समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

ग्रामिण सहकारीबाट पाठ सिक्न सक्नु पर्छ 

[तुलसी सुवेदी]

एक्लै हिडे के हो, के हो, सँगै हिडे अवश्य पुगिन्छ भनेझैँ एक्लै हिँडेर आर्थिक विकासले गति लिन सकिदैँन । त्यसकारण नै विश्वमै सहकारीको अवधारण आएको हो । तर नेपालको सहकारी विकास क्रमलाई हेर्दा अधिकांश सहकारी साहुकारी भएका छन् । जसले बैंक भन्दा पनि चर्को ब्याज लिएर सदस्यको चरम शोषणा गरिरहेका छन् । खासगरी काठमाडौंलगायत अधिकांश शहरमा खोलिएका सहकारीले पैसाको किनबेच गर्ने काम बाहेक अरु केही गर्न सकेका छैनन् । जसले सदस्य एंव गैंर सदस्यलाई ऋण दिदाँ २५ प्रतिशत बढीमा ऋण दिई चरम शोषण गरिरहेका छन् तर ग्रामीण क्षेत्रमा खोलिएका सहकारीले सदस्यको सेवासँगै कृषि काममा खटिएका छन् । ती सहकारीबाट यहाँका सहकारीले किन नसिक्ने ?

सहकारीमा समूहिक भावना अनुरुप सबै गतिविधि अगाडि बढ्छन् । तर पछिल्लो समयमा सहकारीमा विकृती आएको छ । अधिकांश सहकारी प्रालिका रुपमा सञ्चालित छन् । अझ शुक्षम ढंगले विश्लेषण गर्ने हो भने सहकारी कुनै एक व्यक्तिलाई ठेक्कामा चलाउन दिइएजस्तो भएको छ काठमाडौंका सहकारीमा । यहाँका सहकारी सहकारीमा हजारौं सदस्यब बनेता पनि निर्णयक शक्ती एकजना मात्र हुने गरेको र उ नै सर्वेसर्भा भएर सदस्यको पैसा चरम दुरुपयोग गरेको पाइएको छ र । संस्थाको कार्यकारी व्यक्तिले जे चाहो त्यहीअनुरुप संस्था प्रालिझैं चल्दै आएका कारण सहकारीमा दिनप्रतिदिन समस्या आउन थालेको छ । जुन समस्या सिंगो राष्ट्रले चाहेर पनि समस्या समाधान गर्न सक्दैन्, सकिरहेको छैन् ।tulsi-806x576

सहकारीमा सामुहिक भावनाको प्रतिनिधित्व हुनपर्ने भएपनि उपत्यकाका अधिकांश सहकारीमा सदस्यहरु बिचरा मात्र भएका छन् । जसले नेतृत्व गर्दै आएका साहुजीको विरोध गर्न सकिरहेका छैनन् । सदस्यको भावना गौण हुदाँ कार्यकारी व्यक्तिले गरेको निर्णय मान्न वाध्य भएका छन् उनीहरु । तर काठमाडौं शहरलाई छोडेर ग्रामीण भेगका सहकारीको अवलोकन गर्ने हो भने बिल्कुलै फरक ढंगले सञ्चालन भएका छन् । जहाँ सबैको भावनाको कदर हुन्छ र सदस्यमैत्री ढंगबाट सहकारी सञ्चालित छन् ।

हालै सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपत्यका बाहिरका सहकारीको अवलोकन गराएको थियो । त्यसक्रममा काठमाडौं उपत्यका र उपत्यकाबाहिरका सहकारीको अवलोकन गर्दा बिल्कुल भिन्न पाइयो । गाउँका सहकारी बिल्कुलै सिद्वान्तमा चलेका छन् । त्यहा सहकारीको असल अभ्यास भएको छ । सदस्यको भावनाको कदर भएको छ । केहीमा सहकारी शिक्षामा कमी भएपनि अधिकांश सदस्य सहकारीमा समर्पित छन् । अधिकांश सहकारी एंव सदस्यले कृषि क्षेत्रमा काम गर्दै आएका छन् । सहकारी कृषिमा आकर्षित हुदाँ सदस्यको जीवनस्तरमा पनि सुधार भएको छ भने उत्पादनशील क्षेत्रमा पनि योगदान पुगेको छ ।

समग्र सहकारीको अध्ययन गर्ने हो भने देशभर आधा भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी छन् । शहरका सहकारीका सदस्यले कृषिभन्दा अन्य क्षेत्रको काम गर्नका लागि ऋण लिने गरेका छन् । काठमाडौंका सहकारी एंव सदस्यले कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न रुचाउँदैनन् ।
अहिले सहकारीले कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत योगदान पु¥याएको छ । वास्तवमा गाउँका सहकारी जस्तै सबै सहकारीले कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीको गरिमा ह्वाट्टै बढ्ने छ । तर यसतर्फ सोच्दैनन् शहरका सहकारी ।

खासगरी सहकारीका नाममा शहरी क्षेत्रका सहकारी साहुकारी भएका छन् । कर्जा लगानी गर्दा चर्काे ब्याज असुल्ने र निक्षेप जम्मा गर्दा थोरै मात्र ब्याज दिने उनीहरुको नियती नै बनेको छ । गाउँका सहकारीमा निक्षेप संकलन र कर्जा प्रवाहमा खासै अन्तर पाइदैैन । तर शहरी क्षेत्रका सहकारीले निक्षेप लिदाँ थोरै ब्याज दिने र कर्जा दिदाँ धेरै ब्याज असुल्ने गरेको छन् । शहरी क्षेत्रमा दिनप्रतिदिन सहकारी दर्ता बढेपनि सदस्यको भावना र मर्मअनुरुप काम गर्ने गरेका छैनन् । शहरी क्षेत्रका सहकारी पैसाको किनबेचमा मात्र तल्लिन छन् । सदस्यको हितका लागि सहकारीमार्फत सेवा दिइरहेको चिफ्ला भाषण गर्ने गरेपनि सदस्यलाई नै चर्को ब्याजदरमा ऋण दिएर सञ्चालक मोटाइरहेका छन् ।

देशमा सहकारी दिनप्रतिदिन थपिरहेका छन् । साथसाथै विकृति, विसंगति पनि बढेको छ । सहकारीको कारोबार पनि बढेको अवस्था छ तर सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न भने सकेको छैन् । उनीहरुको ध्याउन्ती नै २२÷२५ प्रतिशत भन्दा बढी ब्याज लिएर सदस्यलाई शोषण गरिरहेका छन् । नेपालमा सहकारीको स्थापना हुने क्रम बढेको छ । हालसम्म ३१ हजारभन्दा बढी सहकारी स्थापना भइसकेका छन् । तर सरकारले महत्व दिएअनुरुप सहकारीले गतिलो भूमिका निर्वाह गर्न सकेको छैन् । नेपालको अन्तरीम संबिधान २०६३ ले सहकारीलाई तीन खम्बाका रुपमा समावेश गरिसकेको छ तर सहकारीले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन् । सहकारी अर्थतन्त्रको तीन खम्बामा राखेर घाँडोसमेत बन्न पुगेको छ ।

गाउँगाउँमा सहकारी सञ्चालनमा आउन थालेका छन् तर उनीहरुसँग पूँजी कम हुन्छ । जसले रचनात्मक काम गर्न भने सकिरहेका छैनन् तर शुक्षम ढंगले हेर्ने हो सहकारी दर्तापछि र दर्ता हुनु अघिको तुलना गर्दा सदस्यको जीवनस्चरमा आकाश पातल परिवर्तन आएको छ । अब सरकारले नै अग्रसरता लिएर खासगरी गाउँका सहकारीलाई विशेष प्राथमिकता दिन आवश्यक छ । उनीहरुलाई तालिम, सूचना र शिक्षा दिन सके अर्थतन्त्रमा सहकारीले उच्चतम योगदान दिन सक्छ । यसतर्फ न त राज्यको ध्यान पुग्न सकेको छ न त सहकारीको ठेकेदार सम्झने सहकारीका नेताहरुको नै ।

वास्तवमा सहकारीको विकास भाषण गरेर हुदैँन । सहकारीको विकृति भाषण गरेर निमिट्यान्ट हुदैँन । भाषण गरेर सहकारीले सदस्यको शोषण रोकिदैँन अब शहरका सहकारीले जो आफूलाई बैंकसँग तुलना गर्न रुचाउँछन् ती सहकारीले गंभीर ढंगले सोच्न आवश्यक छ । सर्वप्रथम त सहकारी सदस्य केन्द्रित हुनुपर्छ । उनीहरुको ब्याजदर पुरै घटाएर न्यून दरमा राख्नुपर्छ । अनि कृषिलगायत उत्पादनशील क्षेत्रमा लाग्न र सदस्यलाई उत्प्रेरित गर्न जरुर भइसकेको छ ।

सहकारीले गाम्रीण भेगमा बित्तीय क्षेत्रमा राम्रो सहयोग गरेको छ । यतिमात्र होइन आकर्षक ब्याजको लोभ देखाउने र निक्षेप आफूहरु तान्ने प्रवुति पनि सहकारीमा यथावत् छ । यो सहकारी सिद्वान्तविपरित हो । उक्त नियतको अनुसरण गर्ने सहकारीले निक्षेप फिर्ता गर्न नसकेको उदाहरणहरु हामीकहाँ प्रशस्त छन् । अहिले समस्याग्रस्त सहकारीको समाधानार्थ गठित उच्च स्तरीय छानविन आयोगमा उजुरीका चाँङ लागेका छन् । ८ हजार भन्दा बढी निक्षेपकर्ताले निक्षेप फिर्ता नपाएको उजुरी परेको छ । करिब १० अर्बका हारहारीमा सहकारीले निक्षेप फिर्ता गर्न नसकेको विकराल समस्या हामीसँग ताजै छ । अब ती सहकारीपीडितको समस्या कसरी सम्बोधन गरिन्छ, त्यो त हेर्न बाँकी नै छ ।

जेहोस् शहरका सहकारीले गाउँका सहकारीबाट सिक्नुपर्ने धेरै छ । यदी सहकारीप्रति सर्वसाधारणको आकर्षण बढाउने हो र सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्न सक्ने हो भने सहकारी सुधारका लागि केही काम गर्न जरुर भइसकेको छ । सर्वप्रथम त सहकारीलाई उत्पादनमैत्री बनाउनुपर्छ । सहकारीले प्रत्यक्ष लगानी गरेपनि सदस्यलाई ऋण दिदाँ भएपनि कृषिलगायत उत्पादनमा पहिलो प्राथमिकता दिनै पर्छ । यसका लागि थप नीतिको अपरिहार्य भइसकेको छ । अर्को कुरो जुनसुकै क्षेत्रका लागि भएपनि ऋण दिदाँ ब्याजदर कम हुनुपर्छ ।

साँच्चै भन्ने हो काठमाडौंका सहकारीले सदसयको ब्याजदरबाटै ढाड सेक्ने काम गरेका छन् । यहाँका अधिकांश सदस्यहरुले आफ्नो सहकारीबाट भन्दा बैंकबाट ऋण लिन इच्छुक देखिन्छन् । किनभने आफ्नो सहकारीभन्दा आधा कम ब्याजदरमा उनीहरुले ऋण लिन सक्छन् । तर गाउँमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई सहुलियतमा ऋण दिदैँ आएका छन् । उनीहरुले सदस्यलाई ऋण दिने र सदस्यबाट निक्षेप जम्मा गर्ने ब्याजदर ६ प्रतिशतभन्दा नाघेको पाइएन तर काठमाडौंका सहकारीले १२ प्रतिशत बढी नै फरक पार्ने गरेका छन् । अब सहकारीका यस्ता विकृति रोक्न सम्बन्धीत निकाय चनाखो हुनुपर्छ । न कि सहकारीलाई असनमा छोडिएको साँढेजस्तो खुलमखुला छोड्न हुन्न । सहकारी स्वनियमा चल्ने संस्था भन्दैमा उनीहरुलाई स्वच्छन्दता दिन हुदैँन । अनुगमन र नियमलाई प्रभावकारी बनाउनुपर्छ । त्यो भन्दा पहिला त नियम बलियो बनाउनुपर्छ । गल्ती गर्ने सहकारीलाई हदैसम्मको कारवाही हुन सकोस् । राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन हुन् सकोस् ।
tulsi953gmail.com

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु