‘पैसा हुने पनि चढ्नुस, नहुने पनि चढ्नुस्’

loading...

काठमाडौँ, ३२ साउन । वैद्य नेतृत्वको नेकपा–माओवादीले गरेको बन्दका दिन आइतबार मध्यान्ह ठेलाम ठेल यात्रु बोकेको बा२ख ९५१५ नम्बरको कार्य विनायक यातायातको बस नयाँ वसपार्कतर्फबाट हुइँकिदै चाबहिलको सुकेधारामा रोक्कियो । प्रहरी बिटनजिकै रोकिएको बसबाट ओर्लिएर खलासी भाइ कराउन थाले, ‘चाबहिल, गौशला, कोटेश्वर, कोटेश्वर……।driver

अरु दिन सयौं गाडी गुड्ने चक्रपथमा आइतबार फाट्फुट्मात्र यात्रुबस गुडिरहेका थिए । वैद्य माओवादीले गरेको बन्द कारण धेरै सवारी साधन ग्यारेजमा थन्क्याइएका थिए । यात्रुले भरिएको बसमा चढेपछि कालो छेउमा धर्का भएको टिसर्ट र मास्कले मुख ढाकेका ३२ वर्षीय ड्राईभर नकुल सापकोटा स्टेरिङ घुमाउँदै गरेका भेटिए ।

सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका उनले स्टेरिङ बटारेकै १५ वर्ष भइसकेछ । तर, बन्दमा भने पहिलो पटक उनी गाडी हाँकिरहेका थिए । बन्दकै बीचमा बसपार्कबाट कोटेश्वरमा दुई ट्रिप यात्रु ओसारिसकेका उनले सडक आसपासका क्षेत्रमा कतै पनि बन्दकर्ता देखेनन् ।

‘दुई ट्रिप यात्रु ओर्सादा कोटेश्वरमा १० जना बन्दकर्ता भेट्टाएँ, उनीहरुले केही भन्ने आँट गरेनन्’, यी आँटिला ड्राईभर दाइले जोशिलो स्वरमा भने, ‘बन्द गरेर समस्याको समाधान हुँदैन । देश घाटामा पर्नु भनेको जनता आफैं डुब्नु हो ।’

हुन पनि उनले भनेजस्तै सुकेधारादेखि तीनकुने गैह्री गाउँसम्म आइपुग्दा एकजना पनि बन्दकर्ता सडकमा देखिएनन् । देखिएका थिए त केबल गन्तब्यमा पुग्न आतुर सयौं यात्रु जो गाडीका प्रतिक्षामा थिए ।

गाडी नकुदाइ पेट भरिन्न
पहिलो पटक बन्दमा गाडी हाँकिरहेका उनलाई बन्दकर्ताले गाडीमा आगो झोस्लान् भन्ने चिन्ता पनि उत्तिकै छ । अर्कातिर गाडी नचलाउँदा परिवार भोकै हुने चिन्ता पनि ।

‘गाडी जलाउँछन् भन्ने डर त छ नि । भूकम्पले केही बचेको छैन । खाने ठाउँ छैन, सुत्ने ठाउँ छैन, डर मानेर चाँहि के गर्नु ?’, उनले भने, ‘परिवार नपाली हुन्न मर्न लेख्या भए अस्ति भुइँचालोले किचेर मरिसकिन्थ्यो, अब बाँचियो डर छैन, मरे पनि मरियोस भनेर गाडी चलाएँ ।’

सहचालकले यात्रु ओराल्दै चढाउँदै गर्दा उनी सुनाउदै थिए, ‘बन्द कसले र किन गरेको भन्ने पनि थाहा छैन, बन्द गरेर कुनै काम पनि छैन ।’ सिन्धुपाल्चोकबाट सुन्दर भविष्य बनाउन बालककालमै काठमाडौं छिरेका उनी पत्नी र दुई छोरासहित चाबहिलमा बस्दारहेछन् । बन्दका दिन गाडी ग्यारेजमा थन्क्याएकाले पत्नीलाई ढाँटेर घुम्न जान्छु भनी गाडी हाँक्न निस्केको उनले सुनाए ।

‘सबैजसो रुटमा गाडी कुदाइसकेको छु । बन्दमा पहिलो पटक गाडी कुदाउँदैछु, अब डरभर केही छैन’, उनले भने, ‘पत्नीलाई भनेर गाडी चलाउन निस्केको होइन । बन्दकर्ता कोटेश्वरमा मात्र भेटेकाले अझै केही ट्रिप चलाएर गाडी थन्क्याउँछु ।’

बन्द सधैंलाई बन्द गर्न नेता फेरौं
बन्दले आफू जस्ता गरिखानेहरु सबैभन्दा मारमा परेको उनको बुझाइ छ । नेताहरु कोठामा बियरको चुस्की लिँदै बन्द गरेर जनतालाई सास्ती दिइरहेको उनी बताउँछन् । बन्दलाई सधैंका लागि बन्द गर्न अहिलेका सबै नेतालाई हटाउनुपर्ने ड्राईभर दाइको भनाइ छ ।

‘बन्दलाई सधैंलाई बन्द गर्न पुष्पकमल, बाबुराम, सुशील र ओलीजस्तालाई हटाएर नयाँलाई नेतृत्व दिनुपर्छ’, उनी भन्छन्, ‘एमाले कांग्रेस माओवादी सबैले छोडेपछिमात्रै देश सफल हुन्छ । यिनीहरु हुनजेल जनताले सुख पाउँदैनन् ।’

देशमा असुरक्षा बढेकोमा उनलाई चिन्ता लागेको रहेछ । असुरक्षा र बन्दले मजदुरलाई मारिरहेको उनी बताउँछन् । ‘देशमा राजाकै सुरक्षा भएन अरु कसको सुरक्षा होला र ?’, उनले तितो पोखे, ‘देशमा शान्ति सुरक्षा र जनताको संविधान दिन नयाँ नेता चाहिएको छ । अनिमात्र केही होला ।’

पैसा नहुनेलाई पनि बोक्छु
गाडीको स्टेरिङ घुमाइरहे पनि उनी समसामयिक सूचना र राजनीतिबारे धेरै चासो दिन्छन् । पैसा लिएर यात्रु बोके पनि सेवाभाव भने नभुलेको उनले सुनाए । आफ्नो गाडीमा अफ्ठेरोमा परेका सयौं मानिसलाई सित्तैमा चढाएको पनि उनले सुनाए ।

‘आज केही ट्रिप गरेर गाडी राख्छु । पैसा हुने पनि चढ्नुस, नहुने पनि चढ्नुस्’, उनले यात्रुतिर इसारा गर्दै भने, ‘तर पैसा छैन भने पहिले नै भन्नु होला । यस्तै आपतको बेलामा त हो नि सहयोग गर्ने ।’

बन्दका दिन सुकेधाराबाट शुरु भएको बा२ख ९५१५ नम्बरको यात्रु बसको यात्रा गैह्री गाउँमा सकिन लाग्दा ड्राईभर दाइ कराए, ‘ए भाइ यी सरलाई भाडा नलिनु है’, अन्नपूर्णकर्मी बसबाट ओर्लेपछि खलासी भाइले भने, ‘खोइ भाडा दिनुस त ।’

खलासी भाइलाई २० रुपैयाँ भाडा बुझाएर म नजिकैका कार्यालयतिर लागें । बस कोचाकोच यात्रु लिएर तीनकुने तिर हुइँकियो । मनमा लागिरह्यो, बन्दका दिन यात्रुको सेवा गर्ने यी हँसिला ड्राईभर दाइको बसमा आगो झोसे भने… अन्नपुर्ण पोष्ट

तपाईंको प्रतिकृया
Loading...