कन्जुस्याईँ नगरौं, खुलेरै हाँसौं

santosh pariyar article 2
सन्तोष परियार
loading...

२१ औं शताब्दीसम्म आइपुग्दा बालुवा र सिमेन्टको जंगलमा परिणत हुँदै गएको छ, हाम्रो संसार । मानिसहरुको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । अन्तरिक्षमा घर बनाउने सपना बोकर मानिसले आफूलाई असाध्यै व्यस्त बनाउँदै लगेको छ । तर यस्तै यस्तै व्यस्तताको चटारोमा मानिसले जीवनका साना–साना खुशी र रमाइला क्षणहरुलाई भने बिर्सिदैं गएको छ । अहिलेको मानिसले अरु त अरु हाँसोलाई पनि बिर्सदै गएको छ ।
मुस्कुराउनु, हल्का हाँस्नु अथवा खित्का छोडेर हाँस्नु – यी हाँसोका विभिन्न रुपहरु हुन् । ‘स्वास्थ्य जीवनका लागि हाँसो नै सर्वोत्तम र निःशुल्क औषधि हो’ भन्ने भनाईलाई अहिलेको मानिसले जानेर वा नजानेर आत्मसात् गर्न सकिरहेका छैनन् ।
हाँस्नलाई कुनै शुल्क लाग्दैन, यसका लागि कुनै विशेष तालिम पनि चाहिदैन, यसलाई जुनबेला जहाँ पनि र जसरी पनि प्रयोग गर्न सकिन्छ, तर पनि मानिसहरु हाँस्न कन्जुस्याईं गर्दछन्, किन ? यदि हाँसोको महत्व बुझ्ने हो भने हाम्रो सोच धेरै हदसम्म सकारात्मक बन्न सक्छ र व्यवहारिक रुपमा पनि हामी धेरै सफल हुन सक्छौं । किनभने, हाँसोले एकातिर समाजमा हाम्रो छवि नै अलग बनाउँछ भने अर्कोतर्फ समस्याहरुलाई सजिलैसंग सामना गर्ने शक्ति पनि हाँसोमा हुन्छ । त्यसका साथै रोग लाग्नबाट बच्न पनि हाँसोले धेरै नै सघाउँछ ।
जब हामी खुलेर हाँस्छौं हाम्रो शरीरमा कम्पन पैदा हुने गर्छ । जसरी बिहान उठेर दगुर्दा, व्यायाम गर्दा हाम्रो शरीरका बाहिरी अंगहरुको कसरत हुन्छ, त्यसरी नै हाँस्नाले शरीरका भित्री अंगहरुको पनि कसरत हुने गर्छ । त्यसैले भन्ने गरिन्छ, हाँसो नै शरीरको अतिरिक्त व्यायाम हो । खुलेर हाँस्दा हाम्रो डायफ्राम खुम्चने–तन्कने गर्दछ, जसका कारण भित्री अंगहरु कलेजो, फोक्सो, आन्द्रा आदि खुम्चने–तन्कने गर्दछन् ।
मज्जाले हाँस्नाले शरीरमा सेरोटिन हर्मोनको मात्रा बढ्छ, जसले गर्दा हाम्रो शरीरभित्र सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले हाम्रो आन्तरिक शक्तिलाई जगाएर हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्छ । खासगरी विवाह समारोह जस्ता उत्सवहरुमा के देखिन्छ भने राम्रोसंग हिंड्न पनि नसक्ने वृद्धवृद्धाहरु पनि छमछमी नाच्छन् । यो शक्ति उनीहरुमा कसरी पैदा हुन्छ ? यो हामीमाझ जहिले पनि सोचनीय विषय हुने गर्दछ । कुरा के हो भने हाँसो–खुशीको भावले उनीहरुको शरीरमा यस्तो सकारात्मक ऊर्जा पैदा गर्दछ, जसले उनिहरुको बुढो हड्डीमा, उनीहरुको कमजोर शरीरमा पनि तागत ल्याइदिन्छ र उनीहरुको शरीरमा बिल्कुलै फरक उत्साह, जोश ल्याइदिन्छ । जसले गर्दा उनीहरुको शरीरमा केही समयका लागि तागतको प्रवाह हुन्छ । यस्ता समारोहहरुको समाप्तीपछि भने उनीहरु विस्तारै फेरि पहिलेकै अवस्थामा आउने गर्दछन् ।
कुनै–कुनै बेला बिना कुनै कारण नै हाम्रो शरीरमा आलस्यता छाउँछ । केही गर्न मन नलाग्ने, त्यसै त्यसै नैराश्यता छाउने हुन्छ । यो एकखालका नकारात्मक सोचाइको परिणाम हो, जसको सीधा सम्बन्ध हाम्रो अवचेतन मस्तिष्कसंग हुन्छ । लगातार असफलता, समस्या र अप्ठ्याराहरुले हाम्रो अवचेतन मस्तिष्कमा एउटा खालको नकारात्मक भाव पैदा हुने गर्दछ । यसले गर्दा मस्तिष्कमा केही नकारात्मक हर्मोनहरु उत्पन्न हुन्छन् । ती मध्ये कोर्टिसोल हर्मोन एक हो । कोर्टिसोलको मात्रा बढ्नाले हामी भित्र नकारात्मक भाव उत्पन्न हुने मात्र नभई एक खालको उकुसमुकुस पनि हुने गर्दछ । यसले हाम्रो ब्लडप्रेसर असन्तुलित बनाउँछ । कोर्टिसोलको मात्रा अझै बढ्दै जाँदा श्वास–प्रश्वास प्रक्रियामा पनि समस्या आउने गर्दछ ।
हाँस्दाखेरि हाम्रो मस्तिष्कमा यस्तो खालको हार्मोनहरुको जन्म हुन्छ जसले कोर्टिसोलको मात्रालाई कम गराइदिन्छ । त्यसैले, आफूलाई स्वस्थ राख्नका निम्ति त सर्वप्रथम आफू खुशी रहने कोसिस गर्नुपर्दछ । मुस्कुराएर होस्, हल्का हाँसेर होस् अथवा मज्जाले हाँसेर होस् हाँसोलाई आफ्नो दैनिक र हाँस्ने प्रक्रियालाई आफ्नो जीवनकै एउटा अनिवार्य भाग मानेर चल्नुपर्दछ ।
हाँसो शरीरका लागि सर्वोत्तम औषधि हो । हाँस्नु प्राकृतिक सौन्दर्य प्रशासन पनि हो । हाँसो नै तपाई–हाम्रो अमूल्य सम्पत्ति हो । त्यसैले आगामी दिनमा हाँस्न कत्ति कन्जुस्याईँ नगरौं । खुलेरै हाँसौं ।

तपाईंको प्रतिकृया
Loading...