समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

तामाका भाँडाकुँडा बनाएर पन्ध्रजना परिवार धान्दै 

loading...

कञ्चनपुर, २२ भदौ । परम्परागत सीपको प्रयोग गरी तामाका भाँडाकँुडा बनाएर कञ्चनपुरको दैजी–५ चौँरीका डम्बर ताम्राकारले १५ जनाको परिवारको खर्च धान्दै आउनुभएको छ । पहाडबाट एक दशकअघि तराई फिर्दा ताम्राकारसँग बाजेबाट सिकेको सीपबाहेक कमाइखाने अर्को विकल्प थिएन ।

सडक छेउमै छाप्रो बनाएर बस्दै आएको ठाउँमा आरन राखी तामाको कार्य गर्न थालेपछि उनको जीवनशैलीमा परिवर्तन आएको हो ।

तामाका सामग्री बनाएर आएको आम्दानीले घर घडेरी जोड्न सकेको छु, उहाँले भन्नुभयो – “श्रीमती, तीन छोरा, एक छोरी र नातिनातिना गरी १५ जनाको परिवारका लागि कमाइको साधन यही आरनबाट बन्ने तामाका भाँडाकुँडाको बिक्री हो ।”

भाँडाकुँडा बिक्री गरेर आएको आम्दानीले ताम्राकार परिवारले वर्षभरिका लागि पुग्ने गरी अन्न खरिद, लत्ताकपडा, औषधोपचार खर्च र बालबालिकालाई विद्यालय पठाउने खर्च व्यहोर्दै आएका छन् ।

घरकै आँगनमा राखेको आरनमा तामाका माना, पाथी, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरु ताम्राकारले बनाउँदै आउनुभएको छ । नजिकैका महेन्द्रनगर, दैजी र झलारी बजार क्षेत्रमा तामाबाट निर्मित सामग्री सहजै बिक्री हुने गरेका छन् । “ग्राहकको माग बमोजिम तामाका भाँडाकुँडा बनाउँदै आएकाले माग अत्यधिक हुने भएकाले कार्यको चाप अत्यधिक रहने गरेको छ” – उहाँले भन्नुभयो । कम्तीमा रु दुई हजारदेखि रु १० हजारसम्म निर्मित वस्तुहरुको मूल्य हुने गरेको छ ।

सामग्री बेचेर रु ३५ हजार देखि रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । दैनिक ताम्राकारका बाबु छोराले दशभन्दा बढी तामाका सामग्री बनाउने गरेका छन् । तामाको भाउ छ महिनाअघिसम्म प्रतिकिलो रु एक हजार ८०० सम्म रहेकामा बढेर हाल रु दुई हजार ४०० पुगेको छ ।

पुरानै दर रेटमा ग्राहकले तामाका सामग्रीको माग गर्ने भएकाले सम्झाउन र सामग्री बेच्न कठिन भएको उहाँको भनाइ रहेको छ ।

कैलालीको अत्तरिया बजार र महेन्द्रनगरबाट ताम्राकारले तामा खरिद गरेर आरनमा राखी भाँडा बनाउने गर्नुभएको छ ।

“बजारमा माग हुँदै आए बमोजिमका धातुका वस्तुहरु निर्माण गर्ने सीप सिकाइ व्यवसाय विस्तार गर्नका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने हुन्छ” – डम्बरले भन्नुभयो ।

परम्परागत सीप भएका व्यक्तिहरु आधुनिक वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आएकाले पुरानो सीपको जगेर्ना गर्दै नयाँ सीप सिकाइनुपर्ने ताम्राकारका छोरा दानबहादुरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “नयाँ सीप नहुँदा परम्परागत तरिकाले बनाएका भाँडाकुँडा बिक्री हुँदैनन्, त्यसैले लगानी डुब्ने डरमा धेरैले पेसा नै छाडेका छन् ।” उहाँका अनुसार परम्परागत सीपको प्रयोग गरी भाँडाकुँडा बनाउनेको सङ्ख्या यहाँ तीन दर्जनभन्दा बढी रहेको छ । रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु