चौतारीमा बसेर वाइयात गफ चुटेर खित्का छोडी हाँस्ने र भाडाकुटी खेल्ने त सरकारमा छन !

सरोज खड्का
loading...

औंठा छापहरु सरकार चलाउन थाले, अनि गर्नु के ? ५ वर्षको उमेरदेखि पढ्न थालेको १८ देखि ३०/३२ वर्षसम्म पढ्यो-पढ्यो अनि ति औंठा छापहरुसँग हात थाप्नु पर्ने बाध्यता ! त्यसैले आज लाखौँ-लाख पढेलेखेका युवा विदेशिन बाध्य छन्, छौँ हामी ।

विभिन्न लेभलका सर्टिफिकेटहरुलाई लेमिनेसन गरि झोलामा प्याक गरेर होटेल र रेस्टुरेन्टका भाँडा धुन र गल्लीको धुलो बढार्न विदेश हुइँकिन्छौं हामी । यत्रो वर्ष पढेर प्रदेशमा होटेल र रेस्टुरेन्टका ट्वाइलेट सफा गर्नु पर्दा कुनचाहीँ सचेत युवाको मन नरोला र ! के हामी विदेशिनु हाम्रो रहर होला र ? अब भएन, जागौँ युवा । पढेर जागिरमात्र नखोजौँ, देश विकास र समृद्धिको लागि लडौँ अब । यी औंठाछापरुलाई अब राजनीतिमा प्रतिबन्ध लागाउने नियम-कानुन हामी युवाले बनाउनुपर्छ । लाखौँ करोडौँ पढे-लेखेका युवाले निश्वार्थ र कुनै पनि लोभ-लालचमा नफसी, भ्रष्टाचार नगरी चोखो आर्थिक क्रान्ति र समृद्ध नेपाल बनाउने राजनीति गर्नुपर्छ अब । तब देशमा परिवर्तन हुन्छ, विकास हुन्छ, समृद्धि प्राप्त हुन्छ । हाम्रै पालामा यो सबै देख्न पाइयोस् । आउनुस युवा अब त केही गरौँ । देशको लागि केही गरेर मर्छु भन्नेलाई कसले रोक्ला र !

साँच्चै सचेत तथा बुद्धिजिवी युवा यो सोचौँ त, एक्काइसौं शताब्दीमा पनि हाम्रो देश किन यति पछाडि छ होला ? हाम्रो समाज किन आज पनि रुढीवादी परम्परालाई उत्तिकै विश्वास गर्छ होला ? एउटा बच्चा बिरामी पर्दा अस्पताल लैजानुको सट्टा अर्को बच्चाको बली दिने अनि धामीझाँक्री, टुनामुना, फुकफाक रे, बोक्सी लागेको रे ! यदि बोक्सी हुन्छ भने बोक्सो किन हुँदैन त ? यो सबै एउटी असहाय महिला, विधवा महिला र बुढी महिलालाई हेप्ने अशिक्षित मानसिकताको उपज हो । यो समाज कहिले परिवर्तन होला ? यस्तो समाजलाई चेतना जगाउनु, असल अनि सत्य कुराको ज्ञान फैलाउनु आजका हामी र हाम्रो कर्तव्य र प्रमुख भुमिका रहन्छ कि रहँदैन होला ?

देश दु:ख र पीडाले छ्ट्पटईरहेको छ । मानिसहरु साँझ खाए बिहान के खाउँ र बिहान खाए साँझ के खाउँ ? भन्ने चिन्ता र पीडाले सधैँ छट्पटाइरहेका छन् । सायद वर्ष दिनमा एकपल्ट कहिले चाडपर्व आउला र मासु-भात खान पाईएला भनेर तीनसय चौँसट्ठी दिन कुरेर बस्ने पनि छन् हाम्रो समाजमा । एकसरो लुगा फेर्न कति गाह्रो छ साँच्चै झोपडीमा बसेकालाई । कहिले होला यो जीवनबाट सम्पन्न जीवनमा परिवर्तन गर्ने ? कसैलाई भने बालुवाटारमा भोजभतेर र चिया पान गर्न भ्याई-नभ्याई छ ।

भूतप्रेतको कथा र उखान-टुक्का हाल्ने अनि देवताको पूजापाठ गर्ने कुनै सोँच र चिन्तन नभएका, दु:ख र पीडाको अन्दाज लगाउन नसक्ने चौतारीमा वा चौरमा बसेर गुलेली खेलाउने र विना अर्थ ताली पिटेर खित्का छाडी-छाडी हाँस्नेहरुजस्तै त सरकारमा छन्, अनि कसरी हुन्छ यो परिवर्तन ? कसरी हुन्छ देशमा आर्थिक विकास ? कसरी हुन्छ हाम्रो समृद्ध नेपाल ?

तसर्थ, युवा ! यो त हुँदै भएन । अब त हामी केही सोच्ने हो कि ? आउनुहोस्, तपाईं हामी सबैले एउटै आवाजमा नयाँ शक्तिलाई आमयुवाको जत्थाले सजिसजाऊ बनाई पिछडिएका अशिक्षित र रुढीवादी परम्परालाई तोड्न अग्रसर हुनैपर्छ । साथसाथै आर्थिक विकास र समृद्धिको लागि आजका सचेत र बुद्धिजीवी युवाले आफ्नो काँधमा यो जिम्मा लिनैपर्छ ।

तेस्रो शताब्दीतिर रोम साम्राज्यका शासक क्लाउडियस द्वितीयले जवान विवाह, माया पिरती र जवानीमै घरजम गर्न प्रतिबन्ध लगाएका थिए । किनकी उनिलाई युवा एउटा शक्ति हो र युवाले देशको लागि जस्तोसुकै लडाईं पनि लड्न सक्छन् भन्ने पूर्ण विश्वास थियो । विवाहित मानिसहरु भन्दा अविवाहित मानिसहरु सैनिकको लागि कुशल र योग्य हुन्छन् । कुनैपनि युवाले राज्यकोविरुद्ध यस्तो काम गर्न नपाउने, यदि गरेमा ‘मृत्युदण्ड’को सजाय हुनसक्ने कानुन बनाएका थिए । यो तेस्रो शताब्दीतिर रोम साम्राज्यको इतिहास हो ।

तर युवा भनेका सबैभन्दा महत्वपूर्ण शक्ति हुन्, भन्ने कुरा सारा संसार जान्दछ । यसमा दुई मत छँदै छैन । यसको मतलब विवाह नै नगर्ने, माया पिरती नै नलाउने भन्ने कुरा होइन, यो त एक्काइसौं शताब्दी हो । तर हामीले यतिबेला सकारात्मक सोचका साथ देशमा आर्थिक विकास र समृद्ध नेपालको लागि निर्वाह गर्ने गहन भूमिकाको अड्कल गर्दै अगाडि बढ्नुपर्छ र हामी गर्न सक्छौँ पनि । यी सब कुराको लागि अब पूरानो राजनीतिक दलहरुबाट बिल्कुलै सम्भव छैन र कहिल्यै हुने छैन पनि । अबको नयाँ शक्तिमा सम्पूर्ण युवाले देशको आर्थिक विकास र समृद्ध अनि सम्पन नेपाल बनाउनको लागि गाउँ-गाउँबाट बस्ति-बस्तिबाट जागरुक हुनुपर्छ ।

वास्तवमा हाम्रो देश गरीब छँदै छैन । यो त हाम्रो सोचाई मात्र हो । विश्वकै धनी व्यक्ति बिल गेट्स भन्छन् – ‘गरीब भएर जन्मनु हाम्रो दोष होइन, तर गरीब भएरै मर्नु हाम्रो दोष हो ।’ यसकारण कि हामीले हाम्रो देशमा भएका बस्तुहरुको माध्यमबाट हामी र हाम्रो देशलाई विश्वकै सम्पन्न र समृद्ध बनाउन सक्छौं । यसका लागि हामी युवाले रचनात्मक तरिकाबाट असल तरिकाले निश्चल, निस्कपट र जनहितको लागि नेतृत्व गरौँ, काम गरौँ । हामी युवाले आज नयाँ तरिकाबाट सकारात्मक सोंचका साथ आर्थिक क्रान्ति गर्नै पर्दछ । अबको राजनीति भनेको आर्थिक क्रान्तिको राजनीति हो । विकासमुखी राजनीति हो । हामीले देश र जनताको दु:ख र पीडाको अन्दाज लगाउँदै अन्तरमनबाट काम गर्नकोलागि सपथ र संकल्प गर्नैपर्छ । हामी बारम्बार भन्ने गर्छौं कि, ‘हाम्रो देश जलस्रोतको धनी देश अनि प्राकृतिक सम्पदा को धनि देश,’ के साँच्चै हाम्रो देश गरीब हो त ?

युवा, के हामीे अझै बुझेर पनि बुझपचाकोजस्तो गर्ने ? के हामी अझै कानमा तेल हालेर सुत्ने ? अब जुर्मुराउनुपर्छ । हाम्रो देशका लागि हामीले नगरे कसले गर्छ ?

तपाईंको प्रतिकृया
Loading...