समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

अलबिदा अम्बर 

amber

सन्तोष परियार ।

“मानिस एकदिन मरेर जान्छ तर अमर रहन्छ उसको नाम, उसले गरेका कामहरु” यस्तै छ नेपाली सङ्गीतका शिखर सङ्गीतकार अम्बर गुरुङको जीवन पनि । आज उनको भौतिक शरीर हामी माझ छैन तर उनले सृजना गरेका धुनहरु, उनले नेपाल र नेपालीलाई लगाएका गुनहरुका कारण हामी उनलाई कहिले भुल्न सक्देनौ । उनी कहिले नभुल्ने गरी बसे प्रत्येक नेपालीको हृदयमा र अमर बने ।

“सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्बभौम भई फैलीएका मेची महाकाली …”

सिंगो राष्ट्रको गौरबगाथा, महिमा र परिवर्तन पछिको नयाँ नेपाललाई हरेक दिन ब्यूँझाउने राष्ट्रगानका संगीतकार हुन् अम्बर गुरुङ् ।

यो अवसर उनले त्यसै प्राप्त गरेका हैनन, आफ्नो सांगीतिक क्षमता, गहन अध्ययन र अनवरत नेपाली संगीतमा ५० बर्षको लामो साधना र जीवन समर्पण पछिको सुखद परिणाम थियो ।

पोखिएर घामको झुल्का भरि संघारैमा ( नारायणगोपाल ), नौलाख तारा उदाए,( आफै ) हराए झैं केहि लाग्छ ( तारादेवि ), अरुणा लामाले गाएको सबैले भन्थे, पोहोर साल खुशी फाट्दा, आफ्नै आवाजको किन किन तिम्रो तस्बिर ( पुरानो ), ए कान्छा मलाई सुनको तारा खसाइदेउन ( अरुणा लामा र रुद्रमणी गुरुङ्ग ) जस्ता कालजयी र अमर गीतहरु छन् उनका नेपाली संगीतमा ।

“नौलाखे तारा” सुन्न यहाँ क्लिक गर्नुहोस्

यस्तै उनले आफैले संगीत गरेर गाएका गीतहरुमा ’जसै साँझ पर्यो’, ’ए फुल बसन्त’ ,’मेरो जीवनलाई’, ’क्षितिज आकासले’, दिल त म, कहीं आफ्नो भुमरीमा आफै पर्यौ कि, म अम्बर हुँ तिमी धर्ती, उकाली चड्दा’ , म अम्बर हुँ , सोधुँ सोधुँ लाग्छ, कैले लहर आदि लोकप्रिय छन् ।

अरु गीतहरु सुन्न यहाँ क्लिक गर्नुहोस्

यस्तै अम्बरद्वारा संगीतबद्ध स्वदेशगानहरुमा ’रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो’, नेपालकी छोरी हुं म, मनको तार रेटी, यस्तै नेपाली चलचित्रका संगीतहरुमा जीवनरेखाका गीतहरु लोकप्रिय छन् ।

अम्बर गुरुङको जन्म २६ फेब्ररी १९३८ मा भारतको दार्जीलिंग लालढिकी भन्ने ठाउँमा पिता उजिरसिङ गुरुङ् र माता रेणुकादेवी गुरुङ्का सुपुत्रका रुपमा भएको थियो ।

पाश्चात्य तथा पुर्बिय संगीतको गहिरो अध्ययन गरेका उनले आफ्नो गला र कलालाई नेपाल र नेपाली माटो प्रति समर्पित गरे । अम्बर आफ्नी प्राण प्यारी आमा रेणुकादेवीको प्रेरणाबाट सङ्गीत क्षेत्रमा हेलिएका हुन् । त्यसो त उनका बुवा उजिरसिंह गुरुङ्ले उनलाई यो क्षेत्रमा स्थापित गर्न ठुलै तागत र उर्जा थपेका छन् । पिता उजिरसिङ ब्रिटिस ईन्डियन आर्मीका पुर्व सेना हुन ।

उनको पुर्ख्यौली थलो गोरखा जिल्ला हो । त्यहाँबाट उनका पिता दार्जीलिंग बसाई हुँदै सेनामा भर्ती भएका थिए । अम्बरको बाल्यकालदेखिकै गीत संगीत र साहित्य प्रतिको रुझान देखेर उनका पिताले उनलाई त्यसतर्फ नै अग्रसर गराए । उनले टर्नबुल स्कुल दार्जीलिंगमा पढे । उनी स्कुले जीवन देखिनै संगीतमा हेलिंदै गए ।

दार्जीलिंगमा रहँदा तन्नेरी उमेरमै साहित्यकार अगमसिंह गिरीद्वारा रचित ’नौ लाख तारा उदाए ’ सन् १९५० मा सङ्गीत गरे पछि यिनको सांगीतिक यात्राले नयाँ गति लियो । अगमसिंहले स्थापना गरेको भानुभक्त बिद्यालयको हेड मास्टर समेत बने उनि । संगीतको बिकास र आफूभित्रको क्षमता उजागर गर्नका लागि उनले दार्जीलिंगमा सङ्गीत एकेडेमी समेत चलाए ।

उक्त बिद्यालयमा अरुणा लामा, कर्म योन्जन, जितेन्द्र बर्देवा, पिटर कार्थक, ईन्द्र गजमेर, रंजित गजमेर, शरण प्रधान, रंजित गजमेर आदि नेपाली संगीतका आजका अब्बल कलाकारहरु उनि संग पढ्थे, सिक्थे सहकार्य पनि गर्थे । सांगीतिक सहकर्मिका रुपमा स्टेजहरुमा समेत सामुहिक रुपमा प्रस्तुत हुन्थे ।

संगीत भनेको गीतको स्थाई र अन्तरा बनाउनु या स्टेजमा गीत गाउनु मात्र हैन भन्ने बुझाईका साथ् उनि त्यसबेलादेखि नै बेथोबिन, मोजार्ट जस्ता बिश्व प्रसिद्ध शास्त्रीय संगीतकारहरुका बारेमा गहन अध्ययन गर्न थाले ।

अर्को तर्फ साहित्यको अध्ययनलाई पनि अघि बढाए । उनको सत्कर्म र सत्कार्यको उच्च मुल्याङ्कन पनि हुँदै गयो, दार्जीलिंगमा संगीतको विकास बिस्तार गरेवापत धेरै सम्मान र पुरस्कारहरुद्वारा सम्मानित गरियो ।

अम्बर गुरुङ संगीतमै डुब्ने एक अजिबका पात्र थिए ।

‘मलाई हार्मोनियम ल्याइदेऊ न, म बजाउँछु,’ उपचारमा हुँदा पनि उनी आफूलाई भेट्न आउनेलाई आग्रह गर्थे।

पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाइ ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकारलाई तत्कालिन राजा महेन्द्रले २०२६ सालमा नेपाल फर्काएका थिए।

महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर, जग्गा, सम्पति मागे । तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन् ।

‘ए कान्छा, ठट्टैमा यो वैँस जान लाग्यो’ जस्ता रोमान्टिक गीतदेखि ‘हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैँ फुटे…’ सम्मका वियोगान्त गीतको संगीत उनले भरेका छन् ।

नेपाल संगीत नाट्य एकेडेमीको पहिलो कुलपति गुरुङले हजार वटा जति गीत कम्पोज गरेका छन् त्यसमध्ये ६/७ सय वटा गीत उनकै शब्द र स्वरमा रहेको छ।

संगीतकै तागत र सामर्थ्यले दुनियाँलाई आफ्नो बनाएका अम्बर गुरुङगले नेपाली धर्तीलाई आफ्नैपनको सांगीतिक सुगन्धले सजाए । नेपाली संगीतको बिकाशमा उनको योगदान अतुलनीय छ ।

लोकतन्त्रको स्थापना पछि देशको राष्ट्रगानमा संगीत गर्ने महान अवसर प्राप्त गरेका यिनलाई राष्ट्रले समेत निकै गर्विलो र गौरवशाली जिम्मेवारी दिएकोमा उनले त्यसलाई सफलताका साथ् पुरा गरेर आफ्नो र राष्ट्रको नाउँ उचाईमा राख्ने कार्य गरे र उनी बाँचे सधैंका लागि । उनी अमर बने । अलविदा अम्बर ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु