समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

फेस त चकलेटी नै छ, शरीर पनि खतरै बनाउँदै छु : राजन 

नायक राजन कार्कीको पहिलो चलचित्र ‘छेस्को’ जेठ २१ देखि प्रदर्शनमा आएको छ । यसै सन्दर्भमा अनलाइन पत्रिकाको तर्फबाट सन्तोष परियारले उहाँसँग मैतीदेवी स्थित उहाँकै कान्तिपुर मोडल एजेन्सीको कार्यालयमा गरेको जम्काभेट ।

rajan karki jamkabhet

नमस्ते राजन जी, सन्चै हुनुहुन्छ ?
नमस्ते, हजुर सन्चै छु ।
तपाईले अभिनय गर्नुभएको चलचित्र ‘छेस्को’ आजदेखि प्रदर्शनमा आएको छ, कस्तो महसुस गरि राख्नु भएको छ ?
(हल्का हाँस्दै) एकदम रमाईलो लागि रहेको छ । ….. (एकछिन सोचेर) वास्तवमा भन्ने हो भने थारै डर पनि लागिरहेको छ, के हुने हो भनेर ।
अनि खाना खानु भयो त ? टेबलमा त थुप्रै चियाका कपहरु देखिराछु ?
(हाँस्दै) हजुर बिहानदेखि भेटघाटका लागि मान्छेहरु आइरहेका छन् । अनि फेरी चलचित्रले कस्तो व्यापार गर्ला ? दर्शकले कस्तो प्रतिक्रिया देलान् ? आदि आदि विषयले गर्दा खासै खाना खाइएको छैन, हल्का नास्ता गरें ।
यतिबेलासम्म बुझ्दा ‘छेस्को’ को प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?
धेरै जसो ठाउँमा हाउसफुल भइरहेको बुझेको छु । गोपीकृष्णमा अर्को हलमा पनि लिन लागेको भन्ने सुनेको छु ।
खबर पक्का हो त ? कि पत्रकारलाई हल्का गफ दिनु भाको ?
(हाँस्दै) हाहाहा, त्यस्तो होइन, जे खबर पाएँ त्यही भनेको हुँ ।
भनेपछि पक्का हो ?
हजुर पक्का ।
चलिसकेको शोबाट पाएको सफलताले कत्तिको उत्साहित बनाएको छ ?
बिहानको ठिकठिकै थियो, अहिलेको उत्साहजनक छ । समग्रमा ‘छेस्को’ले पाएका सफलताले उत्साहित छु ।
भनेपछि अब दर्शकले नेपाली फिल्म क्षेत्रको आउँदो स्टार राजन कार्की हो भनेर बुझ्दा हुन्छ ?
(हाँस्दै) त्यो त दर्शकहरुको हातमा छ । उहाँहरुको मायाले नै हामीलाई स्टार बनाउने हो । दर्शकको मनमा बास बस्ने मैले पनि मेहनत गरेको छु ।
अर्चना पनेरुको नामले यो फिल्मलाई कत्तिको सफल बनाउँला जस्तो लाग्छ ? अनि तपाईलाई कत्तिको फाइदा पुग्छ भन्ने सोच्नु भएको छ ?
म यो फिल्ममा नायक हुँ । मैले आफ्नो काम देखाउने हो । आफु सक्षम हुनुपर्छ, मेहनत गर्नुपर्छ सफल नहुने भन्ने कुरै छैन नि ।
अर्चना जी सँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
उहाँ राम्रो अभिनय गर्नुहुन्छ । म प्रति उहाँको व्यवहार राम्रो छ । अब अरुसँग कस्तो गर्नुहुन्छ मलाई थाहा छैन तर मसँग उहाँको केमेस्ट्री मिल्छ, सँगै काम गर्दा रमाइलो नै भयो ।
अनि केही तस्विर र शुटिङ्ग रिपोर्टहरु हेर्दा त दुई जना बीच केही केही छ जस्तो लाग्यो नि ?
(थोरै रिसाउँदै) यो तपाईको ‘केही केही’ भन्ने शब्द नै मैले अलि बुझिन, स्पष्ट सोध्नुस् न ।
यसो हुन्छ नि काम गर्दै जाँदा केही नजिकपन, मिलाएर बुझ्नुस न, यसो के लभ–सभ, रोमान्स टाइप के ?
उहाँले म प्रति गर्ने व्यवहार राम्रो छ । सबै साथी भएर हामी यतिका समय एउटै टिममा काम गर्यौ त्यही साथी बीचको माया हो । त्यो बाहेक व्यक्तिगत त्यस्तो केही छैन ।
अनि ‘छेस्को’ टिमका अरु सदस्यहरुसँगको सहकार्य कस्तो रह्यो ?
सबै एकदम राम्रो हुनुहुन्छ । पिकनिक मनाए जस्तो महसुस भएको थियो । मतलब धेरै दुःख गरियो तर रमाइलो नै महसुस भयो ।
बजारमा त राजन कार्कीले पहिलो फिल्म रिलिज हुन नपाउँदै अर्को फिल्म साइन गरिसक्यो भन्ने हल्ला छ नि ?
(हल्का मुस्कान) हजुर, तपाईले सहि सुन्नु भयो ।
सुनेर खुशी लाग्यो । त्यो विषयमा केही भन्न मिल्छ कि ?
सबै त अहिले भन्न मिल्दैन तर यति भन्छु कि त्यसको काम आउँदो मंसिरबाट शुरु हुँदैछ । एक्शन लभ स्टोरी फिल्म हुने भएकोले म आफ्नो शरीरलाई छुट्टै शेप दिने तयारीमा छु ।
भनेपछि त जिम–सिम जाने भइयो, कस्तो बनाउने हो त बडी, खतरा ?
(मज्जाले हाँस्दै) तपाईको खतरा शब्द सुनेर नै खतरा लाग्यो । अब कहानीको डिमाण्ड हुन्छ । अनि फेरी फेस त चकलेटी नै छ, शरीर पनि खतरै बनाउँदै छु, चकलेटी टाइप बडी ।
हुन्छ राजन जी यो व्यस्तताका बावजुद पनि समय दिनु भयो खुशी लाग्यो, केही कुरा छन् छुटपुट ?
नेपाली चलचित्रलाई माया गरदिनु हुन सबैमा अनुरोध गर्दछु । साथै ‘छेस्को’ मेरो पहिलो चलचित्र भएका हुनाले माया गरिदिनुहोला साथै देखिएका कमि कमजोरीहरुलाई पनि औंल्याई दिनुहोला भन्ने सबैसँग आग्रह गर्दै अनलाइन पत्रिकाको टिमलाई धेरै धेरै धन्यवाद दिन चहान्छु ।

तस्बिर : कौशिक बस्नेत

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु