‘यति शक्ति राखौ, अनि सब सम्भव छ’

रविन पिया

समय परिस्थितिले गर्दा मेरा कुरा लेख्न मन लाग्यो । आज चारदिन भयो नेपालबाट छोराछोरीले यस्तो लेखेर पठाएका थिए ।

उता (अमेरिका) पनि कोरोना रोग बढ्दै रहेछ । पापा नेपाल फर्किनुस् । सामानहरू मिल्यो भने सबै बेचिदिनु, होईन भने फालेर आउनुस् । यता हामी सबै परिवार एकै ठाउँमा त हुन्छौं ! हामी जे काम गरेर भए पनि खाउँला ।

त्यसपछि म झंसग भएँ, मेरो पछाडी मेरो परिवार पनि छ नि । मेरो छोराछोरीको त्यो वाक्यहरू रामवाण सरह छातीमा गड्यो । अनि म काम गर्ने ठाउँमा कुरा गरेँ । हाम्रा साहुहरू पनि यस्तो अवस्थामा जहिले पनि सहयोग गरेकै हुन् । मानव धर्म के हो वहाँहरूले बुझेका छन् । म घमण्डका साथ भन्न सक्छु । हामी अस्टिनको मुटु डाउनटाउनको छैंठौं सडकमा काम गर्छौं । त्यहाँ दुईवटा स्टोरमा हामी नेपालीहरू सात जना काम गर्छौं । फलस्वरूप साहुहरूले यो महामारीमा पसल बन्द गर्नु नै उचित ठाने । आज चारदिन भयो स्टोर बन्द रहेको । म अहिले कोठाबाट बाहिर निस्केको छैन ।

तपाईँ हाम्रो ज्यान छ त परिवार हुन्छ ! हामी परिवार कै लागि गरिरहेका छौं नी ! यो ज्यान छैन, त्यो परिवार कसले हेरि दिन्छ ?

समय धेरै पीडादायक छ । आज पृथ्वी रोई रहेको अवस्था छ । त्यसमा पनि हामी परिवारबाट टाढा रहेर ! परिवार कै लागि आफ्ना बालबच्चाहरूको भविष्यका लागि भनेर महामारीरूपमा फैलिरहेको रोग कोरोनाको पनि वास्ता नगरी काममा लागि परिरहेका छौं ! यो सुन्दा र देख्दा पिडा महसुस नगर्ने नेपाली को होला र ?

तपाईँ हाम्रो ज्यान छ त परिवार हुन्छ ! ज्यान रहे पो ऋण तिर्न सकिन्छ ! हामी परिवार कै लागि गरिरहेका छौं नी ! यो ज्यान छैन, त्यो परिवार कसले हेरि दिन्छ ? त्यो नालाबाला बच्चा कसले पाली दिन्छ ? त्यो ऋण कसले तिरी दिन्छ ।
हामी एकजनाले रोग घरमा लिएर आउँदा चार जनालाई सर्छ !

चारबाट आठ हुन्छ यसरी नै खेलाचीँ गर्दा आज यो बढ्दै गईरहेको छ । यस्तो अवस्थामा सचेत हुनु नै पर्छ सबै । अब सबैले बोल्नुपर्छ । एकपटक भनेर त हेर्नुस्, दुई हप्ता म काममा आउन सक्दिन भनेर । सबैजनाको हातेमालो आवश्यक छ । भोली काम पाईदैन होला भनेर चिन्ता लिनुपर्दैन । यो एउटा देशमा मात्र महामारी फैलिएको होईन । विश्वको सम्पूर्ण देशमा फैलिएको अवस्था छ । ढिला नगरौं अहिले नै निर्णय गरौं । मेरो सबैमा विनम्रतापूर्वक यति अनुरोध गर्दछु ।

तपाईंको प्रतिकृया