समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

जेभियर्समा भर्नाका लागि ‘ठूला’का जोडबल 

imagessxcललितपुर, २४ चैत्र । ललितपुरको जावलाखेलमा संचालित सेन्ट जेभियर्स स्कूलमा हरेक वर्ष भर्नाका लागि महाभारत हुन्छ । यो वर्षपनि भर्ना फाराम खुलेकै समयबाट यस्तै कथा शुरु भयो । भर्ना गराउन पावरवालाहरु दिनरात धाए । विगतदेखि चल्दै आइरहेको यो परम्पराले यो पटकपनि निरन्तरता पायो । फाराम खुलेर जाँच नहुँदै नम्बर बोकेर नेपाल सरकारका ठूला दुई मन्त्रीहरू र सचिवस्तर कर्मचारीहरूले जेभियर्समा पुगेर नाम र नम्बर बुझाउन भ्याए । कर्मचारी स्रोतले अनलाइन पत्रिकालाई दिएको जानकारी अनुसार दुई पटक जेभियर्स पुगेका मन्त्रीहरू झन्डा छोपेर भित्र पसेका थिए ।

ललितपुरकै सरकारी मातहतका कर्मचारीहरू, जेभियर्सका शिक्षकशिक्षिकाहरुले पनि आफ्ना नातेदार र छरछिमेकका बाबुनानीलाई भर्ना गराउन भनसुन र पावर लगाए । जेभियर्समै कार्यरत केही शिक्षकहरूले हरेक वर्ष आर्थिक लाभका लागि चलखेल गर्ने गरेको आरोप छ । जेभियर्सभित्रै कार्यरत एक शिक्षकका अनुसार भर्नाका लागि आर्थिक चलखेल हुने गरेको दावी समेत गरे । यसले हामीलाई समेत दाग लगाएको छ । जेभियर्सका जिम्मेवार पदाधिकारीले आर्थिक सहयोग र पैसा दिएर भर्ना हुने गरेको कुरा झुठो भएको बताए । उनले भने, ‘कसले पैसा खाएर भर्ना गराएको हो, खबर गर्नुस् । हामी कारवाहीको लागि तयार छौं ।’

गत सालपनि शिक्षामन्त्री चित्रलेखा यादवले तीनपटक धाएर दुई जनालाई भर्ना गराउन सफल भएको थियो । यस्तै पार्टीगत ठूला नेता, जिल्ला कार्यकर्ताहरू समेतले भर्नाका लागि जेभियर्स पुगेर पावर र भनसुन गर्न बाँकी राख्दैनन् । भर्नाका लागि नाम चलेका पत्रकारहरूले पनि पावर प्रयोग गर्ने गरेको छ । कतिले प्रहरीको सहयोगमा पनि भर्ना गराउने गरेको पाइएको कर्मचारी स्रोतले बताए । यस्तै सेन्ट मेरिजमा पनि जेभियर्समा जस्तै चलखेल हुने गरेको छ । यसबारेमा जेभियर्सका प्रिन्सिपलसँग सम्पर्क गर्न खोज्दा उनको सम्पर्क नम्बर स्विचअफ थियो । यो वर्षको रिजल्ट भोली बिहिबार प्रकाशित हुँदैछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु