समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

क्यानोनिङ खेलको नेपालमा प्रशस्त सम्भावना 

काठमाडौँ, ८ असार । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नु पर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।cannoying

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धनको आवश्यकता ठानिएको पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल क्यानोनिङ एसोेसिएसनले नुवाकोटको थानापतिमा हालै आयोजना गरेको दोस्रो छाँगावरोहणका सहभागी एवम दशदिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई मङ्गलबार साँझ प्रमाणपत्र वितरण गर्ने कार्यक्रमका सहभागीले प्राकृतिक दृश्यावलोकन, मनोरञ्जन र साहसिक खेलमा रुचि राख्नेलाई यसतर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।

लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ गरिँदै आएको छ । वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब ६ हजारले क्यानोनिङ गर्छन् । नुवाकोटमा आयोजित दोस्रो छाँगावरोहण महोत्सवमा करिव तीनसय नेपालीले क्यानोनिङ गरेका थिए ।

प्रमाणपत्र वितरण समारोहमा नेपाल ट्रेक्किङ एजेन्ट एसोसिएसनका (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले ट्रेक्किङ क्षेत्र र क्यानोनिङ क्षेत्र एकआपसमा अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकास र विस्तार गरे मुलुकको अर्थतन्त्र मजबुत भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष रिजालले क्यानोनिङको विकासका लागि टानले सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टानका गतिविधिबाट बचेको पैसा क्यानोनिङको विकास र विस्तारमा लगाउनेछौँ ।”

नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले क्यानोनिङ खेल नयाँ भएकाले केही अफ्ठ्यारो रहेको भन्दै अब यसलाई विस्तारै अगाडि लैजाने विश्वास व्यक्त गर्नुभयो । लामाले नेपाली युवाले क्यानोनिङमा विशेष रुचि राखेकोे भन्दै यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले क्यानोनिङ क्षेत्रलाई सरकारले बजेट कार्यक्रममा प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा क्यानोनिङ खेललाई सहयोग गर्ने र खेलमा सहभागी जनाएकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु