समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

“को बहुला यहाँ आएर काम गर्छ त ?” विराज बिष्ट, नेता, राप्रपा–नेपाल 

biraj bista-

झण्डै ६ महिना सहायक मन्त्री रहनु भएको तपाईलाई हठात मन्त्रीबाट बर्खास्त गरिएको छ, कस्तो महसुस भइरहेको छ ?
मलाई त त्यस्तो खासै असजिलो महसुस भएको छैन । मैले यसलाई हलुका र स्वभाविक रुपमा नै लिएको छु ।

कमल थापाले यसरी तपाईलाई हठात हटाउने निर्णय गर्नुका कारण के–के होलान् ?
सहअध्यक्ष केशरबहादुर बिष्टज्यूले जुन विषय उठाएर वक्तव्य दिनुभएको थियो, त्यो एकदम जायज थियो । वक्तव्यमा उहाँले पार्टी सञ्चालन, आन्तरिक प्रजातन्त्र, वाक स्वतन्त्रता व्यक्तिगत स्वतन्त्रता जस्ता गहिरा र जायज विषयहर उठाउनु भएको थियो । यो कुरा उठाएकै कारण उहाँलाई पनि पार्टीले कार्वाही गर्यो । म उहाँको छोरो भएकोले मानिसहरुले मेराबारे पनि अनेक कुरा गर्न थाले । यहीकारण उहाँ मलाई हटाउने निर्णयमा पुग्नु भएको हो जस्तो मलाई लाग्छ । तर, बुबा कार्वाहीमा परेपछि व्यक्तिगत रुपमा मलाई मन्त्रीमा रहिरहन रमाइलो चाहि भइरहेको थिएन ।

मन्त्री पदमै बसेर पार्टी अध्यक्षको विरोध गर्दा पद धरापमा पर्छ भनेर डर लागेन ?
हाम्रो पार्टीमा व्यक्तिवादी चरित्र संस्थागत हुँदै गएको छ । यस्तो चरित्र हावी भएको पार्टीमा हामी जस्तो पढेलेखेको मान्छे र अरु आउने मान्छेको संरक्षण गर्न नसकिने अवस्था सिर्जना भएकाले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ मैले यसको विरोध गरेको हुँ । पार्टीका रहेका हामी जस्ता मान्छेहरुको राजनीतिक भविष्य जोगाइराख्न पनि यस्तो गर्नु जरुरी भइसकेको थियो ।
मलाई पार्टीले मन्त्रीबाट बर्खास्त गरेको छ । तर, म बर्खास्त गर्नुअघि नै राजीनामा दिने सोचमा पुगिसकेको थिएँ । २–३ साता त राजीनामा खल्तीमै हालेर हिंडेको पनि हुँ, पायक पर्ने बेला राजीनामा दिने सोच राखेर । प्रधानमन्त्रीलाई सोध्दै नसोधी प्रधानमन्त्रीको घरमै पनि गएँ, तर भेट हुन सकेन । प्रधानमन्त्री कार्यालयमा पटक–पटक भेटका लागि समय मिलाइदिनुपर्यो भनेर आग्ह गरे, तर सम्भव नै भएन । कमल थापालाई पनि भेट्न खोजे, त्यो पनि सम्भव नभएकाले मैले खलतीमा राजीनामा बोकेर धेरै दिन हिंडे । पछि घटनाक्रम यसरी बदलियो कि नेतृत्वले मलाई अति नै असहिष्णु व्यवहार गर्दै पेल्न थाल्यो । त्यसपछि भने म पार्टीले कार्वाही गरेरै निकालोस् भन्ने निष्कर्षमा पुगेर राजीनामा नदिई बसिरहे । यही बीचमा मेरो बर्खास्तको निर्णय पार्टीले गर्यो र म हटे ।

संविधान कार्यान्वयनका लागि गठन भएको सरकारको मन्त्री भएर संविधानको खिलाफमा उत्रिदै राजतन्त्र मागेर सडकमा उत्रिनु भयो । एउटा मन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्ति सपथ विरुद्ध यसरी सडकमा उत्रिन मिल्थ्यो त ?
मिल्थ्यो, संविधानले मलाई मेरो निजी विचार राख्न अधिकार दिएको छ । अहिले जस्तो व्यवस्था भएपनि मैले मेरो कुरा स्वतन्त्ररुपमा राख्न पाउनुपर्छ । संविधानले पनि के ग्यारेन्टी गरेको छ भने कुनै पनि विचार या शासन प्रणाली सत्यसिद्ध होइन, समयानुकूल परिवर्तन गर्न सकिन्छ । यो कुरा संविधानमा किटान गरेर लेखिएको छ । त्यसैले मन्त्री भएर पनि राजतन्त्र मागदै हिंड्यो भनेर दोष लगाउनु मिल्दैन ।

तपाईले भाषण चाहि के गर्नु भएका थियो नि ?
मैले सम्हाल्दै आएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नियमित काम हो – सरसफाई र फोहोर व्यवस्थापन । मन्त्रालयकै कार्यक्षेत्रमा यस्तो काम पर्न भएकाले म सरसफाईको लागि कहीं न कहीं गइरहेको हुन्थे । यस्तैमा नारायणहिटी सफाई गर्ने कुरा आयो, साथीहरुले बोलाउनु भयो, म गएँ । भाषण गर्दा आफ्नो विचार राखेको हुँ । संवैधानिक राजसंस्था चाहिन्छ भन्ने भाषण दिदै सफाई गर्दा सरकारमा रहेका पार्टी र हाम्रो पार्टीलाई मन परेन ।

तपाईहरुको खास विवाद के हो ?
हाम्रो पार्टीमा नेतृत्वले दिएको वैचारिक कुरा मात्र बोल्न पाउने, केन्द्रीय सदस्यको हैसियतले बोल्न र यसो गरौं भन्ने नपाइने । नेतृत्वले जे भन्यो त्यही खल्तीमा हाल्नुपर्ने भनेजस्तो छ । अहिलेको हाम्रो पार्टीभित्रको समस्याको जड नै यही हो । हामी विचारको गरीब हो र हामीले आफ्नो मनको कुरा राख्न नपाउने ? हामी वैकल्पिक प्रजातान्त्रिक शक्ति भनिराखेका छौं । तर, हाम्रो पार्टीभित्र नेतृत्वमा व्यक्तिवादी प्रवृति यसरी हावी भएका छ कि मैले भनेकै कुरा र काम लागू हुनुपर्छ, त्यस अलावा बोल्न पाइदैन भनेजस्तो छ । यस्तो भयो भने सीमित विचार र वर्गका मान्छेहरु मात्र हावी हुन्छन् । राष्ट्रिय चरित्रको पार्टी त यसरी बन्दैन । बहुविचारलाई स्थान नदिएर म मात्रै हुनुपर्छ भनियो भनेको बहुला यहाँ आएर काम गर्छ भन्नु त ? यो त राणा शासन जस्ता भइहाल्यो नि । मेरो संसारभरिको अध्ययनले के देखाउँछ भने जब पार्टीभित्र आन्तरिक प्रजातन्त्र हुँदैन, गुटबन्दी स्वभाविक रुपमा हुन्छ । आफू सुरक्षित हुनका लागि यस्तो अभ्यास हुन्छ । अहिलेको खास विवादको जड नै यही हो ।

अब कसरी अघि बढ्नु हुन्छ त ?
अहिले हामी पार्टीलाई फुटाउन लागिरहेका छैनौ, राप्रपाबाट फुटेका ५–६ वटा शक्ति र अन्य प्रजातान्त्रिक समूहलाई एकीकृत बनाएर अघि बढ्ने सोचका साथ काम गरिरहेका छौं । अहिले यसैका लागि हामी घनिभूत छलफलमै छौं ।

८) राजतन्त्र र हिन्दू राज्यबारेको तपाईहरुको धारणा चाहि के हो नि ?
राजतन्त्र र धर्मनिरपेक्षता हल्का विषय होइन । यसको गम्भीरतालाई बुझेर सबैले सोच्नु पर्छ जस्तो लाग्छ मलाई । मैले पटक–पटक भन्ने गरेको छु हिजो रत्नपार्कमा यो भएन भनेर कराउँदा नारायणहिटीले सुन्थ्यो । तर, अहिले आएर सबैले नयाँ दिल्ली दौडाहा गर्नुपरेको छ, विदेशीको इशारामा चल्नुपरेको छ । सार्वभौमसत्त देश बाहिर गइसकेपछि फुटबल बिनाका दगुर्ने खेलाडी जस्तो भएका छौं हामी । निर्देशन दिने बाहिर छ, हामी आदेश पालक भएका छौं । यतिबेला देशमा राजतन्त्र भइदिएको भए देशले यस्तो लाजमर्दो अवस्था झेल्नुपर्ने थिएन भन्ने मत हाम्रो हो । धर्म परम्परा हामं्रो पहिचान भएकाले हामीले आफ्नो पहिचान मेटाउनु हुँदैन भन्ने हाम्रो धारणा हो ।

९) प्रसंग बदलौं, ६ महिना संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री हुनुभयो, अनुभव कस्तो रह्यो ?
नयाँ मान्छे त्यहाँ पुग्दा निश्चय नै नयाँ अनुभूति भयो । राज्य संयन्त्रले कसरी काम गररहेका छन् भन्ने कुरा मैले यो पिरियडमा सिक्ने मौका पाएँ । भोलिका दिनमा यस्तो जिम्मेवारीमा पुगे भने कसरी काम गर्नुपर्ने रहेछ भन्ने नयाँ दृष्टिकोण बनाउने मौका मन्त्री पद सम्हालेपछि पाएको छु । ६ महिनामा जे–जे काम समपन्न गरें त्यो आफ्नो ठाउँमा छ तर देशभरबाट नयाँ नयाँ योजनाहरु बजेटमार्फत ल्याउने सोच थियो, तर, त्यसो गर्न नपाउँदा दुःख लागेको छ । ६ महिनाको दौरानमा परिपक्व धारणा र विचार राख्न सक्ने भएको छु ।

१०) एउटा विभागमा खुम्च्याएर राखियो भनेर भन्नुभयो, यसको कारण के होला ?
कमल थापा प्रायः कार्यकर्तालाई भेट्ने हुँदैन भनेजस्तो व्यवहार देखाउनु हुन्छ । कतिसम्म भने उहाँले कार्यकर्ताहरुलाई केही मिनेट भेटेर व्यस्त छु भन्ने गर्नुहुन्छ । तर, म भने एउटै मान्छे भएपनि ऐन नियम कानूनले के भन्छ भनेर कर्मचारी बोलाएर परामर्श गर्र्थें । धेरै जिल्लाका जनताले मलाई मेरो काम गर्ने कार्यशैलीका कारण धन्यवाद पनि दिनुभएको थियो । यही कारण पनि उहााले नरुचाउनु भएको हुन सक्छ ।

११) मन्त्रीहरु आर्थिक चलखेलमा लागे भनेर धेरै गुनासो आयो नि तपाईको कार्यकालमा । खासमा कुरा के हो ?
हो मैले पिन यस्ता कुरा सुनेको कुरा हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु