मैले समानता खोजेको हो

—- जनार्दन नेपाली “वियोगी” —-

मेरो प्रिय साथी मैले तिमीलाई कुनै नोक्सान पुर्‍याउन खोजेको होइन । मैले त केवल समानता मात्र खोजेको हो । तिमीले जसरी मेरो टाउकामा एक लात्ती र अर्को लात्ती नारीको टाउकामा टेकेर अग्लो भएको फुइँ छाडेका छौ त्यो लाती हटाएर हामी जस्तै, दलित र महिला जस्तै भुईमा टेक मात्र भनेको हो । तिम्रो टाउकामा नारी र दलितको लात्ती टेक्नु पर्छ मैले भनेको छैन ।
तिमीले मलाई जसरी राक्षसको संज्ञा दियौ र आफूलाई देवता भएको एकपक्षीय प्रचार ग¥यौ त्यो प्रचार झुटो हो र तिमी पनि हामी जस्तै मानव भन्दा बढी केही होइनौ भनेको मात्र हो । मैले तिमीलाई राक्षस र मलाई देवता भन्नु पर्छ भनेको होइन । तिमी आफूलाई हात्ती र मलाई मुसो घोषणा गर्छौ । मेरो माग तिमी पनि मुसो भन्दा बढी केही होइन भनेको मात्र हो । यदि तिमी हजार, २ हजार वा ४ हजार किलोको अजंग हात्ती हुन्थ्यौ भने म सहर्ष स्वीकार गर्थें तिमी हात्ती हौ र मुसो हूँ ।
तिमीले आफूलाई सिंहजस्तै दाह्रा नङ्ग्रा भएको रुपमा उभ्याउँथ्यौ र म खरायो जस्तै हुन्थेँ भने म तिमीलाई सम्मान गर्थें, डराएर थरथर काम्दै लुक्थें या तिमी सामु मेरो शरीरलाई सुम्पन्थें वा लुक्थें, भाग्थें होला । तिम्रो अनुहार, मुख र दातँहरु, हातका औँला र नङहरू मेरो भन्दा फरक केही देख्दिन । तिमीले तिम्रो ईश्वरलाई भन्न भुलेछौ, म तिमीद्वारा पैदावर विशेष जाती ब्राह्मण भएकोले मलाई विशेष नङ्ग्रा दाह्रा र डरलाग्दो रुप पनि विशेष पहिचानको लागि हालिदेऊ । तिमीले आग्रह गरेको भए तिम्रो ब्रह्माले त्यसै गरिदिन्थें कि ?
नारीहरुको छातीमा हुने स्तन र योनि फरक भए पनि अरु कुनै कुरामा तिमी नारी र दलित बिच मैले फरक पाइन त्यसैले नारी र दलित हिन र साना, तिमी महान र ठूला भन्ने तिम्रो जिकिर मैले कत्ति पत्याईन ।
त्यसैले मैले तिम्रो गर्जनलाई कत्ति स्वीकार गर्न सकिन । तिम्रो शरीरमा भएका मासुका पिण्डहरु र मेरो शरीरमा भएका मासुका पिण्डहरु एकै तत्वबाट उसरी नै बनेको मैले देखिरहेको छु । यदि तिम्रो मासुको पिण्डहरु हिरा, मोती वा फलामको डल्लाहरुले बनेका हुन्थे भने म तिमीलाई सहर्ष स्वीकार गर्थें, तिमी महान हौ, तिमी विशेष मानिस हौ, अनि ब्राम्हण हौ ।
मेरो कपालका रौंहरु रुखका बिरुवा जस्तै हुन्थे र तिम्रा कपालका रौं सुनका केस्रा जस्ता हुन्थे भने म पत्याउने थिएं तिमीले लेखेका मधु—कैटभ राक्षसको सन्तान म हूँ र तिमी हौ ईश्वरको उच्च सन्तान ब्राह्मण । मैले त्यस्तो केही फरक पाइन त्यसैले मैले तिमीलाई बिशेष मानिस मान्न सकिन ।
तिम्रो शरीरमा चोट लाग्दा मेरो जस्तै रगतको धारा नबगेर पग्लेको सुन वा हिरा मोती र चाँदीको घोल बग्थ्यो र रगत जस्तो जमेपछि कालो र दुर्गन्ध नभई तिम्रो रगत जमेर हिरा मोती र चादीँको डल्ला बन्थ्यो भने म सहर्ष स्वीकार गर्थें तिमी विशेष र महान मानिस हौ म र नारीहरु हिन र तल्लो मानिस हौँ । त्यसैले मैले तिमीलाई ठूलो र आफूलाई सानो भनी स्वीकार गर्न सकिन । त्यसैले मैले समानता खोजेकै हो ।
तिमीले खाने प्रत्येक गासहरु अन्न नभएर एक एक भारी घाँस वा अन्न नै भए पनि मेसिनको मुख जस्तो, मकै पिध्ने मेसिनको सोली जस्तो एक मुरीका गास हाल्थ्यो भने म तिमीलाई स्वीकार गर्थै तिमी म भन्दा विशेष मानिस हौ ।
तिमीले भन्ने गरेको षड्यन्त्रका ताना बाना बुनेर फुर्सदमा लेखेको, ब्रम्हाको मुखबाट आफू जन्मेको दन्त्य कथाहरु र अरु हामी तीन वर्गहरु पाखुरा, तिघ्रा र पैतालाबाट जन्मेको भन्ने बालसुलभ कथाहरु म त्यति बेला पत्याउन बाध्य हुन्थें । जब तिम्री आमाले तिमीलाई योनीबाट होइन मुखबाट ओकालेर जन्माउँथिन भने, अनि क्षेत्रीहरु सबै पाखुराबाट जन्मिन्थे भने, बैश्यहरु तिघ्राबाट र मेरी आमाको पैतलाबाट नै जन्मेको हुन्थें भने । हो, म स्वीकार गर्थें तिमीले भन्ने गरेको जात विभाजन सही हो र तिमी उच्च हौ र म नीच नै हूँ ।
तिमीले प्रत्येक पल लिने स्वासहरु अक्सिजन र फाल्ने स्वास कार्बनडाइअक्साइड नभएर मेरो भन्दा फरक हुन्थ्यो भने, म लत्रन्थें तिमीसगं र तिमी महान जाति हौ भनी तिम्रो काल्पनिक ब्रम्हालाई स्वीकार गर्ने थिएँ । तिमीले एउटा कुरा अझ ध्यान दिन सकेनछौ । नारीलाई पुरुषको घोषणा ग¥यौ । तर बिर्सियौ ब्राम्हण नारी पनि ब्रम्हाको मुखबाटै जन्मेको भन्छौ नी तिमी । एउटै मुखबाट जन्मेकी तिम्री नारी चाहीँ किन तिम्रो दासी ? तिमीले त्यो सोचेनौ त्यतिबेला ? प्रश्नहरु नउठून् भनेर तिमीले राज्यको डण्डा प्रयोग ग¥यौ । प्रश्न गर्नेहरुलाई दमन गर्न धर्म विरोधी घोषणा ग¥यौ ।
संसारको प्रचलित मान्यता ठूलो, बुझेकोले गल्ती गरे धेरै सजायँ र सानो अबुझ, अनपढले एकै प्रकारको गल्ती गरे कम सजायँ पाउने सर्वमान्य नियमलाई उल्ट्याएर सबभन्दा बलियो, राजाको पनि मान्य, शास्त्र बेत्ता बिद्वान आफूलाई चारपाटा मुण्डन (केश मुण्डन) गर्ने भन्यौ र सबै भन्दा बढी सजायँ दलितलाई मृत्युदण्ड हुनु पर्ने भन्यौ । केश मुण्डन त के नै सजायँ हो र ? १ महिनामा पलाएर आउँछ, दुख्दा पनि दुख्दैन । यस्ता बाठा कुरा कानूनमा लागू गर्न लगाएर राजासंग मिलेमतो गरी आफूले टाउको लुकायौ । मान्नै पर्छ तिम्रो जाली झेली कुरालाई ।
म यसो सोच्ने गर्छुृ , तिमी दलित र नारीसंग किन यति साह्रो कृतघ्न बन्यौ होला ? नारी र दलितले त तिम्रै सेवा गरेका थिए । पशुभन्दा पनि तल पारेर तिमीलाई विशेष फाइदा चाहीँ के नै भयो होला र ? तिमी विचार र विवेकमा यति तल गिर्नुको कारण तिमी भित्रको पशुत्व वा पागलपन नै हो कि ? दलितले इतिहासमा तिम्रो केही बिगार गरेर बदला लिएका हौ ?
(दलित) शूद्रको सम्पति भए खोसिदिनु किनकि शूद्रको सम्पति भए ब्राम्हणलाई घाटा हुन्छ (पिर्दछ) –मनुस्मृति । यसैको कारण होला अहिले पनि दलितको अवस्था दयनीय छ र ९०% दलित सुकुम्बासी छन् । तिमीलाई घरको कुकुर भन्दा पनि तल राखेर छुवाछुत नै गर्ने बाध्यता के पर्‍यो त्यस्तो ? तिम्रो पाखण्डको म कुन शब्दले निन्दा गरौ या चित्रण गरौ ? कतै तिमी ठूलो अपराध कार्यमा संलग्न हुँदै गर्दा दलितले देखेर वा पर्दाफास गरिदिएका कारण त बदला लिएका होइनौ तिमीले ? तिमीलाई संसारभरका अपमानित शब्द र गालि गलौच एकै पटक खन्याउदा वा ब्यक्त गर्दा पनि तिम्रो अपराधलाई अपुग नै हुन्छ । भन यो अपराधको प्रायश्चित कसरी गर्छौ ?
तिमीले नारीलाई भन्यौ –“पतिले पत्नीलाई बेच्न सक्छ, बन्धकी राख्न सक्छ र ब्याजमा पनि लगाउन सक्छ तर पत्नीले पतिलाई छाड्न सक्दिन ।” —मनुस्मृती । तिमीले यी सबै कुरा ब्रम्हाको बचन भनी सुनायौ । संसारको नियम हुन्छ, यदि राज्य प्रमुख वा कुनै संघ संगठन प्रमुखको कामको बारेमा वा बोली बक्तब्यको बारेमा प्रश्न उठ्यो भने राज्यप्रमुख वा तत् तत् संघ संस्थाका प्रमुखले स्पष्टिकरण दिन्छन्, प्रत्यक्ष लाईभ टेलिकाष्ट । जब तिम्रा ब्रम्हाको बचनको बारेमा आलोचना भई रहेको शताब्दी भन्दा बढी भइसक्यो । तिमी झूट हौ, तिम्रो ब्रम्हा झूट हो भनेर प्रश्न गर्ने बृहस्पति, जैन र गौतम बुद्वहरु देख्दा देख्दै तिम्रो जगत पिता ब्रम्हाले किन यही र यस्तै हो भनेर स्पष्टिकरण दिदैनन् ?
यदि तिम्रो ब्रम्हाले बेला बखतमा आकाशवाणी गरेर बताउँदै गर्थे र नारी र दलितलाई मैले नै तल राखेका हुँ भन्थेँ भने प्रश्न तिमी तिर होईन तिम्रो ब्रम्हा तिर नै सोझिने थियो । अबदेखि भ्रम साफ गर्नलाई ब्राम्हण समुदाय सबै ब्राम्हणीको मुखबाट जन्माउने गर । क्षेत्रीलाई क्षेत्रीनीको पाखुराबाट जन्माउने गर, बैस्य जति बैस्य नारीको तिघ्राबाट र दलित शूद्र जति शूद्र महिलाको पैतलाबाट नै जन्माउने गर ।
यदि ब्रम्हाले त्यसै गरेर विश्वास दिलाउने भएछन् भने म प्रश्न गर्ने छु – ब्रम्हदेब ! त्यो त ठिकै छ, अब म तिम्रो सत्ताको र बचनको विरोध र अविश्वास गर्ने छैन । तर मैथुन क्रिया पनि प्रत्येक जातका समुदायले जन्म स्थानमै गर्नु पर्छ होला नि ? नभए त मैथुन एकातिर, जन्म एकातिर हुनु त कसरी होला ? अनि जहाँ मैथुन हुन्छ, त्यही लिंग वा योनी भनिने हुदाँ ती ती स्थानहरु जात अनुसारको लिंग वा योनी हुने होलान् । जसरी नारी र पुरुषको पहिचान शरिर देखेर वा लिंग हेरेर प्रष्ट चिनिन्छ र कुनै दुविधा हुन्न र कुनै शास्त्रमा ब्रम्हाको बचन वा घोषणा भनेर चिच्याइ रहनु पर्दैन । त्यसरी नै जातको जन्म स्थान फरक नै हो भने योनी पनि फरक हुनै प¥यो । यसरी हेर्दा, ब्राम्हणको योनी मुख हुनु पर्ला, क्षेत्रीको योनी पाखुरामा होला, बैस्यको तिघ्रामा र शूद्रको योनी पैतलामा हुन अनिवार्य होला त्यसको ब्यबस्थापन कसरी गर्नु हुन्छ ब्रम्ह देव ?
अनि ब्रम्हाले सबै भन्दा पहिले, आफ्नो नाम भजाएर यस्ता मूर्खतापूर्ण कुरा गरेकोमा तिम्रो टाउकामा लाठी वर्षाउने छन् र भन्ने छन् –“मूर्ख ! तँ मूखले मेरो बदनाम गरिस् । तँ मूर्ख सयौं जुनी सुँगुर वा कुकरको जुनी लिएर बिताउनु ।” आफ्नो स्वार्थको लागि मेरो नाम बेचेर, बदनाम गरेर मेरा प्रकृतिको नियमलाई उल्टा पुल्टा गरेर, मलाई नै व्यभिचारीमा दर्ज गराएर, पागलको पंक्तिमा उभ्याएर, जसरी दलित र नारी माथि यो नीच हर्कत गरिस त्यसको सजायँ स्वरुप तैंले त्यति नै समय तिनीहरुको दास बनेर, सेवा गरेर पाप कटनी भए पछि मुक्ति पाउने छस् ।
अनि मित्र त्यति बेलाको तिम्रो अवस्था के होला ? सोच त, तर चिन्ता मान्न पर्दैन । किनकी तिमीलाई थाहा छ र हामीलाई पनि थाहा छ कि कुनै ब्रम्हा आदी हुँदैनन्, छैनन् । कहिल्यै कसैले देखेका छैनन् । आकाशवाणी वा प्रत्यक्ष कहिल्यै आएका छैनन्, आउने पनि छैनन् । यो संसार निर्माण गर्ने कुनै सुप्रिम पावर छ भने त्यो केवल प्रकृति मात्र हो । जुन निर्जिव छ । प्रकृतिको आफ्नो नियममा कुनै जात छैन । उसले कसैलाई पक्षपात गर्दैन । उसको शब्दकोषमा कुनै जात छैन । लिंग छ, जो स्पष्ट देखाएर छुट्याएको छ, तिमी ब्राम्हणले यो लोग्ने मानिस यो स्वास्नी मानिस भनेर चिनाउनै पर्दैन ।
पहिरो गयो या आयो भने त्यसले भेट्ने ठाउँमा कुनै ब्राह्मण गायत्री मन्त्र जपेर बसेको छ भनेर छाड्दैन । कुनै नारी वा दलित टाढा छ भने हात लम्काएर उसलाई मात्र लैजादैन । त्यसैले मैले तिमीलाई थप केही भनेको होइन, तिमीले यो भ्रम नफैलाऊ, तिमी विशेष मानिस केही होईनौ ।
तिमीले फरक छुट्याएको जात कुनै ठोस वस्तु होइन । त्यो कल्पना हो, मनोविज्ञान हो । यति कुरा बुभ्mन पनि मलाई तिम्रो भ्रम र भ्रमले ग्रसित भीडले धेरै ठाउँमा बाटो छेक्यो र केही समय लाग्यो मलाई । तिम्रो बैमानी गर्ने कला, संसारलाई ढाट्ने कलालाई मान्नै पर्छ, आफ्नो स्वार्थको लागि यति ठूला झूट बोल्न जसरी कला प्रयोग ग¥यौ र गरिरहेछौ, यसको ठीक सुल्टो सबै मानिसको हितको लागि दिमाग र कला प्रयोग गरेको भए आज हिन्दू धर्म मान्नेहरु संसारका उत्कृष्ट मानबमा कहलिन्थे होलान् । धिक्कार छ तिमीलाई ।
तिमीले शास्त्रका विशाल ठेलीहरुको धाक र रवाफ देखायौ । तिमी याद गर त बाइबल र कुरान एक एक वटा पुस्तक मात्र छन् । तर तिम्रो धर्मको भन्दा कयौँ गुणा जनता त्यसमा आवद्ध छन् । तिम्रा कथा र कुथुग्रीका शास्त्रहरु २–४ डोको होलान तर तिम्रो धर्ममा संख्या धेरै कम छ, सोचेका छौ किन होला ? तिमीले सबै मानवको सेवामा भन्दा धर्मलाई केवल आफ्नो सेवामा प्रयोग ग¥यौ । एउटै घरकी नारीलाई भेदभाव ग¥यौ । म त दलित परेँ तिमी भन्दा अलि टाढा हुन्छु । तिमी समथर मैदान र उब्जाउ भूमिमा बस्छौ मलाई पाखा पखेरामा खेद्यौ । तर नारी त तिम्रो घरमै छिन्, तिमीले त्यस्ती नारी तिम्रो आमा, दिदी, बहिनी, भाउजु, श्रीमती, छोरी, नातिनी सबै माथि अन्याय गरिरहेका छौ । यदि ती नारीले तिम्रो सत्ता कमजोर भयो भने तिमीले त घरमै, भान्छा मै, बेडरुममै दिनदिनै सजायँ पाउने छौ ।
यदि तिम्रो श्रीमतिले छोरी मात्र जन्मनुमा मेरो होइन मेरो श्रीमानको दोष हो रहेछ भन्ने बैज्ञानिक तथ्य थाहा पाइन भने, त्यो बुझ्न सक्ने शिक्षा आर्जन गरिन् भने, तिम्रो बाबाले, हजूर बाबाले, ससुराली, छिमेक, ठूला बा, साना बा, काका र वंश समेतलाई गाली गर्दै, तिमीले छोरा नपाएकी भनेर गुनासो गरेको बारेमा अनि छोरा पाउन भाकल, ब्रत, दान, रुद्री, होम गराउन लगाएको वा सौता ल्याउने सोच बनाएको, आमासंग मिलेर अपहेलना गरेको सबै कुरा सम्झदै तिम्रो चेतनाको कति खिल्ली उडाउलिन् ? सोच त ।
तिमीले बिहान बेलुका भोकाएको बेला गास हाल्दै गर्दा तिम्री श्रीमती दाल तरकारी थप्दै भुनभुनाउने छिन्–छोरा या छोरी के जन्मन्छ भने पुरुषको पक्षमा निधारण हुने रहेछ । अज्ञानी पाखण्डीहरुले नारीलाई दोष दिन्छन् ।
सबै कुरा जान्ने हूँ भन्नेहरु केही नजानेका ग्वाँक हुदाँ रहेछन् । स्वास्नी, केटाकेटी र अनपढका अगाडी जान्ने सुन्ने भएको स्वाँङ पार्छन् । “बाबु त्यस्तै, छोरो त्यस्तै, त्यही बाबुको छोरो तँ पनि के गतिलो होलास् ?” संगै भात खान बसेको चिचिलो सन्तान माथि समेत बदलाको शब्द वर्षा हुन सक्छ ।
तिमी आफ्नो कर्तुत छोप्न, जन्मेको सन्तान केवल बाबुको मात्र घोषणा गर्न चाहन्छौ । नागरिकतामा बाबुको मात्र नाम, सम्पत्तिको कागजातमा पुरुषको मात्र नाम । किन ? तिमी अपराध गरिरहेछौ तसर्थ नारीसंग डराएका छौ । तिमीले नारिलाई दास बनाउन तानाबाना बुन्यौ । त्यसैले तिमी डराएका छौ ।
तिमीले नारी र दलितलाई शास्त्र नपढ्न ब्रम्हाको आदेश भन्यौ । महिलालाई दास बनाएको षड्यन्त्र थाहा पाउली भनेर छोरीलाई पढाउन मानेनौ । रजस्वला नहुँदै विवाह गर्ने कुरा शास्त्रमा लेख्यौ । ब्रम्हाको बचन, ईश्वरको वचन भनेर प्रचार ग¥यौ । तिमीले यति अपराध गरिराखेका छौ, छोरी पढाउन मान्दैनौ तर बुहारी पढेकी खोज्छौ । ए मुर्ख ! छोरी नपढाए बुहारी कसरी पढेकी आउछे ? त्यो सोच्ने क्षमता तिमीमा छैन ।
नारीको गर्भाशय सफा गर्ने प्राकृतिक नियम रजस्वलालाई इन्द्रको पाप भनेर मिथ्या खत लगायौ । शास्त्रमा लेख्यौ र इश्वरको बचन भनेर ढाट्यौ । त्यसैलाई छाउपडि प्रथामा समेत भ्रष्टीकरण गर्‍यौ । निर्जन र अनकन्टार स्थानमा एक्लै बस्न बाध्य बनायौ । अनि कती नारीहरु बलात्कृत भए । कति सर्पले डसेर मारिए थुक्क ! तिम्रो गिदि ।
रजस्वला हुँदा दहि दुध खान नहुने भन्यौ, मिठो मसिनो खान नहुने भन्यौ, तिम्रो छोरी बुहारीले रजस्वला पनि दिसा पिसाब जस्तै शरिरको बिकार तत्वहरु बाहिर फाल्ने प्रक्रिया हो कुनै इन्द्रको शिरको पाप होइन । संसारमा अन्य महिलाहरु पनि सबै रजस्वला हुन्छन् । हिन्दु नारी मात्र होइनन् भनेर बुझेको दिन तिम्रो गोबर भरिएको चेतना प्रति कति खिस्सी ट्युरी गर्लिन ? सोचेका छौ ?
फलानो शास्त्रको डिम्कानो पानामा इन्द्रको पाप बनेर ब्रम्हवाक्य छ भनेर श्लोक हाल्दै जिद्धि गर्ने र बाबुबाजेले त्यसै गरेको, त्यसै भनेको भनेर संस्कारसंग जोड्यौ भने संस्कार बदल्न, परिमार्जन गर्न हुन्न भन्यौ भने सोच त तिमी कति मुर्ख बनौला चेतनशिल नारीको अगाडि ?
विज्ञान पढाउने टिचर श्रीमती रजस्वला भएकोले भोकै स्कुल जान्छ सोच्नुहोस् त हाम्रो संस्कार वा शिक्षा कुन बलवान् ?
जसरी सिंगान, खकार, दिसा, पिसाब, चिप्रा, कानेगुजी, नङ, पसिना आदि शरिरको विकारहरु हुन्, वेस्टेजहरु हुन् । यिनीहरु निश्चित अवधीमा निश्कासन हुन्छन् । त्यस्तै यौवन अवस्थामा पाठेघरको विकार पनि प्रत्येक महिना बाहिरिने रजस्वला हो । यतिबेला आराम गर्ने, मिठो र पोसिलो खाने, सफा कपडा प्रयोग गर्ने गर्नुपर्छ । यदि शरिरको विकार फाल्नु पाप हो भने, यदि रजस्वला हुनु इन्द्रको शिरको पाप हो भने, दिसा लाग्नु कुन भगवानको शिरको पाप हो ? पिसाब लाग्नु कुन भगवानको शिरको पाप होला ? चिप्रा पनि कुनै देवताको पाप नै होला । सिंगान खकार पनि कुनै न कुनै भगवानको शिरको पाप नै हुनुपर्ला ? सोचेका छौ कस्तो शास्त्र लेखें होला भनेर ?
तिमीले आफ्नो धर्म संस्कार छाड्नु हुन्न भन्दै पढालिखा विद्धान भनेकालाई समेत लतारेकोमा मख्ख हौला । तर हामी पिछडिएको यस्तै गलत संस्कारले हो ।
तिमीले एउटी नारीलाई हरिजनको माता बनाएर कति दुःखि बनाएका छौँ । सोचेका छौ ? तिमीले भन्ने गरेका हरिजन के हो ? कसरी बनाए तिम्रा पुर्खाले सोच त ? तिम्रा अबुझ र चेतनाविहीन पुर्खाले नारीलाई जन्मिने बित्तिकै छठिका दिनमै विवाह गरिदिने चलन चलाए । कतिलाई ५/७ वर्षमै विवाह गरिदिने गरे । त्यो पनि लाज नमानी शास्त्रमा लेख्यौ । रजस्वला नहुँदै कन्या हुँदैमा विवाह गरिदिए बाबुआमा स्वर्ग जान्छन भन्ने कथा सुनेर आफु स्वर्ग जाने लोभमा सानै उमेरमा छोरी दिन तयार भयौ ।
नाबालक छोरीलाई पिडा दिएर त्यो बापत आफु स्वर्गमा सुख काट्ने ? आमाको दुध चुसाएर नाबालक चेली डोलीमा अन्माएको कुरा कति पासविक छ । इश्वरले त परै जाओस् राक्षसले वा किटपतङ्गले पनि आफ्नो सन्तानलाई त्यस्तो गर्ने आँट गर्दैनन् भन्ने कुरा ठुलो भएपछि तिम्रा छोरीले प्रश्न गरिन् भने तिमी के जवाफ दिन सकौला ?
तर तिम्रो पुर्खा यस्तो गर्न कत्ति पनि हिच्कीचाउदैनथे र विवाह गरिदिन्थे । यसरी विवाह गरिएकी छोरी चेली १२÷१५ वर्ष नपुग्दासम्म माइतमा बस्थिन् । तर कतिपय छोरीचेली पतिको घरमा नजादै विधवा भएको खबर आउथ्यो अनि दोष फेरी पोइ टोकुवई भनेर नारीलाई दमन । स्वस्थानीको कथा प्रत्येक वर्ष आफ्ना सन्तानलाई सुनाउँदा सायद तिमीले गोमा ब्राम्हणीको कथा सुन्ने गरेका हौला । हो यस्ता विधवा चेलीहरु विवाह हुन नसक्ने एक पति वरण भैसकेपछि नारीले अर्को पति रोज्न नपाइने व्यवस्था तिमिले शास्त्रमा लेख्यौ र संस्कारमा ढाल्यौ । तिनैं वाला विधवा नारीलाई मन्दिरको स्याहार सुसारमा राख्ने र पिपल वा वरसंग विवाह गराएको भनेर घुमाइदिई विवाह गरेको स्वाँङ रच्यौ । आफ्ना श्रीमतीतिर आँखा नलगाओस भनेर परस्त्री नताक्नु भनेर नियम त बनायौ तर ति मन्दिरका मुस्तण्ड पुजारीले ति विधवा नारिलाई बाँकि राख्न तिम्रो नियमले कहिल्यै छेकेन र बलत्कारमा परिन् ति नारी । अनि तिनै नारीबाट जन्मेको सन्तान नै हरिको सन्तान हरिजन भन्यौ । तिनै पुजारीका सन्तानलाई फेरी तिमीले दलित हिन जातीको सिँडीमा ओरालेर अर्को अपराध ग¥यौ ।
यी सबै अपराध इश्वरका नाममा गरिरहछौ तिमी । सोच त के यो अपराध होइन ? के यस्तो कुसंस्कार परिमार्जन गर्नु पर्दैन ? अनि तिमी म जस्ता मानिसलाई गाली गर्छौ ? धर्म संस्कार विरोधी भन्छौ । के तिम्रो यो सोचाई र राणाको शासनमा सुधार हुनुपर्छ भन्ने विरुद्ध गाथ–गद्धी ताकेको आरोप लगाउने राणाहरुको सोचाइमा केहि फरक छ ? राणाहरु भन्थे इश्वरको प्रतिनित्री विष्णुको अवतार हो राजा । तिमीले आफुलाई ब्रम्हाको अवतार भन्छौ । फरक केहि छ ?
तिमी पुजारी बनेर भगवानको मन्दिरमा चढाएकी चेलीको पनि यौन हिंसा गर्न पछि परेनौै । तिमीले सबै जातका चेलीलाई विवाह गर्न आफुले मात्र पाउने धार्मिक कानुन लेख्यौ । एउटी चेलीले एउटा पति मरेपछि अर्को पति वरण गर्न पाउने मुस्लिमको शास्त्र नारि हक हितको दृष्टिले तिम्रो भन्दा हजार गुणा राम्रो छ भने तिम्रो धर्म संस्कार सुधार गर्न पर्दैन ? अझ तिमी अड्डी कसेर मलाई गाली गरेर टार्न खाज्छौ ?
मैले तिमीलाई ठाडो टीका नलगाउ अनि जनै नलगाउ भनेको छैन । तिमिसंग सम्पती छ भने दान गर, तिमी बिहान मात्र होइन दिनभरी मन्दिरमा भजन गाएर बस्छौ भनेपनि बस, तर मलाई र नारीलाई सानो ठान्यौ भने मलाई स्वीकार्य हुनेछैन ।
मैले तिम्रो संस्कार फाल्न खोजेको होइन । मैले त समानता मात्र खोजेको हो । हुन त तिम्रो शाष्त्रमा मन्दोदरी भ्यागुताबाट जन्मेको कथा छ । एउटी नारी भ्यागुतोबाट जन्मीइ भन्ने कुरा एउटा चेतनशील समाजको लागि पुरै प्रहरी प्रशासनलाई एउटा गुण्डाले नतमस्तक बनाएर धाप मारे जस्तै लज्जाजनक विषय हो । तर तिमीले वर्षौदेखि साम, दाम, दण्ड र भेद समेत प्रयोग गरी मस्तिष्कको सृजनशीलतालाई जन्मेदेखि घोकाई घोकाई नपुंशक बनाइदिइ सकेका छौ ।
प्रश्न गर्ने क्षमता निर्मुल गरिदिइ सकेका छौ । समाज केही बोल्दैन, कुनै प्रश्न गर्दैन, विद्धान केवल ग्राजुयट सर्टिफिकेटको अकं तालिकामा मात्र सिमित छ । त्यसको प्रतिविम्व समाज सुधारमा भन्दा भुँडि सुधारको बहानामा सवार भएर बेरोक–तोक घुँइकिरहेको छ ।
त्यसैले तिमी छाडा छौ, जब यस्ता पित पत्रकारिताको बाल सुलभ कथाहरु १–२ वटा रचना गर्दा दंग परेर सुन्ने मनुवाहरु देख्यौ तिमीमा अरु हौसला बढ्यो होला । त्यसैले तिमीले अरु पनि उट्पटाङ्ग कहानी जोड्दै गयौ होला । तिमीले थप्यौ श्रृगं ऋषि हरिणबाट जन्मिए, सिता माटोको घैटो वा सियोबाट, गणेश आमाको (पार्बतीको) मयलबाट, हनुमान वायुबाट, मक्करध्वज माछाबाट, मनु सूर्यबाट, मनुको छिंकबाट एक सन्तान, राजा दशरथको तीन रानीका चार पुत्र फल खाएर गर्भवती भए भन्नु, कर्ण पनि सूर्यबाट जन्मे भनेर कथा हाल्यौ । गणेश आफ्नै छोरा भनेर नचिन्ने रुद्र महादेवलाई कतै फेरी त्रिकालदर्शी बसी बसी तीनै लोकका अवस्था थाहा पाउने भगवान भनिदिदाँ पनि हो हो मा टाउको हल्लाएको देखेरै होला तिमीले गणेशको शरिरमा हात्तीको टाउको जोडिएको कथा पनि कत्ति नहिच्किचाई भगवानको नाममा रचना गरिदियौ । तर मैले ंत्यतातिर धेरै ध्यान दिइन ।
किनकी गणेशको कथाले आधुनिक शरिर विज्ञापनको शल्यक्रियालाई खिसिट्युरी गरेपनि नारी र दलितलाई खासै केही गरेको छैन । हुन त त्यस्ता उट्पटाङ कुरा धर्म ग्रन्थमा राख्नु आफ्नै ओज घट्नु हो । शास्त्रमा भएका नीतिगत कुराहरु, अनुशासन, दान, दया, योग, ध्यान आदिमा जुन बैज्ञानिकता र यथार्थता छन् तिनको समेत खिल्ली उडाएर शास्त्रलाई अविश्वसनीय बनाईरहेको छ ।
आधुनिक ईतिहासकारहरुले ईतिहासको भौतिक दसी प्रमाण खोज्दा, महाभारत र रामायणका कुनै प्रमाण भेटाएका छैनन् । यता तिम्रो यस्ता उट्पटाङ्ग कहानी, उता प्रमाण, सबुत केही नभेट्नु । अयोध्याको उत्खनन् गर्दा प्रमाण नपाएपछि रामायण र कुरु क्षेत्रको उत्खनन्ले महाभारत पनि काल्पनिक कथा मात्र थियो भन्ने निश्कर्षमा पुगेका छन् ।
तिमीले मिथ्या आरोप लगायो भनौला – भारतका वरिष्ठ भाषाविज्ञ, प्रोफेसर, इतिहासकार र वरिष्ट समाज शास्त्रि तथा पन्चानब्बे भाषाको जानकार जसले दर्जनौ खोजमुलक किताब समेत लेखेका छन् – राजेन्द्र प्रसाद सिंहले भनेका छन् ।
अर्को तथ्य दिल्ली आर्य समाजका सचिव विनय आर्यले एक टिभि अन्तवार्तामा भनेका छन्, महाभारत, रामायणको उत्तरकाण्ड, मनोस्मृतीका महिला, दलित र मानव समुदायप्रतिको भेदभाव सबै पछि बदमास पण्डितले आफुखुसि थपेका हुन् जसलाई “प्रक्षिप्त” भाग भनेका छन् । महाभारतको मूल कपी २४ हजार श्लोक मात्र थियो जसको नाम “जयमहाकाव्य” थियो । अहिलेको प्रक्षिप्त महाभारत १ लाख श्लोक छ । दिल्ली आर्य समाज भन्छ गलत र प्रक्षिप्त श्लोकहरु हटाउनु पर्छ तिमीलाई यी कुराहरु पचाउन निकै गाह्रो भएको होला होइन त ?
अँ म नारीकै विषयमा कुरा गर्दै थिए,
प्रिय मित्र ! आफ्नी श्रीमतीलाई कति दलन गछौ सोच त ? यौन क्रियाकलापलाई सम्भोग भनिन्छ तिम्रै शास्त्रमा भनेको लेखेका छौ पुरुषलाई भन्दा महिलालाई आठ गुणा बढि यौन उत्तेजना हुन्छ भनेर एउटी विधवा नारीलाई अर्को पति वरण गर्न नपाउने, आफ्नै छोरी बुहारी विधवा भए ईज्जतको खोक्रो आवरण च्यातिने निहुँमा जीवनभर एकल नारी भएर बस्नुपर्ने तिम्रो पापी र पातकी संस्कार बदल्नु पर्दैन ?
नारी पुरुष जीवन रुपी रथको दुई पाङ्ग्रा भनेर तिम्रै शाष्त्रमा लेखेको छ । यो चाहिँ सत्य लेख्यौ । श्रीमतीलाई अर्धाङिगनी भनेर फुरुक्क पार्छौ पनि तर आफ्ना पटपटी फुटेका पैतालाको पानी खुवाउन लगाउँछौ । सोच त सभ्य समाजले कति कुरी कुरी गर्ला ?
मलाई थाहा छ तिमी दमैले सिलाएको लुगा लगाएर खुबै ठाँटिन्छौ । अनि सार्कीले बनाएको जुत्ता लगाएर सुरक्षित हुन्छौ । कामीले बनाएको भाडाकुँडा तिम्रो भान्छादेखि पुजाकोठामा समेत छरपस्ट छन् । तिमिले इश्वर मान्ने मुर्ति कुमालले वा कामीले बनाएको नै हो । तिमी २÷४ मन्त्र पढेर चोखिएको स्वाङ रच्छौ अनि तिनै कामी, सार्की, दमैलाई छोइन्छ भनेर हिनता गर्छौ ।
तिमी बहाना गर्छौ, इश्वरलाई छोइन्छ । कामीले बनाएको मुर्तिभित्र इश्वरको प्रतीक मान्छौ । इश्वरलाई छोइएको हो कि तिमीलाई ? जुत्ता संसारभर बनाउँछन्, कपडा संसारभर लगाउँछन् । हाँडाभाडा संसारभर प्रयोग गर्छन तर त्यहाँका मानिसलाई न दलित भन्छन् न छोइछिटो गर्छन । विदेशी कालिगड नेपाल आए दलित कहलिन्छ नेपाली कालिगड विदेशी गए जुत्तै सिएपनि दलितमा दर्ज हुँदैन ।
त्यो त एउटा पेशामात्र हो जसले गरे पनि हुन्छ । तिम्रो त्यो अनुसारको जात विभाजन विकासको लागि यसकारण बाधक भइराखेको छ । गाँउघरमा तिम्रो दैनिक जीवनमा तिम्रो सेवा गर्ने दलितहरुले तिम्रा लुगाकपडा, जुत्ता, हाडाभाडादेखि तिमी बस्ने घरगोठ, पलङ, पिर्का, ठेकी, मदानी, कुचोदेखि डोको नाम्लो सबै बनाउने, इन्जीनियर, कालिगड मिस्त्री सबै दलित र हिन, तिमी पाखण्डी, पापी, अधर्मी ठग, जाली झेली सामन्त फटाहा माथि र ठूलो । ति श्रमिक साना र होचा कसरी कसरी भए ?
तिम्रो पुर्खाले, तिम्रो शास्त्रले, श्रम गर्ने श्रमिकलाई अपहेलना गर्ने संस्कार बसाले कै कारण आजसम्म धर्मशास्त्र पढेको कुनै पण्डित बैज्ञानिक बनेको छ ? तिम्रो शास्त्रमा हलो बनाउने तरिका लेखेको छ ? जुन मानव जिवनमा कृषि कार्यमा नभै नहुने साधन हो । हलो जुवा दुवै बनाउने कलालाई किताबमा सिद्धान्तको रुपमा उतार्ने हो भने तिम्रो धर्म शास्त्र भन्दा ठूलो पुस्तक बन्छ ।
एउटा घर पुल बनाउने इन्जिनियरले कति बर्ष अध्ययन गरेर पनि राम्रो घर बनाउन सक्दैन । तर दलितहरुले अक्षर नचिनेर पनि सिकर्मी, डकर्मी काम गरेर घर निर्माण गर्दै आएका छन् । ति सीपका धनी सेवक दलितलाई तिमीसंगै सम्मान गर्नु पर्ने होईन ?
मैले यसो परिकल्पना गरे–वेद भनेको मानव श्रमद्वारा आर्जित सबै पक्षको ज्ञानको संगालो हो । राज्य सञ्चालन, राजनीति, सैन्यनीति, अर्थनीति, सहित्य, स्वास्थ, उपदेश, योग, ध्यान, कर्मकाण्ड (पूजा पुरोहित) सबै भएर विशाल बन्यो ।
यदि अहिले आधुनिक शरिर विज्ञापनले आर्जन गरेका उपलब्धीहरु र लेखिएका खोजिएका कुराहर्रु आधुनिक कायावेद’ नामाकरण गरेर एउटै पुस्तक बनाउने हो भने चार बेद भन्दा १० गुणा ठूलो र विहंगम हुन्थ्यो होला । वेद पनि एउटै लेखकले लेखेकै होइन । त्यो त संग्रहित पुस्तक हो पछि चार खण्डमा विभाजन पछि बेद ब्यास भयो ।
यसलाई अतिरञ्जना गर्नु भन्दा खराब र बिभेदकारी कुरा (प्रक्षेप गरिएको) हटाइदिऊँ असल र व्यवहारमा काम लाग्ने कुरा अनुसरण गरौँ । तिमीले आफ्नो मुटु भित्र चिहाउने हो भने सच्चाइमा आउन सक्छौं । तर तिमी सच्चाईमा आउन होइन बरु सत्ताको डण्डा प्रयोग गरी लाद्ने मनसायमा छौ तसर्थ तिमीलाई हिन्दू राज्य चाहिएको छ ।
एउटा चोरले कसैको सामान चोरिदियो भने जसको सामान हो उसलाई कति पीडा होला ? तर चोरलाई भने कति खुसी हुन्छ । तिमीले विभेद गर्दा परेको मानिसलाई कति पीडा होला तर तिमी खुसी हुन्छौ भने तिमी र त्यो चोरको आत्मा बिच के कति भिन्नता हुन्छ र ? उस्तै होईन कति मानसिक पीडा, ग्लानी र अपमान बोध होला भन्ने कहिल्यै परिकल्पना गरेका छौ ?
शास्त्र र पुर्खाले जुन दिन गलत गरेकै रहेछन् भनेर तिम्रो दिमागको मानवता ब्युझने छ त्यो दिन आफै वकालत गर्ने छौ अन्याय त भएकै हो । त्यसता थुप्रै मानव तिम्रै ब्राम्हण जातीका कयौँ मानिसले मानवता जगाई सकेका छन् तर तिमी अझै पाखण्ड र भ्रमको निन्द्रा कति सुत्छौ ?
नाटक नै सही तिमी कुनै स्थानमा एकपटक दलित हूँ भनेर जाऊ र अनुभब गर रुग्ण सोच भएकाहरुको माझमा । अनि थाहा पाउँछौँ दलित हुनुको असली पीडा अनि मैले होइन तिमी आफैले बोध गरेर भन्ने छौ – हो यो संस्कार गलत रहेछ ।
तिमीले दलित हूँ भन्ने वित्तिकै तिमी प्रति गरिने व्याबहार, हेरिने दृष्टी, बोलिने बाक्य आदि नै नितान्त भिन्न हुन्छ । बषौँदेखि घोकाइएको सिद्धान्त दिमागमा चढि हाल्छ अनि तिमी अनुभूत गर दलितले बर्षौ देखि पुस्तौँ पुस्ता देखि यस्तो अपमानको कालकुट बिष दिनदिनै कसरी पचाएका होलान ? तिमी बाहुन भए पनि दलित भनेर नझुक्किनु पर्ने, हैन तँ त बाहुन होस् तर दमै भनिस् भनेर चिन्नु पर्ने जसरी गाई र भैसीँ प्राकृतिक रुपले फरक हुन्छन् ।
तिम्रो दिमागमा प्रश्न उब्जने छ । आखिर जात जनित प्राकृतिक (दैविक) भिन्नता खोइ त ? नारी र पुरुष जस्तो छुट्टिनु पर्ने होइन ? तिमी मानव हौ भने तिम्रो मनमा यो प्रश्न जाग्नु पर्छ । तिम्रो तोतेबोलीदेखि कुट कुट भरिएको वर्ण र जातको भ्रमित पर्दा भित्रै च्यातिने छ र तिमीले सोच्ने छौ, ओ हो ! यदि म पनि साच्चैँ दलितको कोखमा जन्मन्थें भने कसरी सहन्थेँ होला यो अत्याचार ?
अनि घृणा लाग्ने छ त्यस्ता पुर्खा र वंशजको सन्तान हुनु परेकोमा आफैलाई । जसरी वरिष्ठ पत्रकार रवि लामिछानेले एक पटक टि.भी. कार्यक्रममा खुल्ला रुपले भन्नु भएको थियो –“मेरा पुर्खाले सुरु गरी दलित माथि अन्याय र अमानवीय विभेद गरेका र म तिनको सन्तान भएकोमा पुर्खाको गल्ती स्वरुप दलित समुदायहरुसँग माफी माग्न चाहन्छु ।”
त्यही भाषा र उस्तै मानवता साथ फेसबुकमा पस्कनु भएको थियो, कास्की पुम्दी भुम्दीका मानव हृदय भएका आदरणीय दाजु रमेश बराल क्षेत्री अनि तनहुँका विष्णु खनाल विकल लगायत थुप्रै साथीहरुले पनि यस्ता थुप्रै साथीहरु हुनुहुन्छ जो यहाँ सबैको नाम लिन सकिएन ।
हो मित्र ! तिमी चानस बस ठूलो जातिमै जन्मियौ । तिमीलाई प्रष्ट थाहा छ अर्काे जुनी छैन भनेर । यदि स्वर्ग नर्क, अर्को जुनी आदि हुन्थ्यो भने अहिले दलित र महिलालाई गरिएको अत्याचार र दमन अर्काे जुनीमा तिमीले भोग्ने र उल्टिने छ तसर्थ चुपचाप अर्को जुनीको लागि सहन गर भनेर लेखेको तिम्रो शास्त्र झुट हो भन्ने तिमीलाई लाग्थेन भने, तिमीले बदला तिर्नु अनिवार्य पर्छ भन्ने लाग्थ्यो भने तिमी अहिलै नै भन्ने थियौ किन एकले अर्कालाई पालैपालो अत्याचार गर्ने ?
अहिले पनि र अर्को जुनी पनि पालै पालो बराबर गरेरै बाँचौँ न । तिमीले एक लाठी हान्दा त्यसको वदलामा त्यस्तै एक लाठी आफूलाई पनि पर्छ भन्ने जान्दा जान्दै कसैले लाठी हान्छ र आफूलाई ? हो तिमीलाई थाहा छ अर्को जुनी भ्रम हो, त्यसैले तिमी दमन गर्न उद्दत छौ । तिमीलाई राम्रोसंग थाहा छ तिम्रा पूर्खाले राम्रोसंग छलछाम गरेर तारतम्य मिलाएका छन् । अर्को जुनी छैन, बदला तिर्नु वा सजायँ भोग्नु पनि पर्दैन । तसर्थ तिमी कुर्लिरहेका छौ हिन्दू राज्य चाहियो भनेर । अनि तिमी जिद्धी गरिरहेछौ पुरानो संस्कार नछाडांै भनेर ।
तिमी पुरानो संस्कार छाड्दैनौ ? त्यसो भए तपस्या नछाड, जाउ जगंलमा गएर तपस्या गर । योगी बन, ऋषि बन, अनि स्वर्ग जाऊ । मलाया, अफ्रिका वा तराईको चारकोषे झाडीमा तपस्या बस ईश्वरलाई भेट र सगै जाउ स्वर्ग संस्कार त त्यो पनि हो नी ।
तिमी छाड्नै नसक्ने भए कसैलाई असर नपर्ने अन्य संस्कार मान । जब कुनै जात, लिगं, धर्म, समुदाय, समाजलाई अपमान गर्ने संस्कार हुन्छ त्यो सबै धर्मले सुधार गर्नै पर्छ । यो राष्ट्र सबैको हो कुनै एकको बिर्ता होइन । सबैको बराबर अधिकार छ ।
तिमीलाई दरबारको आडमा बसेर कानुनको किताबमा हिन्दू धर्मका बुदाँ जो दलित र महिलालाई अपमानित हुने, दास बनाउने कर्म गर्न पाउने गरी थप्न मन लागेको छ ? दलित महिलाले खुल्ला स्वास फेरेको मन परेको छैन ? त्यसैले हिन्दू राज्य चाहिएको हो ? नभए तिमीलाई हिन्दु राज्य नै किन चाहिएको हो ?
तिमीलाई बेद पढ्न, पशुपतिमा पूजा गर्न, रोक्यो कसैले ? तिमीलाई बिहान गायत्री मन्त्र जप्न रोक्यो कसैले ? तिमीलाई काजक्रिया, कर्मकाण्ड, रुद्री, चण्डी, दश,ै तिहार मान्न, के गर्न अबरोध भयो ? यदि अबरोध भएको छ भने तुरुन्त पाउनु पर्छ तर तेसो होइन । तिमीलाई कसैले अबरोध गरेको छैन । तिम्रो मानसिकता अपराधी छ, तिमीलाई अपराध गर्न नपाएकोमा खल्लो लागि रहेछ । तिमीलाई निन्द्रा लागेको छैन । आफूले आफैलाई गोली हान्न लगाएर हिन्दू विरुद्ध गोली चलाए भनेर सहानुभुति लिन मन छ ।
आफु भन्दा बाबु समानको मानिसलाई ओए कामी भनेर हप्काएको अनि बाबु जस्तो मानिसलाई तल्लो जात भएकैले लुतुक्क परेर, निन्याउरो परेर हिडेको हिजोका दिन फिर्ता ल्याउन छट्पटी भएको छ तिमीलाई । एउटी नारीलाई दमन गर्न मन छ, नारीलाई चरणकी दासी बनाउन मन छ, त्यसको लागि एउटा राजालाई सम्मान गरीदिए अरु सबै तिम्रो पाउमा आउँछन् त्यसैले तिमीलाई राजतन्त्र फेरि चाहिएको छ । तिमीलाई छटपटी भएको छ हैन त मित्र ?
प्रिय मित्र मैले तिमीलाई पनि यति कुरा किन भन्नु परेको ? तिमीलाई अब बानी परोस्, सबै मानव हुन् सबैले आत्मसम्मान साथ बाँच्न पाउनु पर्छ भन्ने तिम्रो मनमा जागोस् । अरु साना र म ठूला हूँ भन्ने दम्भ हराओस् र सबैको समानतामूलुक समाज होओस् भनेर हो ।
मैले अरु केही खोजेको होइन समानता खोजेको हो । तिमी पनि त्यही खोज त कति रमाइलो र शान्त होला हाम्रो समाज ।

तपाईंको प्रतिकृया