मृत्यु हुनु अघि सात कामको लिस्ट तयार गर्नुहोस !

loading...

shawasanरामकुमार श्रेष्ठ :
१९९९ तिरको कुरा हो, सुर्खेतको एउटा हलमा प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, मेयर, बिभिन्न कार्यालय र परियोजना प्रमुखहरुले भरिएको थियो । सबैजना आ-आफ्नो निकटमा बस्नेहरुसंग कुरा गरिरहेका थिए । यत्तिकैमा एकजना ४० को हाराहारीको ब्यक्ति हलको अगाडि आएर ताली पिट्दै सबैको ध्यान आफूतिर आकृस्ट गरेपछि आफ्नो र कार्यक्रमको सामान्य परिचय दिए लगत्तै सबैको सामू एउटा प्रश्नबाटै कार्यक्रमको शुरु गरे ।

प्रश्न थियो, “मानिलिनुस् कि तपाईंको मृत्यु केही दिनभित्रै हुँदैछ । मृत्यु हुनु अघि गर्न मन लागेका सात कामको लिस्ट तयार गर्नुहोस ।“ जतिसुकै आपराधिक काम गर्नेले पनि त्यो अवस्थामा तयार गर्ने लिस्ट सहजै अनुमान गर्न सकिन्छ । बिशेष गरी हिन्दू धर्मका पुस्तकहरुमा पाप कर्म गरेपछि रगत र पीपयुक्त बैतर्णी नदी तर्नुपर्ने, धारिलो खुकुरीमाथि हिंडनु पर्ने, भकभक उम्लिएको तेलको कराहीमा डुब्नुपर्ने जस्ता सुन्दैमा कहालीलाग्दा सजायँहरुलाई जीवनभरी बेवास्ता गरी जति नै कुकर्म गरे पनि यो अवस्थामा त्यस्ता सजायबाट जोगिने कामबाट जोगिन कम्तीमा लिस्ट तयार गर्दाको अवस्थामा को पछि पर्ला ?

उपर्युक्त घटना काल्पनिक नभएर परिवर्तनका आधारहरु कार्यक्रम मार्फत महत्वपूर्ण जिम्मेवारी बहन गरेका ब्यक्तिहरुको आचरणमा कसरी सुधार ल्याउने भन्ने लक्ष्यका साथ डिजाइन गरिएको लामो तालिमको शुरुको झलक हो । कतिपय मानिस मृत्यु शब्दसंग त्रसित हुने गर्छन् र यसबारे प्रसंग नै निकाल्न चाहन्नन । यो बिल्कुलै गलत हो । मृत्यु सास्वत सत्य हो र यसलाई कसैले पनि नकार्न सक्तैनन सामान्य अबस्थामा । पञ्चेन्द्रिय र ज्ञानेन्द्रियको बसमा हुने हामी सबैले कुनैपनि बेला अनायास मृत्युलाई नस्वीकारी धरै छैन । मृत्युमाथि बिजय प्राप्त गर्ने भनेका ती हुन जस्ले पञ्चेन्द्रिय र ज्ञानेन्द्रियलाई आफ्नो चाहनानुरुप चलाउने गर्छन् र उनीहरुको बस बाहिर हुने गर्छन् । उनीहरु मर्दैनन, तर समाधी लिन्छन ।

पञ्चेन्द्रिय र ज्ञानेन्द्रियको बसमा भएर सामान्य जीवन यापन गर्ने हामीहरुले सास्वत सत्य मृत्युलाई क्षण प्रतिक्षाणको साथी बनाउन प्रयाश गर्नु पर्छ र यस्ले मात्रै अधिकाधिक बिकल्पका ढोका खोलिदिन्छ । थोरै बिकल्प सहितका मानिस अत्यन्तै संकीर्ण हुन्छन र समाजमा यस्ता थोरै बिकल्पयुक्त मानिस समस्याका कारकतत्व बन्छन । यस्ता मानिसहरुमा हुने बिकल्प हिनताका कारण अरुप्रतिको आदरभाव कम र घमण्डीपना बढी हुने भएकाले नै समाजमा समस्याको श्रोत बन्ने गर्छन् । मृत्युलाई क्षण प्रतिक्षाणको साथी बनाउन प्रयाश गर्नेहरुको स्वतस्फूर्त रुपमा चारित्रिक धरातल उच्च हुन्छ । योगा ध्यानमा शबासन यसैको लागि गरिने अभ्यास हो । केही मिनेटको शवासन केही घण्टाको सुताइ जत्तिक्कै स्फूर्तिदायक मानिने गरिन्छ र यसलाई अभ्यास गर्नेहरुले पर्याप्त सुत्न नपाएको बेला केही समय शवासन गरी काममा जाने गर्छन् । अतः नियमित मृत्यु संस्मरण सुखको महत्वपूर्ण सूत्र हो । जसको अभ्यासले मात्रै उच्च चारित्रिक समाज परिकल्पनालाई सार्थकरुप दिन सक्छ ।

तपाईंको प्रतिकृया
Loading...