समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

‘नेता बोक्ने सहकारी धेरै छन्’ 

अनलाईन पत्रिकाका लागि सुविन श्रेष्ठले गरेको सम्वादको सम्पादित अंश

शशीकुमार लम्साल
सहकारी अधिकृत
डिभिजन सहकारी कार्यालय, ललितपुर

१. ललितपुरमा सञ्चालित सहकारीहरूको समग्र अवस्था कस्तो छ ?

– ललितपुरमा सहकारीहरू राम्रैसँग सञ्चालित छन् । ९ सय ४० सहकारीमध्ये केही सहकारीका कारण सबैलाई अप्ठ्यारोसमेत परेको अवस्था छ । निक्षेपकर्ताले अन्य सहकारीलाई पनि शंकामा राखेको स्थिती छ । हामी जिल्ला संघ र बचत संघहरूसँग समन्वय गरेर अधिकाशं सहकारी निरिक्षण र अनुगमनमा पुगेका छौं । सामान्य त्रुटीभन्दा बाहेक ठूला गल्ती भेट्टाएका छैनौं ।

२. सामान्य गल्तीमा छुट हो ?

– त्यसो होईन । सबै सहकारी संस्थाहरूको सम्पूर्ण लेखा विवरण परिक्षण गर्नु ज्यादै गाह्रो कुरा हो । तरपनि उजुरीका आधारमा सकेसम्म कारोबारको गहिराईमा पुग्ने गरेका छौं ।

ललितपुरमा सञ्चालित सहकारीविरूद्ध परेको उजुरी जोगाउन पार्टीका नेताहरूको पावर लगाएर प्रशासन, प्रहरी र हामीलाई समेत दबाब आउने गरेको छ ।

३. नाम चलेका सहकारीहरू डुब्दैछन्, त्यसबारे उजुरी आएको छैन ?

– यसलाई दुई हिसाबले हेर्न सकिन्छ । एउटा बजारबाट पैसा संकलन गरेर बजारमै लगानी गर्ने सहकारी । अर्काे व्यवस्थापनका प्रमुखले संकलित निक्षेपलाई मनोमानी गर्ने सहकारी । कर्मचारी र व्यवस्थापक आफैं बदमास भएरपनि सहकारी डुबेको अवस्था छ । पहिला सहकारीको अनुगमनमा सिस्टमभन्दा बाहिरबाट लगानी, खाटापाटा भद्रगोल र नियमित हर–हिसाब लुकाउने सहकारीको पहिचान गर्ने हो । त्यसपछि कारवाहीको प्रक्रियामा लगिन्छ ।

४. सहकारी बदमास देखियो भने कस्तो कारवाही हुन्छ ?

– समन्वयका कारणले कारवाही प्रक्रियामा कमजोरी आएको छ । सहकारीविरूद्ध उजुरीपछि प्रशासनलाई पत्र लेख्छौं । प्रशासनले प्रहरीलाई लेख्छ । फेरि पत्र हामीलाई आउँन्छ । यो प्रवृतिले बदमास सहकारी उम्किन सक्छन् ।

५. उम्किने सक्ने आधार बनाउनुतर्फ आर्थिक मिलेमत्तोको शंकापनि देखिन्छ नी ?

– त्यस्तै हल्लाका कारणले मैले प्रशासनमा एउटा प्रस्ताव राखे । प्रशासनको सहायक सिडिओको अध्यक्षतामा चाँडै एउटा कमिटि बनाउँदैछौ । कमिटिमा मलगायत प्रहरी परिसरबाट एकजनाको सहभागीता रहनेछ । कमिटिमा सहकारी बदमास देखिए सिधै कारवाहीको सिफारिस गर्ने र छिट्टै छिनोफानो निर्णयनिहित हुन्छ । अहिले पार्टीका नेता, युनियन र पावरवाला बोक्ने सहकारीहरूको जगजगी छ ।

६. बदमास सहकारी कसरी पहिचान गर्ने ?

– उजुरी आएको सहकारीको चारखाता, लेखाको खाटापाटा हेर्न, कस्तो कस्तो डिपोजिट आएको छ हेर्न । ऋण दिँदाको प्रक्रिया हेर्नलगायतका छन् । प्रमुखको प्रोफाइलबाट पनि बदमाश सहकारीको पहिचान हुन्छ । धेरै सहकारीले आफैलाई सुधार्नुपर्ने आवश्यक छ ।

तस्वीरः प्रजित तम्राकार

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु