाईबस्तु र चराचुरुङगी पो हो त । मान्छेले मान्छेलाई पनि पाल्छ त?’ त्यसपछि के चाहियो । तिम्रो छोरीको थुतुनो सम्हाल है काजी भन्दै त्यहाँबाट बाहिरिए । पछि गाँउभरि त्यो काजीकी छोरी साह्रै पाजी र थुतुनी रहिछ, एकदिन पोइल जान्छे भनेर बखान गर्दै हिडेछन् । अझै पनि गाँउजादाँ तिनी म संग राम्ररी बोल्दैनन् । म चाही तिनीलाई हेरेर अझैपनि मुसुक्क हाँस्छु ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक कम र नकारात्मक बढि भेट्छु । छोरी भएकै कारणले मानिसहरुले म प्रति गर्ने व्यवहारमा धेरै भिन्नता पाएको छु । आफूप्रति थुपरिएको जिम्मेवारी र भविष्यको पूरा गर्छु भनेर बोकेर सुन्दर सपना पूरा गर्नको लागि अझै पछाडी परेकी छैन । क्रमबद्ध रुपमा रहेका योजनाहरुलाई सन्तुलित रुपमा अगाडी बढाउनु अहिलेको मेरो प्रमुख दायित्व बनेको छ । समाज परिवर्तनको लागि म एकजनाको प्रयास नै काफी छ । आशा गर्छु मेरो प्रयासले म जस्ता करोडौं सृजनाहरु जन्माउने छ ।

(नोट : कुनै पनि लेखमा लेखकले आफ्नो निजी विचार व्यक्त गर्ने भएको हुनाले हाम्रो संस्था अनलाइनपत्रिका डट कम कुनै पनि लेखमा लेखकले व्यक्त गरेको विचारमा सहमत वा असहमत हुन जरुरी छैन । सबैखाले विचारलाई पाठक समक्ष पुर्योउने हाम्रो प्रयास हो, धन्यवाद)

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु