हामी स्वार्थी जनता कि कन्फ्यूज्ड जनता ?

~ ~ ~ ~ ~ सन्तोष परियार ~ ~ ~ ~ ~

सबै राजनीतिक दल भित्र आ–आफ्नै संघर्षहरु हुन्छन्, दुख गर्ने नेता–कार्यकर्ता हुन्छन्, ठूला नेताको चम्चागिरी गर्ने र कार्यकर्तालाई पनि चम्चागिरी गर्न लगाउने एवं नगर्ने कार्यकर्तालाई बाइपास गर्ने हुन्छन् । आफ्नो दलले जस्तो निर्देशन दिए पनि खुरुखुरु मान्नेदेखि लिएर सधैं गुटबन्दी, चाकडीबाजी र पार्टीबाट अनुचित फाइदा उठाउने पनि हुन्छन् । समग्रमा नेपालका राजनीतिक दलमा देखिदै आएको संस्कार हो यो ।
नारामा विभिन्न कुरा तर व्यवहारमा उही ‘टाय टाय फिस’ भनेजस्तो नेपालका राजनीतिक दलहरु देखिदै आएका छन् । जनताले कसलाई विश्वास गर्ने ? जनताले कसलाई भरोसा गर्ने ? को वास्तवमै जनताको आफ्नै पार्टी ? कुन पार्टीले जनता र देशको लागि केही गर्छ ? वास्तवमा जनता नै कन्फ्यूज्ड छन् यो देशमा ।
अरु देशको तुलनामा हेर्दा नेपालका जनता राजनीतिक रुपमा धेरै सचेत छन् जस्तो देखिन्छ तर वास्तवमै हेर्ने हो भने ‘हामी जनता’ एउटा भीड बाहेक केही भएनौ । ‘दुई छाक टन्न – भोट त्यसैलाई’, ‘टन्न रक्सी मासु – समर्थन त्यसैलाई’, ‘१–२ हजार नगद – त्यो पार्टी राम्रो’, ‘शौचालय जसले बनाइदिन्छ – त्यो पार्टी ठीक छ’, ‘त्यसले हामीलाई पद दिन्छ – त्यही पार्टीको झोला बोक्छौं’ आदि इत्यादि ।
हामीलाई यस्तो बानी परिसक्यो कि आफ्नो स्वार्थ कहाँबाट पुरा हुन्छ त्यही पार्टीमा लाग्यो, आफ्नो काम कहाँबाट बन्छ त्यही नेताको पछि लाग्यो, आफूलाई बलिया कहाँबाट बनाएर नाजायज काम गर्न रोकावट हुँदैन त्यही मोर्चा (युवा, महिला, विद्यार्थी आदि) मा लाग्यो, यहाँ सिद्धान्त र विचार भन्ने कुरा अचार जस्तो भइसक्यो, आफ्नो स्वार्थको खानामा हाल्यो, मिठो बनायो, स्वाँठ्ठ खायो, भुँडी भर्यो, अनि आफ्नो बाटो चलदियो ।
यो पढ्दाखेरि धेरैलाई रिस पनि उठ्ला तर यहि सत्य हो र यो सत्यलाई स्वीकार्न सक्नु पर्दछ । हामीले राजनीतिक दललाई गाली गर्छौ तर तिनै राजनीतिक दललाई बलियो कसले बनाउँछ ? – हामी जनताले । हामी सभासद, मन्त्रीलाई गाली गर्छौं तर तिनैलाई कसले त्यहाँसम्म पुर्यायो ? – हामी जनताले । अब भन्नुहोस् आफ्नै भोटले तिनलाई बलियो बनाउँछौं, आफ्नै समर्थनले तिनलाई बलियो बनाउँछौं, आफ्नै साथ–सहयोगले तिनलाई बलियो बनाउँछौं अनि पछि धारे हाथ लगाउनुको के अर्थ ? यसैले झल्काउँछ हामी राजनीतिक रुपमा कति सचेत छौं भन्ने । स्पष्ट रुपमा २ वटा कुरा छ – या त हामी स्वार्थवश दलका कार्यकर्ता बन्छौं र दल विशेष रोजेर भोट हाल्छौं या त हामी वास्तवमै कन्फ्यूज्ड जनता हौं ।

तपाईंको प्रतिकृया